८ वैशाख २०८१ शनिबार
विचार

नेपाली समाजकाे बदलिँदाे अायाम

समाजलाई विभिन्न दृष्टिकोणमा हेर्न सकिन्छ। कहिलेकाहीँ पहिल्यै निश्चित दृष्टिकोण बनाएर हेर्न सकिन्छ भने कहिलेकाहीँ पहिला अध्ययन–अनुसन्धान–विश्लेषण–संश्लेषण गरेर पछि मात्र निचोड निकालिन्छ । मैले नेपाली समाज धेरै कुरामा बदलिएको पाएँ । जुन यहाँ बुँदागत रूपमा उल्लेख गर्छु।

खानपानमा विविधता : नेपाली भान्साघरमा दाल, भात, चटनी र तरकारी मात्रैले राज गरेको थियो। सिस्नु, ढिँडो, कोदोको रोटी, मकैको आँटो, पुदिनाको चटनी, सिन्की–गुन्द्रुकको एकाधिकार तोडिएको छ । नेपाली भान्सामा अहिले धेरै नयाँ कुरा छिरिसकेको छ । अब होटेलतिर छ, त्यहाँ रेसिपी छ  । तरकारीमा नयाँ नयाँ रेसिपी छन्  । मासुकै धेरै थरी चिज बन्छ  । पहिले पिसेर मात्र मसला हालिन्थ्यो भने अहिले धुलो मसला बढी चल्छ । अधिकांश नेपालीकहाँ बिहानको चिया नास्ता हुँदैनथ्यो । अहिले चिया नास्ता छिरेको छ, त्यो पनि बिस्कुट, ब्रेड, जाम । सीधै बिहान ८–१० बजे खाना खाइन्थ्यो । नेपालीहरूलाई ग्यास्ट्रिकको समस्या हुने एउटा कारण यो पनि हो । अघिल्लो रात ७–९ तिर खाएर सुतेपछि अर्को दिन बिहान ८–१० तिर मात्र खाएपछि ग्यास्ट्रिक हुने नै भयो । जेहोस्, नेपाली खानपान–भान्सामा व्यापक परिवर्तन भएको छ।

घरको डिजाइन : अहिले घर बनाउँदा वास्तु र ज्योतिष पनि मिलाउने गर्न थालिएको छ । घरलाई व्यावसायिक र बसोबास दुवै ख्याल गरेर डिजाइन दिन थालिएको छ । अब लगभग प्यागोडा शैलीका घर बन्न बन्द भएको छ । बरु मान्छेहरूको रुचि अमेरिकन–युरोपियन शैलीतिर देखिएको छ । बस्ने घरको छानामुनि मन्दिर र ट्वाइलेट सँगै हुँदैनथ्यो तर अब सँगै हुन थालेको छ।

सेलिब्रेटीको उत्पादन : यो त बदलिँदो समाजको सबभन्दा रोचक पक्ष हो । पहिले टिभी र फिल्मका मान्छे मात्र सेलिब्रेटी हुन्थे । सेलिब्रेटी पनि अधबैँसे मात्र हुन्थे । तर जमानाले धेरै छलाङ मारेछ । अहिले जुनसुकै क्षेत्रबाट पनि सेलिब्रेटी उत्पादन भइरहेका छन् । हड्ताल गर्ने पनि सेलिब्रेटी, राम्रो गर्ने पनि सेलिब्रेटी, नराम्रो गर्ने पनि सेलिब्रेटी । फोहोर सफा गर्ने पनि सेलिब्रेटी, हिमाल चढ्ने पनि सेलिब्रेटी, पत्रकार पनि सेलिब्रेटी, ब्यांकिङ सेक्टरबाट पनि सेलिब्रेटी, स्कुल–क्याम्पसका शिक्षक पनि सेलिब्रेटी, जताततै सेलिब्रेटी नै सेलिब्रेटी । हुँदाहुँदा सानो उमेरका बच्चाबच्ची पनि सेलिब्रेटी । यस्तो पहिले देख्न पाइँदैनथ्यो।

नयाँ प्रकारको रोजगारी : ४६ सालमा भन्दा ६२–६३ मा र ६२–६३ मा भन्दा अहिले धेरै नयाँ प्रकारका कामहरू देखापरे । नेपालमा एनजिओका कारण परामर्शदाता, बिमाका कारण अभिकर्ता, प्रविधिका कारण इन्जिनियरहरूजस्ता जागिर देखापरे । अहिले त इभेन्ट म्यानेजमेन्ट भन्ने पनि छ । बिहे–व्रतबन्धलगायत अन्य उत्सवहरूको व्यवस्थापन यसले लिन्छ । तपाईंले पैसातिरे पुग्छ । घर–जग्गा दलाली पनि एउटा ठूलो रोजगार बनेर आयो । म्यानपावर पनि ठुलो रोजगार बनेर आयो । विदेश जाने होइन कि यहीँ मान्छे खोज्ने पनि । अनि बिस्तारै सुरु हुन्छ, पार्टटाइम भन्ने । मुख्यतः हरेक क्षेत्रमा बीचमा दलाल आयो, एजेन्सी कल्चर आयो । अहिले होम डेलिभरी भन्ने चिजले धेरै रोजगारी सिर्जना गरेको छ । यो होम डेलिभरीको काम सहरमा बसेर पढिरहेका युवाले गरिरहेका छन् । अहिले विज्ञापनको जमाना छ । एड एजेन्सीले पनि एक हदसम्म रोजगारी सिर्जना गरेका छन् । जुन क्षेत्र जति बढी कर्पोरेट कल्चर या भनाँै प्रोफेसनालिज्ममा छ, त्यसले त्यति नै बढी नयाँ प्रकारको रोजगारी सिर्जना गरेको छ।

नयाँ प्रकृतिको अपराध : समाजमा अचम्मलाग्दो घटना भइरहेका छन् । कतिसम्म भने महिलाले महिलालाई बलात्कार गरेको । ब्यांक ठगी । जुन कि बढी जसो चेक बाउन्स भएर हुन्छ, अर्को ब्यांक ठगी हुन्छ, नक्कली धितो राखेर ऋण निकाल्ने । ब्यांकिङ अपराध पनि बढ्दै गएको छ । अहिले विशेषतः प्रविधिको दुरुपयोग गरेर हुने अपराध बढी छ । साइबर क्राइम, ह्याकिङ, डाटा पाइरेसी, बौद्धिक चोरी आदि १५ वर्षअघि नसुनिएका शब्द हुन्।

गोप्यताको ख्याल गर्ने : ओहो ! मान्छे अहिले आफ्नो गोप्यताप्रति निकै संवेदनशील छ । महिला होस् या पुरुष जो कोही आफूले जे गरिरहेको छ, त्यसको गोप्यताको प्रत्याभूति चाहन्छ पहिले । मान्छे आफ्नो मोबाइल ल्यापटप कसैलाई दिन चाहन्न भने हतपत आफ्नो रुममा पनि लैजान चाहन्न । कतिपय त आफ्नो घर पनि देखाउन नचाहने हुन्छन् । एउटा मान्छे आफ्नो व्यक्तित्व बढ्नेबित्तिकै अग्लो पर्खाल बनाउँछ र सिसिटिभी लगाइहाल्छ । यो चाहिँ मलाई असाध्यै ठीक नलाग्ने कुरा हो । खासगरी मान्छे आफ्नो सम्बन्ध र व्यवसाय एक हदसम्म गोप्य नै रहोस् भन्ने चाहन्छ । गोप्यता सँगसँगै मर्यादाको पनि ख्याल गर्ने भएका छन्, आजका नेपाली।

प्रकाशित: १३ असार २०७५ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App