१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा संसद अवरुद्ध

सुर्खेत – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ। आर्थिक वर्ष २०७५–०७६ को विनियोजन विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्रालयगत बजेट हचुवाको भरमा ल्याइएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो।

‘ब्रेक डाउन गरेर बजेट नआउँदासम्म हामी सदन चल्न दिँदैनौं’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘रातो किताबमा आएको बजेट कमिसनमा केन्द्रित देखियो।’

संसद बैठक अवरुद्ध गर्नुअघि बोलेका शाहीले ठाउँ, विषय र योजना छनोट नगरेरै हचुवाको भरमा बजेट छुट्याइएको बताए। ‘आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत प्रहरीका लागि १० वटा पिकअप भ्यान खरिदका लागि ६ करोड रुपियाँ छुट्याइएको छ’ शाहीले प्रश्न गरे, ‘बढीमा तीन करोडमा खरिद गर्न सकिने गाडीका लागि यतिका रकम छुट्याइनुले के अर्थ राख्छ ?’

उनले शान्ति सुरक्षा अभियानका नाममा छुट्याइएको ९ करोड रुपैयाँमाथि पनि प्रश्न गरे। ‘एउटै अभियानका लागि ९ करोड किन आवश्यक प¥यो’ शाहीले भने, ‘कमिसनको खेलमा आएको बजेटलाई हामी कसरी स्वीकार गर्न सक्छौं।’ उनले विभिन्न मन्त्रालयले गुरुयोजनाका नाममा ‘गोरु’ योजनाहरु ल्याएको आरोप पनि लगाए। उनले शिर्षकगत योजना भन्दा विविध शिर्षकमा मन्त्रालयहरुले धेरै बजेट छुट्याएको भन्दै असन्तुष्टि पनि जनाए।

‘बजेटलाई ब्रेक डाउन गरेर योजना कितावमा समावेश नहुँदासम्म संसद बैठक अगाडि बढ्न सक्दैन्’ उनले भने, ‘यो बजेटप्रति सबै सांसदहरु असन्तुष्ट हुनुहुन्छ।’ कांग्रेसको अवरोधपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ। 

प्रकाशित: १४ असार २०७५ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App