७ वैशाख २०८१ शुक्रबार
समाज

सेवा अवधि ६५ वर्ष पु-याउन प्राध्यापकको चलखेल

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यालय भवन। तस्बिर : रोहित/नागरिक

धरान - उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही प्राध्यापकहरु सेवा अवधि बढाउन चलखेल गर्न थालेका छन्। प्रतिष्ठानको नियमावलीअनुसार ६१ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउन लागेका प्राध्यापकअरु आफ्नो सेवा अवधि बढाउन नियमावली संशोधन गराउने कसरतमा जुटेका हुन्।

प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) बैठक बस्ने तयारी भइरहेका कारण उक्त बैठकबाट नियमावली संशोधन गरेर सेवा अवधिको उमेर हद ६५ वर्ष पु¥याउन प्राध्यापकहरु सक्रिय छन्। प्रतिष्ठानबाट आगामी अक्टोबरभित्र सर्जरी विभाग प्रमुख डा.चन्द्रशेखर (सिएस) अग्रवाल र पेडियाट्रिक प्राडा.रुपाराजभण्डारी सिंहले उमेर हदको कारण अनिवार्य अवकाश पाउँदैछन्। प्रतिष्ठानले दुवैजनालाई नियमानुसार अनिवार्य अवकाश पाउन लागेको जानकारीपत्र ६ महिनाअघि नै दिइसकेको छ। प्रतिष्ठानमा सेवा अवधि २० वर्ष पुगेपछि वा उमेर ६१ वर्ष पुगेपछि अवकाश पाउने प्रावधान छ।

आफूहरु अवकाश पाउन लागेपछि डा.अग्रवाल र सिंहले प्रतिष्ठानका पदाधिकारीलाई उमेर हदको सेवा अवधि बढाएर ६५ वर्ष पु-याउन पहल गरिदिन भन्दै निवेदन दिएका छन् भने फ्याक्ल्टी प्राध्यापकहरुसँग हस्ताक्षर संकलन अभियान चलाएका छन्। नियमावली संशोधन गरी उमेर अवधि ६५ वर्ष पु¥याउने अजेन्डा सिनेट बैठकमा समावेश गरिनुपर्ने मागसहित संकलित हस्ताक्षर स्वास्थ्यमन्त्रीलाई बुझाउने तयारी पनि भइरहेको छ। डा. अग्रवाल र सिंह प्रतिष्ठान स्थापना भएको २४ वर्षे इतिहासमा उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका मेडिकलतर्फका फ्याक्ल्टीहरु हुन्। यसअघि एकजना फ्याकल्टीले अवकाश पाए पनि उनी ननमेडिकल फ्याकल्टी थिए।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले अवकाश पाउने उमेर हद बढाउन पहल गरिदिन आग्रह गर्दै निवेदन प्राप्त भए पनि यो विषय फ्याकल्टीको मात्र नभएकाले सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर मात्र निर्णय गर्न सकिने बताए। ‘यो विषय फ्याकल्टीको मात्र होइन, शिक्षक कर्मचारी सबैको सरोकारको विषय भएकाले बृहत् छलफल र गृहकार्यको खाँचो छ। त्यसैले अहिल्यै यसो गर्ने भनेर निर्णय गर्न सकिन्न’, निर्देशक डा.साहले भने, ‘आवश्यक छलफल गरेर संस्थाको हित हुने गरी निर्णय लिइनेछ।’ प्रतिष्ठानका रेक्टर डा.गुरु खनालले पनि एकेडेमिक कमिटी, सरोकारवाला र कार्यकारिरिणी समितिबीच बृहत् छलफल नभई उमेर हद बढाउने विषयमा निर्णय लिन नसकिने बताए।

प्रतिष्ठान स्थापनाकालदेखि कार्यरत वरिष्ठ प्राध्यापकहरु अबको केही वर्षभित्र उमेर हदको कारण अनिवार्य अवकाश हुँदैछन्। त्यसैले पनि प्रतिष्ठानका वरिष्ठ प्राध्यापकहरु सबै आफ्नो सेवा अवधि बढाउने अभियानमा जुटेका हुन्। उनीहरूले उमेर हद बढाउने चलखेल गरिरहदा भर्खरै सेवा प्रवेश गरेकाहरू भने अन्योलमा छन्।

स्थापनाकालदेखि एकछत्र राज गरेका प्राध्यापकहरुले नियमावली संशोधन गरी सेवा अवधि लम्ब्याउँदा आफूहरुको वृत्ति विकास र बढुवा हुने अवसर नपाउने चिन्तामा उनीहरु छन्। ‘उहाँहरुको यो संस्थामा योगदान छ, तर स्थापनादेखि अहिलेसम्म उहाँहरुले धेरै अवसर पाइसक्नुभयो। अब पनि नियमावली संशोधन गरेर बसिरहँदा हामीजस्ता मरिमेटेर काम गर्ने जुनियरहरु निरुत्साहित हुन्छौं,’ नाम नखुलाउने सर्तमा एक चिकित्सकले भने, ‘सिनियरले सधैं पद ओगटिरहने हो भने जुनियरको वृत्तिविकास कहिले हुने? प्रतिष्ठानमा प्राध्यापकहरुको संख्या ६९ रहेको छ भने एसिस्टेन्ट, एसोसिएट र एडिस्नल प्रोफेसरहरुको संख्या दुई सय २२ छ।

आगामी अक्टोबरमा अनिवार्य अवकाश पाउन लागेका डा. अग्रवाल संस्थालाई घाटा नहुने भएकोले उमेर हद ६५ वर्ष पु-याउन माग दाबी गरिएको बताउँछन्। उनले नियमावली संशोधनको अजेन्डा सिनेट बैठकमा लैजान माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारीमा रहेको पनि खुलाए। ‘पदाधिकारीलाई पनि यो अजेण्डा सिनेटमा लैजानुस् भनेर पत्र बुझाएको छु। प्राध्यापकहरुको हस्ताक्षर संकलन पनि गरिसकेको छु’, अग्रवालले भने। प्रतिष्ठानले एक जना प्राध्यापकका लागि २ जना पिजी विद्यार्थी भर्ना लिने र तीन वर्षमा एक जना भारतीय विद्यार्थीबाट डेढ करोड शुल्क लिने भएकाले फाइदा नै हुने उनको दाबी छ।

प्रकाशित: १५ असार २०७५ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App