coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेरि नहर अतिक्रमण

इटहरी - पाँच वर्षअघि सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत चतरा नहरको जग्गा ओगटेर रामधुनी वडा नंं. २ मा बनाएको बलुतन खातुनको टहरा नियमनकारी निकायले भत्काई दियो। उनको परिवार दुई वर्षसम्म भाडामा कोठा लिएर बस्यो। यति बेला फेरि खातुनको परिवार पुरानै स्थानमा नयाँ टहरा बनाएर बसेको छ।

२८ वर्षीया खातुनको परिवार तीनजनाको छ। टहरा बनाउँदा कम खर्चिलो गरी बनाइएको छ। उनका श्रीमान् श्रीचन मिस्त्री काम गर्छन्। ‘कोठा भाडा तिर्न नसकेपछि बाध्य भएर पुरानै स्थानमा आएर टहरा बनाएको हो’, श्रीचनले भने, ‘अब जस्तो पर्छ, त्यस्तै टर्छ।’ उनलाई सिँचाइ आयोजनाले जुनसुकै बेला हटाउन सक्छ भन्ने राम्रोसँग ज्ञान छ। ‘आफ्नो जग्गाजमिन केही छैन, मिस्त्री काम गर्दाको पैसाले बिहान–बेलुकाको छाक टार्न ठिक्क हुन्छ’, उनले भने, ‘सिँचाइ आयोजनाले उठाउन कोसिस गरिरहेको छ। उठायो भने बिजोग हुन्छ। गरिब मान्छे कहाँ गएर बस्नु?’

नहर आसपास बनेका घरटहरा सरकारी निकायले २०७० असार–साउनमा हटाएको थियो। पछिल्लो समय फेरि टहरा निर्माण गर्ने क्रम बढ्दो छ।

नहर आसपास बनेका घरटहरा सरकारी निकायले २०७० असार–साउनमा हटाएको थियो। पछिल्लो समय फेरि टहरा निर्माण गर्ने क्रम बढ्दो छ। सिँचाइ आयोजनाको ६८ हजार हेक्टर जमिन छ। यो नहरको दायाँबायाँ पर्छ। सोहीजमिनमा बनाइएका घर–टहरा भत्काए पनि पछिल्लो समय रामधुनी नगरपालिकाको झुम्का बजारदेखि उत्तर–दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढेको हो।

‘आफ्नो एकबित्ता जग्गा छैन, अर्काको जग्गामा बस्दा खेदाइहाल्छन्’, सिँचाइ आयोजनाको जग्गामा घर बनाएर बसेकी रामधुनी वडा नं. २ कै रामकुमारी चौधरीले भनिन्, ‘अर्काको जग्गामा चार वर्ष त बसें, अब चाहिँ हुँदैन भनेपछि फेरि पुरानै स्थानमा आएर घर बनाएँ।’ उनका श्रीमान् किसान चौधरी दम रोगी छन् । श्रीमान् र तीन छोराछोरीलाई रामकुमारीको एक्लो कमाइले धानेको छ । उनी भासी माध्यमिक विद्यालय छेउमा स्कुले विद्यार्थीलाई ढुङ्ग्री र पापड बिक्री गर्छिन् । यही कमाइले घर खर्च धानेको छ। ‘जग्गा नहुनेलाई वर्गीकरण गरी नगरपालिकाकाले बसोबासको व्यवस्था मिलाउनुपर्छ’, उनले भनिन्।

नहर किनारमा पूर्व पहाडी जिल्लासँगै तराईका विभिन्न ग्रामीण क्षेत्रबाट आएका बासिन्दाले घरटहरा निर्माण गरेका छन्।

यसअघि छ करोड रुपैयाँ खर्चेर घर–टहरा भत्काइएको थियो। २०१८ सालमा सुनसरी मोरङ–सिँचाइ आयोजनाले चतरा नहर निर्माण गरेपछि नहर आसपास बग्रेल्ती घरटहरा निर्माण भएका थिए। त्यति बेला नहर आसपास हुनेखाने, मध्यम र निम्नवर्गीय परिवारले घरटहरा बनाएका थिए।

नहर साँघुरिएकाले गर्दा खाद्यान्न उत्पादनमा कमी आउने गरेकाले नहर सफा गरी फराकिलो पार्ने क्रममा पहिलोपटक घरटहरा भत्काइएको थियो। चतरा नहरले सुनसरी–मोरङको एक लाख दुई हजार बिघा जग्गा सिञ्चित गर्छ। ५३ किलोमिटर लामो नहरको जग्गामा अतिक्रमण गरी घरटहरा बनाउने क्रम बढेकाले गर्दा सञ्चारमाध्यममा सूचना प्रकाशन प्रसारण गरी सचेत गराइएको छ। ‘सञ्चारमाध्यममार्फत सूचना जारी गरेका छौं। घर बनाउनेलाई पनि घरमै पुगेर पत्र दिने र घरमा सूचना टाँस्न सकुर्लर गरिएको छ,’ सिँचाइ आयोजनाका प्रमुख हरिराम श्रेष्ठले भने, ‘अब केही समय हेर्नुपर्ला अनि त्यसपछि बसेकालाई पनि कसरी व्यवस्थित गर्ने भनेर योजना बनाएरै काम थालिनेछ।’ उनका अनुसार स्थानीय तहका प्रमुख–उपप्रमुख र वडाध्यक्षलाई समेत नहरको जग्गा ओगटेर बस्नेलाई हटाउन आग्रह गरिएको छ।

प्रकाशित: १५ असार २०७५ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App