coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदर्शन सुधार्ने लक्ष्यमा ब्राजिल

सोची – उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना कायम राखेको छ । तर पाँच पटकको विश्वविजेताको प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेको छैन । तर बुधबार समूह ‘ई’ को अन्तिम खेलमा आमने–सामने हुँदा ब्राजिलभन्दा सर्बिया बढी दबाबमा हुनेछ।

ब्राजिललाई अन्तिम १६ मा स्थान पक्का गर्न बराबरीको नतिजा पर्याप्त बन्नेछ भने सर्बियासँग जितको विकल्प छैन । बराबरीको नतिजा ल्याए सर्बियाले अन्तिम १६ प्रवेशका लागि कोस्टा रिका र स्विट्जरल्यान्डविरुद्ध हुने खेलको नतिजा आफू अनुकूल आएको देख्न पाउनुपर्नेछ । जहाँ कोस्टा रिकाले स्विट्जरल्यान्डलाई १ भन्दा बढी गोल अन्तरमा पराजित गर्नुपर्नेछ।

समूहमा समान ४ अंक जोडेका ब्राजिल र स्विट्जरल्यान्ड पहिलो र दोस्रो स्थानमा छन् भने ३ अंकका साथ सर्बिया तेस्रो स्थानमा छ । प्रतियोगिताबाट बाहिरिइसकेको अंकविहीन कोस्टा रिका पुछारमा छ।

पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा कोस्टा रिकामाथि २–० को विजयी नतिजाका लागि इन्जुरी समयसम्म कुर्नुपरेको थियो । ब्राजिलका रक्षक फाग्नरले प्रतियोगिताअघिको उत्कृष्ट प्रदर्शनले टोलीबाट धेरै अपेक्षा गरिएकाले दबाबमा परेको बताए । ब्राजिलले विश्वकप छनोट र अभ्यास खेल गरी २१ खेलमा १ खेल मात्र गुमाएको थियो । जहाँ टोलीले ४७ गोल गरेको थियो भने मात्र ५ गोल खाएको थियो।

‘विश्वकप छनोट र मैत्रीपूर्ण खेलमा हामीले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा हामीलाई प्रतियोगिताको दाबेदारका रूपमा हेरियो,’ फाग्नरले भने, ‘सबैलाई हामीबाट सहज जितको अपेक्षा थियो । पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरी खेल्दा टोलीको विश्वकप यात्रा समूहचरणमा सीमित हुने आकलन आउन थालेको थियो।

तर दोस्रो खेलमा कोस्टा रिकालाई हराएर शीर्ष स्थानमा फर्किएसँगै हाम्रो मनोबल बढेको छ । आशा छ, सर्बियाविरुद्ध टोलीले थप सुधारिएको प्रदर्शन गर्छ ।’ ब्राजिलले कोस्टा रिकाविरुद्ध उतारेको टोलीलाई नै सर्बियाविरुद्ध पनि निरन्तरता दिने बताइएको छ।

यता पहिलो खेलमा कोस्टा रिकालाई १–० ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको सर्बियाले दोस्रो खेलमा स्विट्जरल्यान्डलाई २–१ को नतिजा सुम्पिएसँगै अन्तिम १६ प्रवेश यात्रा धरमराएको थियो।

 

प्रकाशित: १३ असार २०७५ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App