७ वैशाख २०८१ शुक्रबार
राजनीति

गठबन्धनको ‘ड्राफ्टिङ कमिटी’ संयोजक फेरिने

फाइल तस्बिर ।

काठमाडौं–नयाँ संविधान संशोधनको उद्देश्यसहित संघीय गठबन्धनले निमार्ण गरेको ‘संविधान संशोधन ड्राफटिङ कमिटी’ विवादमा परेपछि नयाँ संयोजक तोक्ने तयारी सुरु भएको छ। गठबन्धनले आइतबार तोकेका संयोजक सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बस्न अस्विकार गरेपछि नयाँ संयोजक तोकेर काम गर्ने तयारी गठबन्धनले गरेको हो। त्यसका लागि बुधबार सो ‘ड्राफटिङ कमिटी’को बैठकसमेत बोलाइएको छ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार ‘ड्राफटिङ कमिटी’ का सदस्य मध्य कसै एकलाई संयोजक तोकेर संविधान संशोधनको एजेन्डा तय गरिने छ। ‘हामीले ११ बुँदे र २६ बुँदे राजनीतिक माग अघि सारेका छौं तर त्यसलाई कानुनी र संवैधानिक भाषामा कहाँ कहाँ संशोधन गर्न जरुरी छ भनेर सो समिति बनाएका थियौं,’ झाले भने, ‘लक्ष्मणजीको त्यसमा असहमति हो भने नयाँ संयोजक तोकेर जानेछौं।’

झाले ‘ड्राफटिङ कमिटी’ बनाएपछि मात्रै बिरोधका लागि बिरोध गरिएको आरोप लगाए। उनका अनुसार गठबन्धनको बहुमत सदस्यको निर्णयवाट संविधान संसोधनका लागि ड्राफटिङ कमिटी बनाइएको थियो। तर, यसरी बनाइएको सो ‘ड्राफटिङ’ कमिटी प्रति भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, शरदसिंह भण्डारी नेतृत्वको रामसपा र महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सदभावना पार्टीको भने सहमति रहेको छ।

 तर, आफूसँग कुनै सल्लाह नगरी संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधनका लागि ‘ड्राफ्टिङ कमिटी’ बनाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सातमध्ये ४ घटकले आपत्ति जनाउदै आएका छन्। गठबन्धनको संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले गठन गरेको उक्त कमिटीलाई मान्यता नदिने र अस्विकार गर्ने अन्य ४ घटक दलले स्पष्ट रुपमा नै जनाएपछि उक्त कमिटी विवादमा परेको छ।

मधेसी मोर्चामा आवद्ध ४ घटक पार्टीले असन्तुष्ट जनाएपछि तमलोपा अध्यक्ष महन्थ ठाकुरले सहयोद्धा दलका नेताहरु सरसल्लाह सुरु गरेका छन। सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठबन्धन संयोजक यादवको ‘आफू खुसी र मनलाग्दी निर्णय’ मान्न बाध्य नभएको बताए। ‘हामीसँग ड्राफ्टिङ कमिटी बनाउदाँ कुनै पनि सरसल्लाह र राय मागिएको छैन, त्यो कमिटी किन बनाइएको हो, हामीलाई थाहा पनि छैन,’ अध्यक्ष महतोले भने, ‘अझ, संयोजक बनाइएका लक्ष्मणजीलाई त झन एक पटक पनि सोधिएन, एक्कासी ड्राफ्टिङ कमिटी बन्यो भनेर बाहिरवाट सुन्नु पर्यो।’

मधेसी मोर्चाका अन्य घटकसँग कुनै सरसल्लाह नै नगरी गठबन्धनको नामबाट उक्त कमिटी बनाएकाले त्यसलाई मान्यता नदिने महतोको भनाइ छ। संयोजक कर्ण भने उक्त बैठकमा उपस्थित थिएनन । पार्टी कामको सिलसिलामा वीरगञ्जमा रहेको बखतमा काठमाडौंमा बसेको गठबन्धन बैठकले उनकै संयोजकत्वमा सो कमिटी बनाएको महतोको भनाइ छ।

 

प्रकाशित: २१ भाद्र २०७३ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App