७ वैशाख २०८१ शुक्रबार
समाज

सिक्टा सिँचाइको नहर अलपत्र

सिक्टा सिँचाइ आयोजनाका लागि बाँकेको अगैयामा बनाइएको बाँधः फाइल तस्बिर रुद्र खड्का/नागरिक

काठमाडौं - बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा ठेकेदारले काम नगरेपछि साउदी विकास कोषले सहयोग रोक्ने चेतावनी दिएको छ।

साउदी विकास कोषले सिक्टाको डुँडुवालगायत शाखा नहरका लागि दुई अर्ब ४१ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सम्झौता गरेको छ।

सोही रकमबाट सिक्टा सिँचाइ आयोजनाले पहिलो चरणमा २३ किलोमिटर शाखा नहर निर्माण गर्न कोस्टाल पप्पु कन्स्ट्रक्सनसँग ९८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले तोकिएको समयमा निकै कम काम गरेपछि साउदीले सहयोग रोक्ने चेतावनी दिएको ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय स्रोतले जानकारी दिएको हो।

‘२३ किमि शाखा नहर निर्माणको ठेक्का पाएको कोस्टाल पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन्। ठेकेदारका बाबु सत्तारूढ दलका संसद् सदस्य भएकाले कारबाही गर्न कर्मचारी तहमा गाह्रो भइरहेको छ।’

बाँकेको डुँडुवा क्षेत्रमा शाखा नहर निर्माण गर्न दुई वर्षअघि पप्पु कन्स्ट्रक्सनले अनुमानित लागतभन्दा ४८ करोड रुपैयाँ तल झरेर ठेक्का सम्झौता गरेको थियो। २३ किलोमिटर लामो शाखा नहर निर्माण गर्न एक अर्ब ४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। तर पप्पुले ९८ करोड रुपैयाँमा सम्झौता गरेको थियो। ठेक्का लिएको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य अघि नबढेपछि साउदीले रकम रोक्ने चेतावनी दिएको हो। सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी प्रकाश केसीका अनुसार सम्झौता सकिन चार महिना बाँकी हुँदासम्म पप्पुले शाखा नहर कुल निर्माणको ५ प्रतिशतमात्र काम गरेको छ।

नेपालले आफ्नै लगानीमा सुरु गरेको उक्त सिँचाइ आयोजनामा वैदेशिक ऋण उपलब्ध गराउने साउदी विकास कोष पहिलो हो। निर्माण कार्य सुरु भएदेखि नै नेपालले विश्व बैंक, एसियाली विकास बैंकलगायतका दाृत निकाय तथा अन्य मुलुकसँग ऋण लिने प्र्रयास गरे पनि सफल हुन सकेको छैन। विगतमा भारतीय अवरोधका कारण निर्माण कार्य अघि बढ्न नसकेको भनिएको सिक्टा सिँचाइ २०६१ देखि नेपालले आफ्नै लगानीमा बनाउन थालेको हो। आर्थिक वर्ष २०७४/७५ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत छ। सोही आयोजनामा हालसम्म करिब १४ अर्ब रुपैयाँ खर्च भएको छ।

लामो प्रयासपछि वैदेशिक ऋण प्राप्त गरे पनि पछिल्लो समयमा ठेकेदार कम्पनीले काम नगर्दा पुनः काममा अवरोध आउन सक्ने खतरा बढेको भन्दै स्थानीय चिन्तित भएका छन्। केही समयअघि सिँचाइ मन्त्रालयका अधिकारीसँगको बैठकमा साउदी विकास कोषका प्रतिनिधिले काम नगर्ने ठेकेदारलाई नहटाएसम्म पहिलो चरणमा दिने भनिएको रकम रोक्ने चेतावनी दिएका हुन्। कोषका अपरेसन विभागका इन्जिनियर नासिर अल्कासवीले हस्ताक्षर गरेको निर्णयमा समयमा काम नगर्ने पप्पुको ठेक्का नतोडिए सम्झौताअनुसारको सबै भुक्तानी प्रक्रिया अवरुद्ध हुने उल्लेख छ।

ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयका एक सहसचिवले साउदीको त्यो चेतावनीलाई सरकारले तुरुन्त सम्बोधन नगर्ने हो भने पूरै ऋण रोकिन सक्ने खतरा बढेको बताए। ‘कोषले अहिले ९८ करोड रुपैयाँ भुक्तानी नदिने भनेको छ,’ ती सहसचिवले भने, ‘अझै पनि काम नगर्ने ठेकेदार कम्पनीको टुंगो नलगाउने हो भने ठूलो क्षति हुन सक्छ।’

उक्त शाखा नहर निर्माणको जिम्मा लिने कोस्टाल पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार हुन्। उनका पिता हरिनारायण रौनियार संघीय समाजवादी फोरमका तर्फबाट संघीय संसद्का सदस्य छन्। मन्त्रालयका कर्मचारी सांसद हरिनारायणकै कारण सिक्टाको शाखा नहर निर्माण कार्यमा ढिलाइ हुँदासमेत कारबाही गर्न गाह्रो भइरहेको गुनासो गर्छन्। ‘सत्तारूढ दल संघीय संसद्का सदस्य भएकाले कारबाही गर्न कर्मचारी तहमा गाह्रो भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘जो पायो त्यही नेता हुने प्रचलनले विकासका आयोजनामा समस्या आउँछन् भन्ने सिक्टा गतिलो उदाहरण बनेको छ।’

केही समयअघि गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने प्रचार गरे पनि अहिलेसम्म रौनियारको ढिलासुस्तीबारे चासो नराखेको देखेर मन्त्रालयका कर्मचारी अचम्ममा परेका छन्। ‘समयमा काम नगरेका कारण दातृ निकायले पैसा फिर्ता लैजाने भनिसक्यो,’ एक कर्मचारीले भने, ‘पहुँच नभएका निर्माण व्यवसायीलाई पक्राउ गर्ने घोषणा गरिरहेका गृहमन्त्रीले यति ठूलो ढिलाइ किन नदेखेका होलान्?’

सिक्टा सिँचाइ आयोजना, विभाग र मन्त्रालयका कर्मचारीले पटकपटक कामलाई तीव्रता दिन आग्रह गरे पनि ठेकेदारले अटेर गरिरहेको गुनासो छ। ‘शाखा नहर निर्माणमा भइरहेको ढिलाइबारे पटकपटक ठेकेदारलाई सचेत गराएका गराका छौं,’ आयोजनाका सूचना अधिकारी केसीले भने, ‘तर, कामले गति लिन सकेको छैन।’ उनले पप्पु कन्स्ट्रक्सनको निर्माण कार्यबारे मन्त्रालय र विभागले मात्र नभई अर्थ मन्त्रालयको निर्णयसमेत महत्वपूर्ण हुने बताए । पप्पुले २८ महिनामा २३ किलोमिटर शाखा नहरको काम सक्ने गरी सम्झौता गरेको थियो।

पप्पु कन्स्ट्रक्सनका प्रबन्धनिर्देशक सुमित रौनियार भने आयोजनाले समयमै नहरको डिजाइन दिन नसक्दा शाखा नहर निर्माणमा ढिलाइ भएको दाबी गर्छन्। ‘सम्झौता भएको २४ महिना बितिसक्यो, अहिलेसम्म आठ किलोमिटर नहरको मात्र डिजाइन दिइएको छ,’ रौनियारले भने, ‘निर्माण कम्पनीले नक्सा पाएपछि मात्र निर्माणको काम गर्ने हो।’

शाखा नहर निर्माणका लागि हालसम्म पप्पुले साढे १० करोड रुपैयाँ लिएको छ। रौनियारले साढे ६ करोड रुपैयाँको काम सके पनि भुक्तानी नपाएको गुनासो गरे। उनले अबको एक वर्षमा २३ किलोमिटर शाखा नहरको काम सक्ने दाबी गरे।

बाँकेको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी सुरु गरिएको उक्त आयोजनामा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तर, अहिले भइरहेको कामको गति हेर्ने हो भने अबको १० वर्षमा समेत सिक्टामा पानी नचल्ने स्थानीय बताउँछन्। गत वर्ष मूल नहरको काम सकिए पनि कमसल निर्माण सामग्री प्रयोग गरिएकाले पानी चलाएकै दिन बाँध भत्किएको थियो। मूल नहर कालिका कन्स्ट्रक्सनले बनाएको हो। परीक्षणका लागि पानी चलाएकै दिन बाँध फुटेपछि मन्त्रालयले जाँचुबझ समिति गठन गरेको थियो । मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक नगरे पनि धेरैले कमसल निर्माण सामग्री प्रयोग गरिएको आरोप लगाउँदै आएका छन्। ठेकेदार कम्पनीले मर्मत गरेको त्यो मूल नहरको पुनः परीक्षण गरिएको छैन।

सिक्टा सिँचाइजस्तै अन्य आयोजनामा पनि लक्ष्यअनुसार खर्च हुन सकेको छैन। चालू आर्थिक वर्ष विकास बजेटका लागि छुट्ट्याइएको तीन खर्ब ३५ अर्ब रुपैयाँमध्ये ११ महिनामा ५० प्रतिशत हाराहारीमा मात्र खर्च हुन सकेको छ। सरकारले आर्थिक वर्षको अन्त्यसम्म ७० प्रतिशत विकास बजेट खर्च गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: १३ असार २०७५ ००:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App