१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रालयका अनुगमन महाशाखा निष्क्रिय

काठमाडौं - मन्त्रालयबाट हुने गरेका कामको प्रगतिबारे अनुगमन गर्ने जिम्मेवारी लिएका अधिकांश अनुगमन महाशाखा निष्क्रिय छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले आगामी साउनदेखि त्यस्ता महाशाखालाई सक्रिय बनाउने तयारी गरेको छ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयसहित २१ वटै मन्त्रालयमा अनुगमन शाखा गठन गरिएका छन् । कुनै मन्त्रालयमा छुट्टै अनुगमन महाशाखा गठन गरिएको छ भने कुनैमा योजना तथा अनुगमनका नाममा यस्तो संयन्त्र गठन गरिएको छ ।

अनुगमनका लागि गठित महाशााखाको नेतृत्व सहसचिव र शाखा रहेको ठाउँमा उपसचिवले गर्ने गरेका छन । संघीय मामिला तथा स्थानीय विकास, अर्थ, आपूर्तिलगायतका मन्त्रालयमा अनुगमन महाशाखा छन् । तर, ती महाशाखाले केके विषयमा अनुगमन गर्छन् भन्ने विषयमा सम्बद्ध कर्मचारीहरू बोल्न चाहँदैनन् । प्रत्येक मन्त्रालयमा अुनगमनका लागि भनेर बजेट छुट्टयाइएको हुन्छ । सरकारले ३१ वटा मन्त्रालयको सख्या कटौती गरी २० वटामा झारेपछि सबै मन्त्रालयमा अनुगमन शाखा गठन गरिएका छन् । ३१ मन्त्रालय हुँदा केही मन्त्रालयमा अनुगमन शाखा थिएन ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले २० वटा मन्त्रालयमा अनुगमनयोग्य सूचक र विस्तृत कार्ययोजना प्रधानमन्त्री कार्यालयमा असार २५ सम्म पेस गर्न निर्देशन दिएको छ । मन्त्रालयले आगामी वर्षभरि केके काम गर्ने, अुनगमनका कार्यक्रम कस्ता बनाउने आदि विषयमा विस्तृत योजना बनाउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कँुवरले बताए ।

उनले भने, ‘हामीले गर्नुपर्ने कामका बारेमा विस्तृत योजना बनाउन र अनुगमनयोग्य सूचक तयार गर्न निर्देशन दिएका छौं ।’ आगामी साउनदेखि मन्त्रालयले तयार गरेको विस्तृत कार्ययोजना कार्यान्वयन हुने पनि उनले जानकारी गराए । साउनदेखि नै मन्त्रालयले गर्ने अनुगमनका विषयमा प्रधानमन्त्री कार्यालयले अनुगमन गर्ने पनि उनले जानकारी दिए । प्रधानमन्त्री कार्यालयमा रहेको सम्बन्धित महाशाखाले अनुगमनको पनि अनुगमन गर्ने उनले बताए ।

प्रधानमन्त्री कार्यालयले मन्त्रालयलाई दिएको निर्देशनमा एक वर्षभित्र मन्त्रालयले गर्ने कामका बारेमा टाइम फ्रेम बनाई कार्ययोजना बनाउन भनिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेको नतिजा व्यव्स्थापन महाशाखाले हाल अनुगमनको अनुगमन गर्ने जिम्मेवारी लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले मन्त्रालयले गर्ने कामको अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, प्रधानमन्त्रीले गरेको प्रतिबद्धताअनुसार अनुगमनको काम प्रभावकारी देखिएको छैन । तर, अहिले मन्त्रालयले गर्ने अनुगमनको अनुगमन गर्ने काम प्रधानमन्त्री कार्यालयले गरिरहेको उनले दाबी गरे ।

प्रकाशित: १४ असार २०७५ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App