४ वैशाख २०८१ मंगलबार
विचार

अदुवामा अनपेक्षित अवरोध

पूर्वाञ्चलका मेची र कोसीका कतिपय किसान अदुवा खेतीबाट जीवन चलाउँदै आएका छन्। ती अञ्चलका पहाडी भेगमा उत्पादित अदुवा भारतीय बजारमा अधिक माग हुँदै आएकाले त्यसको व्यावसायीकरणमा मद्दत पुगेको छ। तर, केही समयदेखि नेपाली अदुवाको निकासीमा रोक लागेको छ। बिनाजानकारी निकासी रोकिनाले किसानका बारी, व्यापारीका गोदाम तथा सीमा नाका काँकडभिट्टामा अदुवा कुहिने अवस्था सिर्जना भएको छ। उत्पादनको मुख्य सिजनमा निर्यात प्रतिबन्ध लाग्नु र निर्यात खुल्दा पनि हरेक पटक प्रयोगशालाको रिपोर्ट अनिवार्य माग्नुुले नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार अनिश्चित बन्न पुगेको छ। भारत निकासीको सहजता तथा नेपाली अदुवालाई उनीहरूले उत्कृष्ट मान्नाले नै पूर्वका कतिपय किसानले व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेका हुन्। तर, एकाएक तिनले नेपाली अदुवामा विषादिको प्रयोग ज्यादा भएको बताउनु र प्रतिबन्ध लगाउनुले आशंका जन्माइदिएको छ। त्यति मात्र होइन, ठूला निर्यातकर्ता व्यापारीले नेपालमा चीनबाट अदुवा आयात गरेर त्यसमा नेपाली ट्यागमात्र लगाई भारत निकासी गरिरहेको समेत आशंका जन्मिएको छ। यही कारण भारतले नेपाली अदुवा आयात नियन्त्रण गर्न थालेको बताइएको छ। यसरी नेपाली अदुवा लिन कम गर्न थालिएको भने दुई वर्षजति भएको स्वयं निकासीकर्ता नै बताउन थालेका छन्।

नेपाली अदुवालाई भारतीय टोलीले तीन वर्षअघि उत्पादनस्थलमै गएर 'उत्कृष्ट' भनेको थियो। तर, अचानक कसरी त्यही अदुवा काम नलाग्ने हुन पुग्यो, यसमा हाम्रा आफ्नै व्यापारी र कर्मचारीको भूमिकाबारे पनि खोजबिन हुनु आवश्यक छ। नेपालका पूर्वी क्षेत्र अदुवा उत्पादनका निम्ति प्रख्यात छ। त्यहाँको उत्पादन स्तरीय हुनुका साथै जमिन र हावापानी नै पनि अदुवाका निम्ति उपयुक्त छ। यही कारण देशको कुल उत्पादनको करिब ३१ प्रतिशत अदुवा पूर्वी भेगमा उत्पादन हुन्छ। जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा मेची अञ्चलको इलाममा सबैभन्दा बढी करिब ४६ हजार मेटि्रक टन अदुवा उत्पादन भएको थियो। अदुवा उत्पादनमा इलामका झन्डै १३ हजार किसान लागिपरेका छन् र सोही आवमा करिब सवा दुई अर्ब आम्दानी किसानले गरेका छन्। यसरी अदुवा उत्पादनमा किसान आकर्षित हुँदै जानु र आम्दानी पनि राम्रो हुनुको प्रमुख कारण भनेको अदुवाको सहज निकासी नै हो। भारतमा बढी माग भएका कारण किसानद्वारा उत्पादित अदुवा व्यापारीले खेतबारीमै गएर किन्ने गरेका छन्। अहिले आएर विभिन्न आशंकामा अदुवा बिक्री हुन छाडेपछि किसानको मेहनत खेर जाने खतरा उत्पन्न भएको त छ नै साथमा व्यवसायीको लगानीसमेत डुब्ने अवस्था सिर्जना भएको छ।

भारतीय पक्षले आशंका गरेजस्तै नेपालबाट चिनियाँ अदुवा निर्यात गर्न थालिएको हो भने त्यसमा व्यापारी पक्ष दोषी देखिन्छन्। भारतले चिनियाँ अदुवा मन पराएको पक्कै होइन, तिनले अर्ग्यानिक नेपाली अदुवालाई उत्कृष्ट मानेका हुन्। बिचौलियाले यसरी चीनबाट अदुवा ल्याई नेपाली ट्याग झुन्ड्याएर भारत निकासी गर्नु सरासार बेइमानी हो। यसको नियन्त्रण सरकारले गर्नुपर्छ। होइन, भारतीय पक्षले नचाहिँदो ढंगमा अड्को मात्र थापेको हो भने त्यसको पनि निराकरण तत्काल हुनुपर्छ। पूर्वमा अदुवा व्यापारमा लागेका कतिपय व्यापारी पनि चीनबाट आएको अदुवा भारत निकासी गर्न थालिएकाले निकासी प्रतिबन्धको अवस्था आएको बताउँछन्। ठूला व्यापारी नै दुवै देशका भन्सार कर्मचारीलाई मिलाएर चिनियाँ अदुवा निकासीको सेटिङ चलाइरहेको आरोप पनि सँगै लाग्न थालेको छ। यसको सत्यतथ्य पत्ता लगाउनु आवश्यक छ। यस्तो कामले केही ठूला व्यापारी मोटाउने हुन्, नेपालका साना किसान तथा व्यापारी मर्कामा पर्नेछन्। विगतमा नेपाली गलैँचा, पस्मिना तथा चियामा पनि मिसावटकै कारण देशले ठूलो व्यापारघाटा बेहोर्नुपरेको थियो। नेपालमा उत्पादन हुने अदुवामध्ये ९० प्रतिशतजति भारत निकासी हुन्छ। जब मुलुकमा उत्पादित अदुवा यहाँ खपत हुन नसकी निकासी हुन्छ भने चिनियाँ अदुवा किन आयात गर्नुपर्‍यो? सरकारले यस विषयमा गम्भीर छानबिन गर्न सक्नुपर्छ। अदुवा निकासीबाटै हजारौँ किसानले जीविका चलाउन सकेका छन्। यसको व्यावसायिक सम्भावना अझै वृद्धि हुने देखिन्छ। तर, अहिले आएर विभिन्न बहानामा नेपालमा उत्पादित अदुवालाई बदनाम गर्ने खेल हुन थालेको देखिएको छ। यसको दुई देशीय प्रशासनिक (भन्सारगत) समाधान खोजिनुपर्छ। त्यसबाट पार नलागे राजनीतिक तथा कूटनीतिक समाधान अविलम्ब खोजिनुपर्छ।

प्रकाशित: २१ भाद्र २०७३ ०५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App