coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फलफूलकाे बगैंचा तयार गर्न वृक्षाराेपण

चितवन - समुदायको विकासका लागि फलफूलको बगैंचा तयार गर्न वृक्षरोपण गरिएको छ।

नेकपा एमालेका नेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारीेसन चितवनले फलफूलको बिरुवा वृक्षरोपण गरेको हो । फाउन्डेसनले कालिका नगरपालिका वडा नं. २ मा रहेको थांगखोला सामुदायिक वनमा फलफूलको बगैंचा बनाउने योजनाअनुरुप उक्त वृक्षरोपण गरेको हो।

जन्मजयन्तीका अवसरमा सामुदायिक वनमा दुई सय सुन कागती र २० वटा एभोगार्डाेको बिरुवा रोपिएको हो । सामुदायिक वनमा फलफूलका बिरुवा रोप्दै प्रदेश ३ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाले अहिलेको समयमा समृद्धि हासिल गर्न उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताए ।

कृषिलाई पनि उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले भने, ‘प्रदेश सरकारले सामुदायिक वनलाई उत्पादनसँग जोड्नुपर्ने नीति लिएको छ ।’ सामुदायिक वनबाट समेत उत्पादन लिन फलफूल र जडीबुटी खेती गर्न प्रोत्साहन गरिने उनले बताए । केही नीतिले सामुदायिक वनमा उत्पादनमूलक कार्य गर्न रोक लगाएको भएपनि त्यसलाई परिवर्तन गर्नु आवश्यक रहेको उनले औंल्याए।

सामुदायिक वनमा सालको रुख रोपेर उत्पादन लिन एक सयभन्दा बढी समय लाग्ने भएकाले छिटो उत्पादन लिन फलफूलका बिरुवा रोप्नु उपयुक्त रहेको उनको भनाइ थियो । फलफूलका बिरुवा रोप्दा चाँडै प्रतिफल लिन सक्नुका साथै वातावरण पनि जोगाउन सकिने उनले बताए । समाजलाई उत्पादनसँग जोड्ने अभियानका लागि फाउन्डेसनले फलफूलको बगैंचा बनाउने काम थालेको फाउन्डेसनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिए ।

फलफूलको बगैंचा बनाइँदा दीर्घकालीन रुपमा वनका उपभोक्तालाई फाइदा हुने विश्वास गरिएको छ । फाउन्डेसनले सामुदायिक वनको पाँच बिघा खाली जग्गामा फलफूलका बिरुवा रोपेर बगैंचा बनाउने उनले बताए । फाउन्डेसनले बिरुवा रोप्ने, आवश्यक हेरचाह र संरक्षणका लागि प्राविधिक सहयोग प्रदान गर्ने अध्यक्ष डा. भट्टराई बताउँछन् । बिरुवाको हेरचाह र संरक्षण वनको उपभोक्ता समितिले गर्नेछ । फलफूल बगैंचाको आम्दानी र स्वामित्व भने सामुदायिक वनको हुने उनले बताए।

वन २०६७ सालमा समुदायलाई हस्तान्तरण गरिएको थांगखोला सामुदायिक वनका अध्यक्ष जयलाल कँडेलले जानकारी दिए । हस्तान्तरण गर्दा एक सय ९९ हेक्टर रहेको सामुदायिक वनको ७० हेक्टर क्षेत्रफलमा बस्ती रहेको छ । समुदायलाई वन हस्तान्तरण गर्नुअघिदेखि नै रहेको बस्तीसमेत वनको क्षेत्रफलभित्र रहेकाले समितिले एक सय २९ हेक्टर क्षेत्रफलको मात्र हेरचार संरक्षण गर्दै आइरहेको छ ।

आयआर्जन मुलक कार्यका लागि सामुदायिक वनमा बाँस र अम्रिसो लगाएपनि त्यसबाट फाइदा लिन नसकिएको अध्यक्ष कँडेलले बताए । फलफूलका बिरुवा लगाएर भने केही फाइदा लिन सकिने उनको विश्वास छ । त्यसैले वनभित्र रहेका खाली प्लटहरु फलफूलको बगैंचा बनाउन फाउन्डेसनलाई वृक्षरोपण गर्न दिइएको उनी बताउँछन् ।
‘वनमा आम्दानी हुने कार्यहरु खासै केही छैनन्,’ उनले भने, ‘समुदायलाई केही फाइदा होस् भनेर बगैंचा बनाउने तयारी गरेका हौं ।’ सामुदायिक वनका एक सय १५ आँप र केही भुइँकटहरका बिरुवा रहेको उनले बताए ।

सामुदायिक वनको सदस्यता लिएका उपभोक्ता एक हजार आठ सय रहेका छन् । सामुदायिक वनका उपभोक्ता भने करिब चार हजार घरधुरी रहेको अध्यक्ष कँडेलले बताए । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका बासिन्दा वनको उपभोक्ता छन् ।उपभोक्ताको जीविकोपार्जनका लागि सामुदायिक वनले गाईपालनमा सहयोग गर्दै आएको छ । आयस्रोत नभएकाले समुदाय स्तरमा खासै काम गर्न नसकिएको बताउँदै अध्यक्ष कँडेलले भने, ‘भोलिको आशाले फलफूलको बगैंचा बनाउन लागेका छौं ।’


तस्बिर : सविता/नागरिक

प्रकाशित: १५ असार २०७५ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App