७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रहरीको संघीय रुपान्तरण प्राथमिकतामा

काठमाडाैं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अपराधको रोकथाम प्रहरीको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

प्रहरी महानिरीक्षक भएपछि विहीबार प्रहरी प्रधान कार्यालयमा पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्रहरीको संघीय रुपान्तरण र गृह प्रशासन सुधार कार्ययोजनालाई प्रहरीले प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताए। “गृह मन्त्रालयले जारी गरेको गृह प्रशासन सुधार कार्ययोजनालाई प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको छ”, उनले भने। 

महानिरीक्षक खनालले आफू महानिरीक्षक बनेपछि नक्कली नोट कारोवारी, बाल यौन दुराचार गर्ने विदेशी नागरिक र इन्टरपोलमार्फत नोटिस जारी गरी विभिन्न व्यक्ति पक्राउ, मानव बेचबिखनकर्तालाई नियन्त्रण, लागुऔषध कारोवारीलाई पक्राउ लगायत उल्लेख्य काम गरेको बताए। “लामो समयदेखि नेपाल प्रहरीमा रोकिएको सरुवा बढुवा कार्यलाई अगाडि बढाइएको छ, प्रहरीमा नयाँ दरबन्दी थप गरिएको छ”, उनले भने। 

उनले दुई महिनामा ५४ थान अवैध हतियार बरामद, ८५ थान गोली बरामद, घरमा राखिएका पाँच हतियार र ३४३ गोली नियन्त्रण, लागुऔषध कारोवारमा संलग्न ६३५ पक्राउ, यातायात एकाधिकारको अन्त्य गरिएको जानकारी दिए। 

महानिरीक्षक खनालले साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न रहेको विषयमा मन्त्रिपरिषद्बाट गठन भएको छानवीन समितिलाई प्रहरीका तर्फबाट गर्नुपर्ने सहयोग गरिएको उल्लेख गरे। सो घटनामा हाल मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा परेको छ। 

भर्खरै संयुक्त राष्ट्र संघमा सम्पन्न संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोस्रो सम्मेलनमा सहभागिता र सोही अवसरमा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता अभिवृद्धि, दुई मित्र मुलुकसँग प्रहरी सहकार्य अभिवृद्धि, महिला प्रहरी कर्मचारीको सहभागितामा जोड र प्रहरी कर्मचारीको व्यावसायिकताको अभिवृद्धिका विषयमा विशेष छलफल भएको उनले जानकारी दिए। 

महानिरीक्षक खनालले नेपालको ऐन कानूनले दिएको अधिकार तथा नेपाल सरकारको निर्णय कार्यान्वयन गर्दै प्रहरी अगाडि बढ्ने स्पष्ट पारे। आफ्नो दायित्वप्रति नेपाल प्रहरी पूर्ण सजग रहेको उल्लेख गर्दै उनले भने, “नेपाल प्रहरी उत्कृष्ट अनुसन्धान र चुस्त प्रशासनिक कार्यमा सदैव उन्मुख रहनेछ।” संगठनलाई चुस्त र गतिशील बनाउने रचनात्मक सुझावको सदैव स्वागत गरेर अगाडि बढ्ने उनको भनाइ थियो। 

प्रकाशित: १४ असार २०७५ १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App