७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

५० हजार झिक्ने चटारो

सिन्धुपाल्चोक-भूकम्पबाट सर्वाधिक नोक्सानी ब्यहोरेका सिन्धुपाल्चोकका पीडित केही दिनदेखि घर बनाउन पहिलो किस्ता निकाल्ने चटारोमा छन्।

        राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास अनुदान सम्झौता र पहिलो किस्ता निकासलाई तीव्रता दिएपछि पीडितलाई यो चटारोले छोएको हो । खेतीपातीको काम सकेर फुर्सदिला बनेका पीडित उत्साह साथ बैंक तथा बित्तिय संस्थामा अनुदानको पहिलो किस्ता निकाल्न लामबद्ध छन्।

        गावै खाली गरेर पीडित बैंक झरिरहेका छन् । सदरमुकाम चौतारा, बाह्रविसे, खाडीचौर, मुडे र मेलम्चीमा रहेका बैंक दुई सातादेखि भूकम्प पीडितले भरिइरहेका छन् । हातमा अनुदान सम्झौतापत्र, नागरिकताको प्रमाणपत्र, निस्सा र दुईप्रति फोटो बोकेर पीडित लामवद्ध हुन्छन् । बैंक तथा बित्तिय संस्थाको व्यस्ता पनि उस्तै छ । बिहान १० बजेदेखि साँझसम्मै पहिलो किस्ता बाँड्न बैंक कर्मचारी सक्रिय छन् ।

        १६ बैंकका २४ शाखामार्फत पहिलो किस्ता बितरण भइरहेको छ । जिल्ला विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत दैनिक ३ देखि ९ हजार पीडितलाई बैंकमार्फत पहिलो किस्ता निकासा दिइरहेको छ ।

        दुई नगरपालिका र ६८ गाविस रहेको सिन्धुपाल्चोकमा ७८ हजार ५ सय ३७ लाभग्राही पहिचान गरिएको छ । मंगलबारसम्म ६७ हजार १ सय ३० लाभग्राहीसँग सम्झौता गरी ५३ हजार २ सय ९४ पीडितलाई पहिलो किस्ता निकासा दिइएको प्राधिकरण विशेष सम्पर्क कार्यालय प्रमुख भुवनेश्वर लामिछानेले बताए । उनका अनुसार अब सिन्धुपाल्चोकमा झण्डै ११ हजारसँग सम्झौता र २५ हजार पीडितलाई मात्र पहिलो किस्ता दिन बाँकी छ ।

        ‘एक–डेढ सातामै सम्झौता र पहिलो किस्ता बितरण सक्छौं,’ उनले नागरिकन्यूजसँग भने । नयाँ सरकार बनेपछि सम्झौता र किस्ता वितरणले तीव्रता लिएको हो । अनुदान सम्झौता र कस्ता वितरण थालिएका भूकम्प प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक सबैभन्दा अगाडि छ । सम्झौता र किस्ता निकासामा अग्रता कायम छ ।

        गत वर्ष वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकमा मात्र ३ हजार ५ सय ७० को ज्यान लिएको थियो। झण्डै ९० प्रतिशत घरसंरचना ध्वस्त भएको थियो । झण्डै साढे २ लाख जनसंख्या १६ महिनादेखि जस्ताको अस्थायी टहरोमा आश्रित छ । पहिलो किस्तामा ५० हजार पाएपछि पीडित पुनर्निर्माणलाई उत्साही देखिएका छन् ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App