१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दूधमा कोलिफर्म भेटिएपछि कडाइ गर्दै सरकार

काठमाडौं - पाकेटको दूधमा कोलिफर्म नामको जिवाणु भेटिएपछि सरकारले दूध उद्योगमा कडाइ गर्ने भएको छ । २३ वटा डेरी उद्योगका ३३ वटा ब्रान्डको दूध परीक्षण गर्ने क्रममा कोलिफर्म भेटिएपछि सरकारले दूध उद्योगलाई कडाइ गर्ने भएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले कोलिफर्म मानव स्वास्थ्यका लागि हानिकारक हुने बताए ।दुई साताअघि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले काठमाडौंको बालाजु क्षेत्रका केही डेरी उद्योगको अनुगमन गरेका थिए ।

‘कृषिमन्त्रीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २३ वटा डेरी उद्योग अनुगमन गरेको थियो । ती उद्योगका ४२ वटा ब्रान्डका दूधको नमुना संकलन गरेर परीक्षण गर्ने क्रममा ३३ ब्रान्डको दूधमा कोलिफर्म नामक जीवाणु भेटिएको छ,’ महानिर्देशक कर्णले भने, ‘गुणस्तरहीन दूध उत्पादन गर्ने उद्योगलाई कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाएका छौं । सरकारी स्वामित्वकै दुग्ध विकास संस्थानको दूधमा समेत कोलिफर्म भेटिएको छ ।’

कृषकले दूध दुहुने प्रक्रियाबाटै कोलिफर्म हुन सक्छ । किनकि दूध दुहुने व्यक्तिको हात सफा नभएको र पशुको दूधको कल्चौंडा सफा नगर्दा जिवाणुको फैलने उनको भनाइ छ । यस्तै चिस्यान गराउँदा स्थानीय डिपो हुँदै उद्योगीले लिँदा र प्रशोधन गरेर बजार पठाउने प्रक्रिया तापक्रम अनुसार नहुँदा कोलिफर्म भेटिने कर्णले बताए ।

केही ब्रान्डको दूधमा सोडा मिसिएको भेटिएको पनि उनले बताए । ‘यो उद्योगीहरुको पहिलो कैफियत हो । यसलाई नियन्त्रण गर्ने प्रयत्न गरेका छौं,’ महननिर्देशक कर्णले भने ।

सामान्यतया दूधमा टोटल कोलिफर्म, फेकल कोलिफर्म र इकोलाई नामक कोलिफर्म भेटिएको छ । धेरैजसो इकोलाईका प्रजाति हानिकारक नहुने महानिर्देशकको भनाइ छ । कोलिफर्म भएको दूध खानाले बान्ता हुने, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने लक्षण देखा पर्छ ।

अनुगमनका क्रममा बालाजुस्थित आधुनिक डेरीको– आधुनिक, गल्फु विनायक डेरीको– अलिसाज, हिमालय डेरीको– डेली युएचटी, भक्तपुर डेरीको– भक्तपुर, चौधरी डेलिसियस मिल्क एन्ड वेभरेजको– एचडिआई र आकृति दूग्ध तथा कृषिको– अनमोल दूधमा कोलिफर्म भेटिएको छ ।

‘दूधमा कोलिफर्म भेटिएको आजमात्रै होइन । लामो समयदेखि यो समस्या विकराल छ । यस्लाई न्यूनीकरण गर्न र आवश्यक मापदण्ड पूरा गर्न उद्योगीलाई निर्देशन दिँदै आएका छौं,’ महानिर्देशक कर्णले भने, ‘व्यवसायीले विभागको निर्देशन पालना गर्दैन भने उद्योग बन्द गर्ने प्रावधान छ ।’

विभागले यसअघिका परीक्षणमा पनि स्वास्थ्यका लागि हानिकारक मानिने कोलिफर्म भेटिएको जनाएको छ । तर, विभागले कैफियत भेटिएका उद्योगमाथि कडा कारबाही गर्न नस्कदा समस्या समाधान हुन नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरको दिसामा पाइने एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो ।

 

प्रकाशित: १४ असार २०७५ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App