८ वैशाख २०८१ शनिबार
राजनीति

‘भारतभन्दा पहिले चीनबाट काठमाडौंमा रेल आउँछ’

काठमाडौं– नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक रुपमा चर्चा भएपनि ईन्जिनियरिङ र आर्थिक रुपमा चर्चा नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘रेल ल्याउने कुरा अहिले राजनीतिक रुपमा धेरै बहस भएको छ, रेल ल्याउनु ठूलो कुरा होइन, तर यसका आर्थिक पाटाका बारेमा पनि बहस तथा चर्चा हुनुपर्छ।’

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उपाध्यायले भारत र चीन दुवैबाट रेल आउने निश्चित भएको बताउँदै भने, ‘चीन र भारत दुवै देशको बोर्डरबाट अर्थात चीनको केरुङबाट काठमाढौं पनि १०० किलोमिटर नै छ, भारतको रक्सौलबाट काठमाडौं आउनपनि १०० किलोमिटर नै लाग्छ, यसरी हेर्दा भौगोलिक विकटताको हिसाबले चीनबाट काठमाडौं आउने रेलको लागि अलिक बढी कठिनाई छ, अब काम गराईको गतिको हिसाबले हेर्ने हो भने त चीन विश्वमै अघि छ, त्यसैले काम सुरु भयो भने चीनबाट काठमाडौं रेल चाँडो आउँछ।’

उनले भारतमा अहिले चलेका रेलहरु पनि तिव्र गतिका नभएको स्पष्ट पारे। उनले भने, ‘अहिलेपनि भारतका रेलहरु तगडा छैनन, अब मोर्डनाइजेशन हुँदैछ।’ भारत र चीन दुवैबाट रेल आउनु राम्रो कुरा भएपनि रेल विकल्पको साधन नभएको उनको भनाई थियो। उनले थपे, ‘ट्रेनसँगै हामीलाई सडकहरु पनि चाहिन्छन्, रेल आउँदैमा के के नै भएकोजस्तो होइन, रेलको आवगमनसँगै भारत र चीन दुवै देशबाट पर्यटकहरु ल्याउनको लागि प्याकेज चाहिन्छ, अहिले खोई त प्याकेज?’

विकास र समृद्धि हाँसिल गर्न नेपालको लागि अहिले महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले भने, ‘अहिले काम गर्ने अवसर छ, कुम्भकर्णबाट अहिले उठेको छ, कुम्भकर्णलाई झकझकाउन सकिएन भने फेरि ६ महिनापछि सुत्छ।’ लोकसेवाको अहिलेको सेलेबसमा समेत रेलको विषय समावेश नरहेको सुनाए। उनले भने, ‘रेल ल्याउनु ठूलो कुरा होइन, यहाँपनि त्यही अनुसारको जनशक्ति चाहिन्छ, त्यतातिर ध्यान दिनुपर्छ।’

आफ्नै पैसाले रेल आए त गौरवको विषय हुने नभए के को गौरव भन्दै उनले प्रश्न गरे। उनले भने, ‘रेल त आजभन्दा ५० वर्ष पहिले जनयनगर–जनकपुर नेपालले चलाएको हो नि।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले भारत र चीन दुवै देशबाट रेल ल्याउनेबारे समझदारी भएकोले कुन पहिले आउँछ भन्ने कुरा आफूहरुमै भर पर्ने बताए। उनले भने, ‘आर्थिक उन्नती खोज्ने सरकारको सोच छ, प्रधानमन्त्रीको चीन भ्रमणको दौरान केरुङ हुँदै काठमाडौंसम्म रेल ल्याउने समझदारी बनेको छ, त्यसैगरि रक्सौलदेखि काठमाडौंसम्म भारतीय रेल आउने समझदारी भएको छ, कुन रेल पहिले आउँछ भन्ने कुरा हामीमै भर पर्छ।’

आफूहरु देशमा प्रशस्तै लगानी आओस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानले भने, ‘प्रधानमन्त्रीको मुलुक समृद्ध बनाउने सपना पूरा होस्, सरकारलाई हरेक काममा सहयोग गर्न हामी निजी क्षेत्र सँधै तयार छौं, आज, भोलि र पर्सी सँधै हामी सरकारलाई साथ दिन्छौं, सरकारले पब्लिक÷प्राईभेट पार्टनरसिपको नीति लिएको छ, यो खुशीको कुरा हो।’

चिनियाँ कम्पनीहरुसँग हाईड्रोपावरबारे भएका सम्झौताहरु कार्यान्वनयको लागि सरकारले उचित कदम चाल्नुपर्ने समेत उनको सुझाव छ। 

ईन्जिनियरिङ एशोसियनका अध्यक्ष हरेराम श्रेष्ठले चिनियाँ रेल अनुदानमा ल्याउँदा राम्रो हुने स्पष्ट पारेका छन्। उनले भने, ‘अहिले नेपालमा रेलको विषयमा बहस सुरु भयो, क्लबले बहस सुरु गरेको छ, म धन्यवाद भन्न चाहन्छु, चीनबाट रेल आउने संभावना छ, आर्थिक हिसाबलेपनि संभावना छ।’ 

नेपालमा स्विट्जरल्याण्डजस्तै पर्यटकीय ट्रेन सञ्चालन गर्न समेत सम्भावना रहेको उनले औल्याए। उनले भने, ‘नेपालमा पनि प्रशस्तै सम्भावना छ, प्यासेन्जर एण्ड ट्रेडको लागि पनि रेल आवश्यक छ, तर नेपालको अहिलेको क्षमताले बनाउन सक्दैन्, सबैभन्दा राम्रो अनुदानमा बनाउँदा धेरै राम्रो हुन्छ।’ 

नेपालले आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदे उनले अनुदानमै रेल ल्याएपनि नेपालले व्यवस्थापन गर्न नसके ट्रली बसकोजस्तै हालत हुने समेत खतरा औंल्याए। 

प्रकाशित: १३ असार २०७५ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App