coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उडानमा खेलाँची गरेका विदेशी पाइलटको लाइसेन्स खारेज

काठमाडौं - उडान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरका प्रशिक्षक पाइलट जर्ग सेजिसेनम्यानको लाइसेन्स खारेज गरेको हो । स्वीजरल्यान्डका नागरिक सेजिसेनम्यानले घटना लगत्तै नेपाल छाडिसकेका छन् ।

सम्बद्ध स्रोतका अनुसार मनाङ एयरको सिफारिसपछि २०७४ चैत दोस्रो साता प्रशिक्षक पाइलट सेजिसेनम्यानले उड्डयन प्राधिकरणबाट उडान अनुमतिपत्र प्राप्त गरेका थिए । त्यसयता हेलिकोप्टर उडाउँदै आएका उनले गत जेठ २५ मा काठमाडौंबाट गुल्मीको रेसुंगा जाने क्रममा उड्डयन नियमविपरीत हेलिकोप्टर उडाएका थिए।

‘त्यसबेला मौसम खराब थियो तर मनाङका ती प्रशिक्षक पाइलटले जबर्जस्ती बादलभित्र हेलिकोप्टर घुसाएर उडान गरेको उजुरी परेपछि छानबिन गरिएको थियो,’ प्राधिकरण स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘सुरुमा उनलाई स्पष्टीकरण सोधियो र जवाफ चित्तबुझ्दो नभएर पुनः छानबिन गर्दा घटना पुष्टि भएपछि उनको लाइसेन्स खारेज गरिएको हो ।’

स्रोतका अनुसार गएको जेठ २५ मा गुल्मीको रेसुंगा विमानस्थलमा नियमित उडान गर्ने उद्देश्यले परीक्षण उडान गरिएको थियो । निजी वायुसेवा कम्पनी तारा एयरले त्यस दिन सफल परीक्षण उडान गरेको थियो । त्यही कार्यक्रमा भाग लिन गएका ‘अति महत्वपूर्ण व्यक्ति’ (भिभिआइपी) सवार मनाङ एयरको हेलिकोप्टर उडाएका प्रशिक्षक पाइलट सेजिसेनम्यानले मौसम खराब हुँदाहुँदै बादलभित्र हेलिकोप्टर घुसाएर उडान सुरक्षामा गम्भीर खेलाँची गरेका थिए।

त्यसबेला हेलिकोप्टर सुरक्षित अवतरण गरे पनि उनीविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो । उजुरीपछि प्राधिकरणले उनलाई स्पष्टीकरण सोधेको थियो । प्रशिक्षक पाइलट सेजिसेनम्यानले लिखित स्पष्टीकरण बुझाएका थिए । उनको जवाफ चित्तबुझ्दो नभएपछि पुनः घटनाबारे छानबिन गरिएको थियो ।

प्राधिकरणका अनुसार नेपालमा हेलिकोप्टरलाई ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) बाट मात्र उडान अनुमति दिने गरिन्छ । पाइलटले अगाडि हेरेर गरिने (दृष्टि गोचर) उडान क्रममा हेलिकोप्टर बादलमुनि छ भने ककपिटबाट लगातार जमिन देखिनुपर्छ भने हेलिकोप्टर बादलमाथि छ भने आकास देखिनुपर्छ ।‘बादलभित्र नछिरिकन हेलिकोप्टर उडाउनुपर्छ र यो अनिवार्य र बाध्यकारी उड्डयन नियम हो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘हाम्रोमा डाँडाकाँडा, खोँच, हिमालमा उडान गर्नुपर्छ र यो जोखिमपूर्ण हुने गर्छ, त्यही भएर हेलिकोप्टर जथाभावी अन्धाधुन्द उडाउन पाइँदैन ।’

पाइलटले मौसम खराब भएका बेला हेलिकोप्टर उडान प्रयास गर्ने, उडाए पनि बादलभित्र घुसाउने जस्ता नियमविपरीत काम गरे त्यस्ता पाइलटको लाइसेन्स खारेज गर्ने नियम रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हेलिकोप्टर उडान गर्दा उड्डयन सुरक्षा मापदण्ड उल्लंघन गरे पाइलटदेखि हेलिकोप्टर कम्पनीसम्मको लाइसेन्स खारेज गर्ने २०७३ चैत अन्तिम साता निर्णय गरेको थियो । नागरिक उड्डयन नियमावली २०५८ अनुसार प्राधिकरणले हेलिकोप्टरका लागि पहिलो पटक यस्तो निर्णय गरेको थियो ।

हेलिकोप्टर उडान गर्दा उड्डयन सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने र नगरेको पाइए पाइलटको मात्र नभई हेलिकोप्टर सञ्चालक कम्पनीको पनि लाइसेन्स रद्द वा खारेज नगरेसम्म दुर्घटना दर कम नहुने र उड्डयन क्षेत्र सुरक्षित पनि नहुने भन्दै प्राधिकरणले उक्त निर्णय गरेको थियो।

२०७३ साउन २४ गते निजी कम्पनी फिसटेल एयरको कलसाइन ‘९एन–एकेए’ हेलिकोप्टर गोरखाबाट काठमाडौं फर्कने क्रममा नुवाकोटमा दुर्घटनाग्रस्त हुँदा क्याप्टेन रञ्जन लिम्बूसहित सातजनाको मृत्यु भएको थियो । घटनाको भोलिपल्ट प्राधिकरणले उक्त निर्णय गरेको थियो । पाइलटले भिएफआर उडानका बेला खराब मौसम हुँदा बादलभित्र हेलिकोप्टर घुसाउँदा दुर्घटना भएको ठहर त्यसबेला प्राधिकरले गरेको थियो ।

प्राधिकरणको नियमअनुसार हेलिकोप्टर कमान्ड गर्ने पाइलट (क्याप्टेन) ले गन्तव्य र बीच बाटोको मौसमबारे पूर्णरूपमा जानकारी लिनुपर्छ । खराब मौसमका कारण भिएफआर उडान गर्न सम्भव भएन भने क्याप्ेटनले उडानलाई निरन्तरता दिनु हँदैन । त्यसपछि उपयुक्त ठाउँमा अवतरण गरी मौसम सुधार भएपछिमात्र उडान गर्नुपर्छ ।त्यसैगरी क्याप्टेनले उडान क्रममा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को प्रयोगका प्रावधान कडा रूपमा पालना गर्नुपर्छ । पहाडी क्षेत्रको मौसमी अवस्थाबारे क्याप्टेन सधैं सचेत हुनुपर्ने र ‘टर्बुलेन्स’ बाट हेलिकोप्टर तल–माथि हुने भएका कारण उपयुक्त उचाइमा उडान गर्नुपर्छ ।

त्यस्तै हेलिकोप्टरमा पर्याप्त इन्धन हुनुपर्ने छ भने कुनै पनि किसिमको दबाबमा परेर उडान गर्नु हुँदैन । उडान सञ्चालन अधिकृतले वर्षायाममा हेलिकोप्टरका प्रत्येक उडान र चालकदलको व्यवहारबारे पूर्णजानकारी राख्नुपर्ने छ ।उडानको जिम्मेवार व्यक्तिले उड्डयन सुरक्षा मापदण्ड कडा रूपमा पालना गरेको छ÷छैन भन्ने सुपरीवेक्षण उडान सञ्चालन निर्देशकले गर्नुपर्छ । हेलिकोप्टर उडानमा संलग्न हुने सबै व्यक्तिका लागि सञ्चालन निर्देशकले विशेष पूर्वसावधानी मापदण्ड विकास गर्नुपर्छ । अपरेसन म्यानुअलमा तोकिएका मापदण्डअनुसार उडान सञ्चालन निर्देशकले कडा रूपमा उडान सञ्चालन गर्नुपर्छ ।

प्राधिकरणको नियमअनुसार ‘फ्लाइट डिस्प्याचर’ ले प्रत्येक उडान योजना बनाएर क्याप्टेनलाई जानकारी गराउनुपर्छ । उडानसम्बद्ध सबै सूचना संकलन गरी प्रस्तावित उडानबारे पनि क्याप्टेनलाई बताउनुपर्छ । प्रस्तावित उडान खराब अवस्थाका कारण सुरक्षित नहुने देखिए फ्लाइट डिस्प्याचरले त्यसबारे पनि जानकारी गराउनुपर्छ भने यसबारे उडान सञ्चालन निर्देशकलाई पनि तुरुन्त बताउनुपर्छ ।

प्रकाशित: १४ असार २०७५ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App