coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डा. केसीले शुक्रबार अनशन थाल्ने

काठमाडौं - डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा समेटिएका सुधारका मूल बुँदालाई प्रतिस्थापन विधेयकमा तोडमोड गर्न खोजेको भन्दै शुक्रबारदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरका छन्।

दुईपटकसम्म जारी उक्त अध्यादेशलाई सार्थक रुप दिन असार तेस्रो सातासम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ । सरकारले अध्यादेशका प्रावधानलाई तोडमोड गरी प्रतिस्थापन विधेयक ल्याउन लागेको सूचना आएको भन्दै डा. केसीले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा अनशन सुरु गर्ने घोषणा गरेका छन् ।उनले अध्यादेशमा भएका प्रावधानमध्ये पोस्टग्र्याजुएट (पिजी) पछिको सेवाअवधि दुई वर्ष कायम राख्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै परिवर्तन नगरी विधेयक ल्याउन माग गरेका छन् ।

सरकारसँगको सम्झौताबमोजिम काठमाडौंबाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय भए पनि त्यसको कार्यान्वयनमा झारा टार्ने काम भइरहेको आरोप उनले लगाए । ‘दलहरुको नियत नै देशमा स्वास्थ्यसेवा विस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्नपट्टि छ’, डा.केसीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबिबिएस तहमा विद्यार्थी भर्ना सुरु हुन नसकेको, राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति उस्तै सुस्त भएको आरोप लगाएका छन् । डा. केसीको पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने काम हुन नसकेको उल्लेख गरेका छन्।

चिकित्सा सुधारका लागि माथेमा कार्यदलको सुझावअनुसार नै चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै डा. केसी गत असोजमा १३औं पटक अनशन बसेका थिए । अनशनकै बीचमा तत्कालीन व्यवस्थापिका संसद्मा दलहरुको स्वार्थ नमिल्दा ऐन जारी हुन नसकेपछि सरकारले अध्यादेश ल्याउने सहमति गरेर अनशन टुंग्याएको थियो । कात्तिक ६ मा सरकारले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश जारी गरेको थियो । निर्वाचनपछि वर्तमान संसद्ले चैत २० मा अध्यादेश स्वीकृत गरेको थियो ।

सरकारले प्रतिस्थापन विधेयक नल्याई पुनः दोस्रोपटक गत वैशाख २६ मा पहिलेकै अध्यादेश जारी गरेको थियो । त्यसको ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याए स्वतः निस्क्रिय हुन्छ । सो आधारमा असारभित्रै संसद्मा प्रतिस्थापन विधेयक लगी पारित गरिसक्नुपर्छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिस्थापक विधेयक ल्याउँदा अध्यादेश परिमार्जन गर्ने भनेपछि डा. केसी आन्दोलित भएका हुन् ।

प्रकाशित: १४ असार २०७५ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App