coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय सरकार : ‘वर्ष दिनको प्रगती खै ?’

खोटाङ – स्थानीय तहको निर्वाचन भएको बिहीबार ठीक एक वर्ष बितेको छ। २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट खोटाङका २ नगरपालिका र ८ गाउँपालिकामा नयाँ जनप्रतिनिधि चुनिए। चुनिएका ती जनप्रतिनिधिले स्थानीय सरकारको प्रमुख तथा प्रतिनिधिकोरुपमा वर्ष दिन बताएका छन्।

‘गाउँ–गाउँमा सिंहदरबार’को नारा लिएर कार्यान्वयनमा आएको स्थानीय तहको वर्ष दिनको प्रगती र परिवर्तनका विषयमा अहिले बहस र चर्चा भइरहेको छ। पुरानो संरचना अनुसारको स्थानीय निकाय हुँदा र स्थानीय सरकार कार्यान्वयनमा आएपछिको भिन्नताका बारेमा हरेक स्थानीय तहमा फरक–फरक धारणा आइरहेका छन्। कतिपयले स्थानीय तहको कार्यान्वयनले जनतालाई परिवर्तनको केही अनुभूति दिलाएको र कतिपयले पुरानो संरचनाभन्दा फरक अनुभूति पाउन नसकिएको बताइरहेका छन्। 

मुलुकमा पहिलोपल्ट कार्यान्वयनमा आएको स्थानीय तहले सर्वसाधारणमा विकास, सुशासन र परिवर्तनको मुल फुट्ने अपेक्षा गरिएको थियो। आफ्नो मतबाट जनप्रतिनिधि चुनिँदा सारा दुःखका दिन गए भन्ने उत्साह जगाएको थियो। तर, निर्वाचित जनप्रतिनिधिले चुनावका बेला प्रतिवद्धता गरे अनुसार प्रतिफल दिन नसकेको सर्वसाधारणको गुनासो छ।

स्थानीय सरकारको वर्ष दिनमा भएका उपलब्धिका विषयमा अहिले सर्वसाधारण नागरिकले चिया पसलदेखि सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका छन्। ‘एक वर्ष भएछ स्थानीय तहको निर्वाचन भएको, खै के प्रगती भयो ?,’ खोटाङकी जयन्ता ज्वालाले बिहीबार बिहान फेसबुकमा लेखेकी छन्, ‘स्थानीय तहको निर्वाचन पछि पक्कै प्रतिबेदन पेश हुन्छ होला, सरकारबाट प्रगतीको विवरण आउँछ होला।’ 

स्थानीय तहको केन्द्र गाउँमा बन्यो। भौतिक संरचना बन्न थाले। केन्द्रमा शहरीकरण सुरु भयो। विकासे आयोजना सम्झौताका लागि जिल्ला समन्वय समिति धाउनुपर्ने बाध्यता हट्यो। जताततै डोजर लगाएर सडक खनिए, खन्नेक्रम जारी छ। तर, सर्वसाधारणको अपेक्षा यतीले मात्र पूरा गर्न सकेको छैन। नागरिकता, राहदानी, मालपोत, नापी, स्वास्थ्य लगायतका सेवाका लागि दिक्तेलसम्म पुगेर भोग्नुपर्ने सास्ती ज्यूकात्यूँ छ।

स्थानीय तहमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढ्ने खतरा बढेको सर्वसाधारणको भनाई छ। तर, स्थानीय सरकारको गलत कामका विरुद्ध सामाजिक सञ्जालमा बाहेक कसैले आवाज उठाउने हिम्मत गरेको देखिन्न। स्थानीय सरकारको सत्ता सम्हालिरहेका जनप्रतिनिधिले एक वर्षको अवधिमा प्रतिवद्धता गरे अनुसारको काम गरेको बताए पनि सर्वसाधारण भने सन्तुष्ट छैनन्।

हलेसी खोटाङ नामको युवाले पनि सामाजिक सञ्जालबाट स्थानीय तहको वर्ष दिनको विकासका बिस्तृत विवरणको अपेक्षा गरेका छन्। ‘स्थानीय तहको चुनाव भएको ठ्याक्कै ३६५ दिन पुरा भयो,’ उनले लेखेका छन्, ‘आजसम्म भएको बिकासका बिस्तृत विवरण आउन सके कस्तो राम्रो हुन्थ्यो होला ?’ 

प्रकाशित: १४ असार २०७५ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App