भोल्गोग्राड – जापानका प्रशिक्षक अकिरा निसिनोलाई पाँचौं पटक विश्वकपमा सहभागिता जनाउँदा तेस्रो पटक नकआउट चरण प्रवेश गर्ने केही रहस्य थाहा हुन सक्छ।
तर उनलाई अहिले धेरै विकल्पमा टाउको दुखाउनु छैन । उनी थुप्रै विकल्पमध्ये एउटामा मात्र केन्द्रित छन् । त्यो हो, समूहको अन्तिम स्थानमा रहेको पोल्यान्डलाई हराएर विजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गर्ने । समूह ‘एच’ मा समान ४ अंक जोडेको जापान र सेनेगल पहिलो र दोस्रो स्थानमा छन् । ३ अंकका साथ कोलम्बिया तेस्रो स्थानमा छ भने अंकविहीन पोल्यान्ड पुछारमा छ । ‘हामी समूहविजेताको हैसियतमा अघिल्लो चरण प्रवेश गर्न चाहन्छौं,’ निसिनोले भने।
पोल्यान्डसँग एक अंक मात्र जोड्न सके जापान दोस्रो पटक अपराजित रहँदै समूह चरणबाट माथि उक्लिनेछ । यसअघि २००२ मा घरेलु मैदानमा भएको प्रतियोगितामा जापान अपराजित रहँदै अन्तिम १६ मा प्रवेश गरेको थियो । हार भोगेमा जापानले अन्तिम १६ प्रवेशका लागि कोलम्बिया र सेनेगलबीचको नतिजा आफूअनुकूल आएको कामना गर्नुपर्नेछ।
सेनेगलले नतिजा आफ्नो पक्षमा पारे जापान उपविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्नेछ । कोलम्बिया विजयी भए भने जापान र सेनेगलमध्ये को नकआउट चरण प्रवेश गर्ने भन्ने टुंगो गोलअन्तर र टोलीले सामना गरेको पहेंलो÷रातो कार्डका आधारमा लगाइनेछ।
पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गरेको जापानले दोस्रो खेलमा दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै २–२ को बराबरीका साथ सेनेगलसँग अंक खोस्न सफल भएको थियो । यता बलियो टोलीका रूपमा हेरिएको पोल्यान्डले पहिलो खेलमा सेनेगललाई २–१ र दोस्रो खेलमा कोलम्बियालाई ३–० को नतिजा सुम्पिएको थियो । समूहचरणबाटै बाहिरिएपछि दबाबमा परेका पोल्यान्डका प्रशिक्षकका एडम नावाल्काले हारको जिम्मेवारी आफूले लिने भन्दै खेलाडीको बचाउ गरेका छन्।
‘हामी प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छौं,’ २००२ र २००६ मा टोलीले अन्तिम खेलमा ल्याएको विजयी नतिजा स्मरण गराउँदै नावाल्काले भने, ‘जापान उत्कृष्ट टोली हो । तथापि हामी आत्मसमर्पण गर्ने छैनौं ।’ पोल्यान्डले २००२ र २००६ को विश्वकपमा पहिलो दुई खेल गुमाए पनि अन्तिम खेलमा क्रमशः अमेरिका र कोस्टा रिकालाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको थियो।
प्रकाशित: १४ असार २०७५ १२:४२ बिहीबार