६ वैशाख २०८१ बिहीबार
खेल

साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

रूस – २०१४ को विश्व च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८ को समूह चरणबाटै बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा एसियन राष्ट्र दक्षिण कोरियासँग २–० ले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो।

दक्षिण कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। ९ मिनेट थपिएको इन्जुरी समयमा कोरियको जितमा किम योङ गिवन र सन ह्युङ मिनले एक एक गोल गरे। विश्वकप इतिहासमा २०१० मा इटाली र २०१४ मा स्पेनपछि जर्मनी विश्वकपको पहिलो चरणबाट बाहिरिने तेस्रो साविक विजेता राष्ट्र बनेको छ। त्यस्तै सन् १९९८ को विश्वकप विजेता फ्रान्स पनि सन् २००२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगिताको पहिलो खेलमै मध्य अमेरिकी टोली मेक्सिकोसँग १–० पराजित भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले हराउँदै रुस भ्रमण लम्बाउने आशा कायमै राखेको थियो। तर, अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको जर्मनीको पोष्टमा दक्षिण कोरियाले ‘काउन्टर अट्याक’ दुई गोल ठोकेपछि साविक विजेता समूह चरणबाटै घर फर्किन बाध्य बनेको थियो। कोरियाले दोस्रो गोल खाली पोस्टमा गरेको थियो। जर्मनीका गोलकिपर नुयर कोरियको डि बक्सछेउ आएपछि कोरियाले काउन्टर अट्याकमा गोल गरेको हो।

जर्मनीका लागि फरवार्ड टिमो वेर्नर, थोमस मुलर, मार्को रेउसले विपक्षी पोष्टमा लगातार आक्रमण गर्दै ७१ प्रतिशतको बल पोसेसन राखेर पनि अग्रता बनाउन असफल भएको थियो। १८औं मिनेटमा दक्षिण कोरियाका जुङ वुयोङले हानेको फ्रिकिक जर्मनीका गोलकिपर म्यानुयल नुयरले राम्रो नियन्त्रणमा लिन नसके पनि उक्त मौकालाई सन हिउङमुनले सदुपयोग गर्न सकेनन्। त्यसको दुई मिनेट नवित्दै टोटेनह्यामका फरवार्ड सनले गरेको प्रयास पनि सफल हुन सकेन। जर्मनीका टिमो वेर्नरले गरेको दुई वटा प्रयास सफल हुन सकेन। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीका पटक पटकका गाेल गर्ने सुनाैला अवसरलार्इ बचावट गरेका काेरियाक गाेलकिपर म्यान अफ दि म्याच घाेषित भए।

१–० ले मात्रै विजयी हुँदा पनि नकआउटचरणमा पुग्ने ज्ञान भएको जर्मनीमा जितको भोक देखिएन। विपक्षी कोरियाले भने शक्ति लगाएर प्रदर्शन गर्याे। जर्मनीका प्रशिक्षक जोचिम लोउले गरेको परिवर्तनमा खेलाडीको सन्तुष्टि मैदानभित्र देखिँदैनथ्यो। जर्मनीका खेलाडीमा जित्नुपर्छ भन्ने भावना देखिएन। कोरिया कमजोर टिम हुँदा पनि उनीहरूले गोल गर्न सकेनन् मात्र होइन प्रयासै गरेको देखिएन। जुझारु प्रदर्शन गरेको कोरियाले पेनाल्टी बक्सवरपर ६ देखि ८ जना बसेर रक्षात्मक खेल खेलेको अवस्थामा जर्मनीबाट हरेक बल बीचबाट पेनिट्रेड गर्दा सफलता हात नलागे पनि यसमा परिवर्तन गर्ने प्रयासै भएन र टोली समूहचरणबाटै बाहिरियो।

२००२ मा आफैले जापानसँग मिलेर आयोजना गरको विश्वकपमा चौथो स्थान हासिल गर्नु नै कोरियाको अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो। त्यसपछि २०१० मा अन्तिम १६ सम्मको यात्रा गरेको दक्षिण कोरिया बाँकी ८ सहभागितामा समूह चरणबाटै घर फर्किएको छ।

 

प्रकाशित: १३ असार २०७५ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App