७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

विश्व शक्ति राष्ट्रप्रमुख ओबामा र पुटिनबीच एक घण्टा लामो वार्ता

 चीन–विश्व अर्थतन्त्रका २० प्रमुख राष्ट्रको समुह ‘जी–ट्वान्टी’ सम्मेलनका सिलसिलामा चीन पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सोमबार भेटवार्ता भएको छ ।

दुई विश्व प्रसिद्ध नेताबीच भएको करिब एक घण्टा लामो भेटवार्ता भएको र यो उनीहरुबीच वार्ताका लागि अपेक्षा गरिएको समयभन्दा लामो बन्न पुगेकोे रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए।

 उनीहरुबीच सिरिया र युक्रेन द्वन्द्व समाधानमा रसियाली तथा अमेरिकी पक्षबाट खेल्न सकिने मध्यस्थ भूमिकाका बारेमा छलफल भएको प्रवक्ता पेस्कोभले बताए । उनले छलफल सकारात्मक रहेको बताउँदै सिरिया र युक्रेनबीच देखिँदै आएको द्वन्द्व छिट्टै समाधान हुनेमा रसिया आशावादी बनेको बताए ।  

यसैबीच, अमेरिकी सञ्चारमाध्यमले ओबामा प्रशासनका अधिकारीलाई उद्घृत गर्दै दुई नेताको वार्ता सिरियामा जारी द्वन्द्व अन्त्य गर्न असफल भएको भए पनि द्वन्द्व अन्त्य गर्ने प्रयास जारी रहने बताएका छन् ।

दुई नेताले आफ्ना उच्च कुटनीतिज्ञलाई छिट्टै (सम्भवत यसै हप्ता) वार्तामा फर्किन आग्रह गरेको दुवै देशका अधिकारीले बताएका छन् ।     रसिया तथा अमेरिकाले सिरिया र युक्रेन द्वन्द्व समाधानका लागि यसअघि पनि पहल गरेका थिए तर उक्त प्रयास सफल हुन सकेको थिएन ।

यसै प्रसङ्गमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुई पक्षबीच अझै धेरै भिन्नता देखिए पनि वार्ताले सफल मोड लिने सम्भावना रहेको बताएका थिए।

चीनको पूर्वी सहर हाङझाउमा आइतबार अमेरिकी विदेशमन्त्री जोन केरी र उनका रसियाली समकक्षी सर्गेइ लाभरोभबीच भएको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान पुनः बस्नेगरी टुङ्गिएको थियो ।

अमेरिकी विदेशमन्त्री केरीले आइतबार राति एक दुई तर जटिल मुद्दाबारे पुनःमूल्याङ्कन गरी सोमबार पुनः भेट्ने योजना भएको बताएका थिए। उनले जटिल मुद्दा के हुन् भन्नेबारे केही बताउन चाहेनन्।

 

प्रकाशित: २१ भाद्र २०७३ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App