८ वैशाख २०८१ शनिबार
अर्थ

प्रधानमन्त्री फर्किंदा विमानस्थलमा यात्रुको विचल्ली

काठमाडौं - प्रधानमन्त्री केपी ओली एक साता लामो चीन भ्रमण सकेर आइतबार काठमाडौं अवतरण गर्दा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आधादेखि पौने घन्टासम्म सम्पूर्ण उडान–अवतरण अवरुद्ध हुन पुग्यो।

आन्तरिकदेखि अन्तर्राष्ट्रियसम्म सबै उडान अवरुद्ध हुँदा यहाँ आइरहेका जहाज होल्ड गर्नुपर्यो भने यहाँबाट उड्ने तयारीमा रहेका जहाज पनि रोकिन पुगे । ‘अति महत्वपूर्ण व्यक्ति’ (भिभिआइपी) व्यक्तिको आवागमन क्रममा विगतमा पनि यसैगरी यात्रु र अन्य वायुसेवा कम्पनीका जहाजले सास्ती खेप्दै आएका छन्।

गत आइतबार बिहान १० बजे प्रधानमन्त्री ओली चीनबाट यहाँ अवतरण गरेका थिए । उनको उडानका कारण सयौं यात्रुले दुःख पाए । ‘म भैरहवाबाट त्यही समयमा काठमाडौं आउने जहाजभित्र बसेको थिएँ तर भिभिआइपी उडानका कारण जहाजभित्रै ४५ मिनेट राखियो,’ यात्रु ओम गुरुङले भने, ‘उखरमाउलो गर्मीमा जहाजभित्र त्यति लामो समय बसाइयो र बल्ल उडेर आएपछि काठमाडौंमा थप १५ मिनेट जहाजबाट बाहिर निस्किन दिइएन।

भिभिआइपीलाई ध्वनि प्रदूषण हुन्छ भनेर जहाजभित्र एयर कन्डिसन पनि चलाउन दिइएन ।’गुरुङ यस्ता घटनाको एक प्रतिनिधि पात्र हुन् । उनीजस्ता सयौं यात्रुले त्यस दिन पाउनु सास्ती पाएका थिए । ‘मसँगै भैरहवाबाट उडेका केही यात्रु आफ्ना छोराछोरीलाई विदेश जान बिदाइ गर्न आएका थिए भने केही कार्यालयको बैठकमा सहभागी हुन आएका थिए,’ गुरुङले आक्रोशित हुँदै भने, ‘जनताकै मतबाट चुनिएर पद पाएकाले जनतालाई दुःख दिनुको अर्थ के हो ? यो राजतन्त्र होइन, गणतन्त्रको समय हो भनेर भिभिआइपीहरूले बुझ्नुपर्दैन ?’

त्रिभुवन विमानस्थलका अनुसार भिभिआइपी उडान क्रममा यसरी अन्य उडान रोक्ने अन्तर्राष्ट्रिय प्रचलन छ । ‘सामान्यतयाः हामीले भिभिआइपी उडानका बेला ३० देखि ३५ मिनेट अन्य उडान–अवतरण रोक्ने गरेका छौं,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘यस्तो बेला भिभिआइपी उडान–अवतरणभन्दा एक दिनअघि नै हामी ‘नोटिस टु एयरमेन’ (नोटाम)’ जारी गर्छौं ।

यो भनेको अन्य उडानलाई भिभिआइपी उडानको प्रभाव नपरोस् भन्ने हो । भिभिआइपी उडानका बेला धावनमार्गसमेत निरीक्षण गर्नुपर्छ । यस्तो बेला कहिलेकाहिँ नोटामभन्दा बढी समय पनि विमानस्थल बन्द गर्नुपर्ने हुन्छ । यसबाट यात्रुले दुःख पाउनु स्वाभाविक हो ।’यती एयरलाइन्सका मिडिया म्यानेजर भीमराज राईले एक दिनअघि नै नोटाम जारी हुने गरेको र त्यहीअनुसार उडान व्यवस्थापन गर्ने गरेको जानकारी दिए । ‘यस्तो बेलामा यात्रुलाई केही सास्ती हुने गरेको छ,’ उनले भने ।

प्रकाशित: १३ असार २०७५ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App