७ वैशाख २०८१ शुक्रबार
समाज

१९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

काठमाडाैं - ब्रिटिश काउन्सिलले १९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले १९ नेपाली स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो।

काउन्सिलले गत सोमबार काठमाडौंमा एक समारोह आयोजना गरी नेपालका विभिन्न स्थानमा रहेका १९ स्कुललाई संयुक्त रूपमा अवार्ड प्रदान गरेको हो । काउन्सिलले ६ वर्षदेखि यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।उक्त अवार्ड ब्रिटिस दूतावासको नेपाल मामिला प्रमुख÷कार्यवाहक राजदूत एलिसन म्याकइवेनले हस्तान्तरण गरेकी थिइन्।

सो अवसरमा कार्यवाहक राजदूत म्याकइवेनले अवसरहरूको सिर्जना, सम्पर्क विस्तार र विश्वासको सिर्जना गरी जीवन परिवर्तन गर्नु ब्रिटिस काउन्सिलको लक्ष्य रहेको जानकारी दिइन् । यस लक्ष्यलाई यो इन्टरनेशनल स्कुल अवार्डले स्पष्ट रूपमा प्रतिनिधित्व गर्ने उनले बताइन् । यस वर्ष इन्टरनेशनल स्कुल अवार्ड पाएका स्कुलहरूले कडा मेहनत गरेको तथा अन्तर्राष्ट्रिय स्तरको सिकाइलाई आत्मसात् गरेको म्याकइवेनले बताइन् ।

यी विद्यालयहरूले आफ्ना विद्यार्थी तथा शिक्षकलाई विश्वबारे नयाँ दृष्टिकोण प्रदान गरी विश्व अर्थतन्त्रमा काम गर्न सक्ने सीप विकास गर्नुको महत्वलाई राम्रोसँग बुझेको तथा स्वीकार गरेको उनले बताइन् । नयाँ राष्ट्रिय पाठ्यक्रम ढाँचाले पनि अन्तर्राष्ट्रिय सिकाइको मूल्य÷महत्व स्वीकारेको भन्दै म्याकइवेनले खुसी व्यक्त गरिन् । ‘हामी आशा गर्छौं, नेपालमा गुणस्तरीय शिक्षाका लागि नेतृत्व वर्ग, शिक्षक एवं विद्यार्थीबीच सहकार्य निरन्तर जारी रहने छ,’ उनले भनिन्।

अवार्ड प्राप्त गर्ने स्कुललाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्ने स्कुलहरूलाई तीन वर्षका लागि उनीहरूका सबै आधिकारिक स्टेशनरी÷लेखन सामग्री र प्रवद्र्धन सामग्रीहरूमा आफ्ना स्कुलको लोगोसँगै प्रतिष्ठित इन्टरनेशनल स्कुल काइट मार्क प्रयोग गर्न दिइनेछ ।इन्टरनेशनल स्कुल अवार्डमा पहिलेदेखि काम गरिरहेका नेपालका ७७ विद्यालयमध्ये १४ जिल्लाका ४२ विद्यालयले आफ्नो विद्यालयको अभिलेख प्रमाण (यहाँ अंग्रेजी शब्द छ....) पेश गरेका थिए।

के हो इन्टरनेशनल स्कुल अवार्ड ?

यो इन्टरनेशनल स्कुल अवार्डमा सहभागिता जनाउने स्कुलहरूलाई प्रदान गरिने वार्षिक अवार्ड हो । हरेक वर्ष यस अवार्डमा सहभागी हुन इच्छुक स्कुलहरूबाट आवेदन आह्वान गरी प्राप्त आवेदनका आधारमा स्कुल छनौट गरिन्छ । ती स्कुलहरूको अन्तर्राष्ट्रिय कार्यको अभिलेख राख्न एवं मूल्यांकन गर्न र यसलाई उनीहरूको पाठ्यक्रममा समावेश गर्न ब्रिटिश काउन्सिलले इन्टरनेशनल स्कुल अवार्डलाई विद्यालयहरूका लागि एक प्रमाणीकरण ढाँचाका रूपमा प्रस्ताव गर्छ।

इन्टरनेशनल स्कुल अवार्डले एक मापदण्डका रूपमा कार्य गर्छ । यसअन्तर्गत स्कुलहरूले बालबालिकामा विश्व नागरिक भावनाको विकास गराउनुपर्ने तथा शिक्षण र सिकाइलाई समृद्ध बनाउनुपर्ने सर्त राखिएको हुन्छ ।

विद्यालय विकासका लागि इन्टरनेशनल स्कुल अवार्डको पहुँच समग्र रूपमा हुने र पाठ्यक्रममा आधारित प्रोजेक्ट कार्य तरिका अनुकरण गरी विद्यार्थीमाझ यसको प्रयोग गर्न शिक्षकहरूलाई प्रोत्साहित गर्ने ब्रिटिश काउन्सिलको दाबी छ । यसले नेतृत्वलाई समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा प्रोत्साहित गर्छ । इन्टरनेशनल स्कुल अवार्डमा सामग्री छनौटको स्वतन्त्रता हुने र विद्यालयलाई आफ्नो पाठ्यक्रममै यसलाई सामेल गर्न प्रोत्साहित गरिने काउन्सिलको भनाइ छ।

इन्टरनेशनल स्कुल अवार्डले सूचना तथा सञ्चार प्रविधि र शिक्षण विधिमा सुरक्षित र व्यवस्थित तरिकाले नयाँ सीपको अभ्यास गर्ने अवसर उपलब्ध गराउँछ । ब्रिफिङ, कार्याशाला, अनलाइन समुदाय र अवार्ड समारोहमा हुने सहभागिताले देशभरका स्कुललाई एकसाथ उभ्याउने र यसले विचारहरूको वृहत आदानप्रदानलाई प्रोत्साहित गर्ने काउन्सिलको दाबी छ ।

अवार्ड प्रदान गर्ने स्कुललाई कसरी मूल्यांकन गरिन्छ
ब्रिटिश काउन्सिल, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरूको एउटा समूह बनाइएको छ । सहभागी स्कुलहरूले पेश गरेका अभिलेख वा प्रमाणका विवरण मूल्यांकन गरिन्छ । अनि कार्यको सत्यता र बालबालिकाहरूमा सिकाइ उपलब्धि हेर्न विद्यालय भ्रमण गरिन्छ । पेश गरिएका प्रमाण र विद्यालय भ्रमणका समयमा देखिएका उपलब्धिहरूको आधारमा ती विद्यालयहरूलाई अवार्ड प्रदान गरिन्छ ।

पूर्ण अवार्ड विजेता स्कुलहरूः
१ नेपाल राष्ट्रिय चन्द्रगंगा स्कुल, सुर्खेत

२ अर्किड स्कुल, चितवन
३ सेलेब्रेसन को–एड स्कुल, काठमाडौंं

४. विद्यासागर इङलिस् सेकेन्डरी स्कुल, काभ्रे
५ नवीन औद्योगिक खड्कबहादुर रीता स्कुल, रुपेन्देही

६ संस्कृति इन्टरनेशनल स्कुल काठमाडौं
७ हिम रश्मी सेकेन्डरी स्कुल, काठमाडौं

८ प्रज्ञा एकेडेमी, झापा
९ केके इन्टरनेशनल स्कुल, धरान

१० माउन्ट भ्यू इङलिस बोर्डिङ स्कुल, भक्तपुर
११ त्रैविद्य शिक्षा सदन एकेडेमी, काठमाडौं

१२ सुदेशा हाइस्कुल, ललितपुर
१३ युरेका स्कुल, धरान

१४.झापा मोडेल स्कुल, झापा
१५. बेबिलोन स्कुल, काठमाडौं

१६. सृजना हाइयर सेकेन्डरी बोर्डिङ स्कुल, पोखरा
१७. अम्बिका सेकेन्डरी स्कुल, पोखरा

१८. गोर्खा इन्टरनेशनल पब्लिक स्कुल, दाङ
१९ युरोकिड्स स्कुल, छाउनी, काठमाडौं

कनेक्टिङ क्लास रुम परियोजना
ब्रिटिश काउन्सिलद्वारा कार्यान्वयन गरिएको तथा डीएफआइडीको वित्तीय सहकार्य रहेको कनेक्टिङ क्लास रुम परियोजनाले बालिबालिकाहरूलाई विश्व अर्थतन्त्रमा ज्ञान तथा सीप विकास गर्न सहयोग पु¥याउँछ ।

जीवन तथा कर्मको महत्व सिकाउने उद्देश्यले सञ्चालित यस कार्यक्रमले स्थानीय तथा विश्वव्यापी रूपमै सकरात्मक योगदान पुर्याउने काउन्सिलको दाबी छ । सन् २०१५ देखि २०१८ सम्म सञ्चालन हुने यो कार्यक्रमले विश्वभर ४५ हजार शिक्षक र १२ हजार स्कुलमा नेतृत्व क्षमता विकास गर्नेछ । जसका कारण शिक्षक र विद्यार्थीलाई पाठ्यक्रममा विभिन्न महत्वपूर्ण सीप एकीकृत गर्न सहयोग पुग्नेछ।

कनेक्टिङ क्लास रुमले बेलायत र नेपालमा शिक्षण सुधार गर्ने लक्ष्य राखेको छ । यसले शिक्षक तथा विद्यालय नेतृत्वको व्यावसायिक विकास, बेलायत र नेपालका विद्यालयहरूबीच दिगो साझेदारी तथा नीति निर्माताहरूका लागि व्यावसायिक संवादको अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ ।

त्यस्तै विश्वव्यापीकरण भएको अर्थतन्त्रमा बालबालिकाहरूलाई बाँच्न र काम गर्न सक्ने ज्ञान एवं सीपले सुसज्जित गर्न सफल विद्यालयहरूलाई अवार्ड प्रदान गर्ने लक्ष्य लिइएको छ । यसैगरी बालबालिकाको समुन्नत सिकाइ उपलब्धि प्रदानमा शिक्षकहरूलाई सहयोग गर्न उच्च गुणस्तरीय स्रोत सामग्रीमा अनलाइन पहुँच बनाउने यो परियोजनाको लक्ष्य छ ।

ब्रिटिस काउन्सिल बेलायतमा प्रमुख कार्यालय रहेको सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर विस्तारका लागि स्थापित एक अन्तर्राष्ट्रिय संस्था हो । यसले बेलायत र अन्य मुलुकका जनताबीच मैत्रीपूर्ण ज्ञान र बुझाइको विकास गर्दै आएको छ । बेलायतको सांस्कृतिक स्रोतहरूको प्रयोग गरी काउन्सिलले काम गर्ने मुलुकहरूमा अवसरको सिर्जना, सम्बन्ध÷सम्पर्क निर्माण र आपसी सद्भाव एवं विश्वासको विकासमार्फत जीवन परिवर्तनमा सकरात्मक योगदान गर्दै आएको छ ।

कला तथा संस्कृति, अंग्रेजी भाषा, शिक्षा र नागरिक समाजका क्षेत्रमा काउन्सिलले विश्वभर सयभन्दा बढी मुलुकमा काम गर्दै आएको छ । हरेक वर्ष दुई करोड मानिसमा प्रत्यक्ष र ५० करोडभन्दा बढी मानिसमाझ अनलाइन माध्यमबाट, खासगरी प्रकाशन र प्रशारणका माध्यमबाट, काउसिन्ल विश्वमाझ पुगेको छ ।बेलायतको रोयल चार्टर (शाही वडापत्र) र बेलायतको सार्वजनिक निकायअन्तर्गत सन् १९३४ मा स्थापित काउन्सिल एक बेलायती परोपकारी-च्यारिटी संस्था हो ।

प्रकाशित: १४ असार २०७५ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App