८ वैशाख २०८१ शनिबार
अन्य

रमेश खरेललाई आइजिपी खनालको जवाफ

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रहरी अधिकारीबारे आफूले बोल्न नमिल्ने बताएका छन्।

विहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा आइजिपी खनालले सुन तस्करीको अनुसन्धानका क्रममा पक्राउ परेका प्रहरीका विषयमा प्रश्न उठाउने कानूनी आधार नभएको स्पष्ट पारे। ‘को सही हो, को गलत त्यो हेर्न सरकारले विज्ञहरुको समिति बनाएको छ’, उनले भने– ‘पूर्व संगठन प्रमुखकै संलग्नतामा बनेको गृह मन्त्रालयको समितिलाई मैले यसो गर, उसो गर भन्न मिल्दैन्। यो मेरो अधिकारबाहिरको कुरा हो।’

आफूले समितिलाई सकारात्मक सहयोग गर्ने बताउँदै खनालले प्रहरी अधिकारी किन पक्राउ गरेको भनेर प्रश्न उठाउने ठाउँ नभएको बताए। ‘अफिसरहरु एक पटक राम्रो काम गर्दैमा सधै राम्रो भन्ने हुँदैन। विज्ञहरु सम्मिलत समिति छ, मेरो दायित्व के हो भन्ने कुरामा म स्पष्ट छु’, उनको भनाई छ।

पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले आफू संगठन प्रमुख भएपछि सुरु गरेका सुधारका प्रयासहरु फेरिहस्त सुनाएका थिए। 

रमेश खरेललाई जवाफ

गत जेठ २० गते निवर्तमान डीआईजी रमेश खरेल, पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी र पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले राजधानीमा पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयको छानविन समितिमाथि प्रश्न उठाएका थिए। 

उनीहरुले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवस लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई फसाइएको भन्दै छुट्टै छानविनको माग गरेका थिए। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीमाथि यसरी अभियोग लगाउँदा प्रहरी संगठनमै दीर्घकालिन असर पर्ने उनीहरुको चेतावनी थियो। 

पूर्व डीआईजी खरेलले त यस विषयमा प्रहरी प्रमुख बोल्न नसक्नु नालायकीपन भएको टिप्पणी गरेका थिए। छानविन समिति र प्रहरी संगठन प्रमुखमाथि प्रश्न उठाएपछि आइजिपी खनालले विहीबार प्रहरी मुख्यालयबाटै नाम नलिई पूर्व प्रहरी पदाधिकारीलाई जवाफ फर्काएका हुन्।

यसअघि छानविन समितिका संयोजक ईश्वरराज पौडेलले पनि अनुसन्धानमा प्रश्न उठाउनु गलत भएको बताएका थिए।  

प्रकाशित: १४ असार २०७५ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App