८ वैशाख २०८१ शनिबार
खेल

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

रूस – अर्जेन्टिना रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।

अर्जेन्टिना ३ खेलमा ४ अंक जोड्दै उपविजेता बनेको हो। ३ खेलबाटै ९ अंकल जोडेको क्रोएसिया विजेता बनेको छ। पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० को हार व्यहोर्न बाध्य बनेको थियो। अन्तिम समयमा सम्हालिन नसक्दा नाइजेरिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

 नाइजेरीयाले पहिलो खेलमा क्रोएसियासँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा आइसल्याण्डलाई २–० ले हराएको थियो। नाइजेरियाले खेलमा बराबरी गरेको भए अर्जेन्टिनालाई पछि पार्दै अघिल्लो चरणमा प्रवेश गर्नेथ्यो। खेलको ८७ औं मिनेटसम्म अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको नाइजेरियाले ८८ औं मिनेटमा गोल खाएको थियो।

अर्जेन्टिनाका लागि डिफेन्डर मार्कोस रोहोले ८८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको उद्दार गरेका थिए। रोहोले क्रसमा आएको बललाई डि बक्स भित्रबाट सुन्दर गोल गरे। रोहो अर्जेन्टिनाको जितमा नायक बने। यसअघि खेल सुरु भएको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए। इभर बानेगाको पासलाई उनले गोलमा परिणत गरेका थिए। मेस्सीले जारी विश्वकपमा पहिलो गोल गरेका हुन भने प्रतियोगिताको १०० औं गोल पनि मेस्सीकै नाममा रहेको छ।

पहिलो हाफमा मेस्सीले प्रहार गरेको फ्रिकिक पोस्टमा लागेर बाहिरिदा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो। पहिलो हाफमा १–० ले पछि परेको नाइजेरियाले दोस्रो हाफमा भने राम्रो खेल प्रदर्शन गरेको थियो। खेलको ४९ औं मिनेटमा जाभियर मास्चेरानोले डिबक्स भित्र नाइजेरियाका खेलाडीलाई फउल गरेपछि नाइजेरियाले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा भिक्टर मोसेसले सजिलै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

अर्जेन्टिनाले नाइजेरियालाई दबाबमा राखेपनि गोल गर्न ८८ औं मिनेटसम्म कुर्नु परेको थियो। नाइजेरियाले पनि खेलअवधिभर पाएका केहि अवसरलाई गोलमा परिणत गर्न सकेन्। अघिल्लो खेलमा २ गोल गरेका नाइजेरियाका मुसाले अर्जेन्टिनासँगको खेलमा भने सोचे अनुसारको खेल देखाउन सकेनन।

नाइजेरियासँगको खेलमा अर्जेन्टिनाले ५ खेलाडी परिवर्तन गरेको थियो। जसमा गोलकिपर अरामानीले डेव्यु गरे भने गोन्जालो हिग्युन, मिडफिल्डर डी मारिया र इभर बानेगा र डिफेन्डर मार्कोस रोहोले टिममा स्थान बनाएका थिए।  उपविजेता बन्र्दै अघिल्लो चरणमा प्रवेश गरेको अर्जेन्टिनाले अब प्रि क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्स समूह ‘सी’ को विजेता हो। यी दुई टोलीको खेल असार १६ गते हुनेछ। 

प्रकाशित: १२ असार २०७५ २१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App