८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि क्षेत्रमा बजेट बढ्यो

रसुवा– रसुवाकोे नौकुण्ड गाउँपालिकाले कृषि क्षेत्रका लागि बजेट वृद्धि गरेको छ। कृषिमा आधुनिकिकरण गरी उत्पादनमा वृद्धि गर्नका लागि बजेटमा वृद्धि गरेको हो।

चालु आर्थिक वर्षका लागि छुट्याएको बजेट पर्याप्त नभएका कारण यस वर्ष बजेट बढाइएको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७५÷७६ का लागि कृषि क्षेत्रमा एक करोड, ६ लाख, ४५ हजार बजेट बिनियोजन भएको कृषि शाखाले जनाएको छ। चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ६३ लाख बजेट बिनियोजन गरिएको थियो।

कृषि विकास शाखाले दिएको जानकारी अनुसार पकेट क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। बस्ती तहबाट आएको योजनालाई प्राथमिकिकरण गरेर नयाँ कार्यक्रम निर्माण गरिएको हो। कोल्ड स्टोरको स्थापना गर्ने, कृषिमा यान्त्रीकरण गर्ने, सिंचाईको कार्यक्रम सञ्चालन गर्ने र कृषि क्षेत्रमा युुवाको सहभागिता बढाउने किसिमका योजना निर्माण गरिएको बताइएको छ।

स्थानीय तहको निर्वाचनपछि पहिलो पटक निर्माण गरेको कार्यक्रममा बस्ती तहको योजना निर्माण गर्न सकिएको थिएन्।  यो पटक बस्ती तहका योजना बजेट, नीति तथा कार्यक्रममा समेटेको शाखा प्रमुख शम्भुप्रसाद राईले बताए। ‘यो पटक हामीले बस्तीस्तरका योजना समेटेका छौँ’, उनले भने, नयाँ कृषि कार्यक्रमले युवालाई समेट्ने विश्वास गरेका छौँ।’

यसपटकको कार्यक्रममा पनि बीउविजन वितरण, तालिम सञ्चालन लगायतका कार्यक्रमलाई निरन्तरता दिएको शाखा प्रमुख राईले बताए। ‘गत वर्षको केही कार्यक्रमलाई हामीले निरन्तरता दिएका छौँ’, उनले भने, ‘यसले गाउँपालिकाको कृषिमा परिवर्तन गर्न सहज पुग्छ।’

गाउँपालिकामा आलु, कफी, गोलभेँडा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको छ। शाखाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा अनुदानमुखी कार्यक्रम, नयाँ प्रविधिमैत्री कार्यक्रम, गोठ सुधार, तालिम सञ्चालन, माटो जाँच, तरकारीको बीउ वितरण लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: १३ असार २०७५ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App