कांग्रेसमा गुटसँगै देउवाको भविष्य

मङ्गलबार, २१ भदौ २०७३, ११ : ०९ पुरञ्जन आचार्य

तीन दशकअगाडि कांग्रेस नेता गणेशमान सिंहले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सत्याग्रह आह्वान गर्दा प्रहरीले पक्रिएर केही साथीहरुसँगै म प्रहरी निगरानीमा रहेँ। केही दिनपछि हामी सबै नख्खु जेल पुग्यौ। म र मेरा एकजना सुनसरीका मित्रबाहेक नख्खु जेलमा थुनामा रहेका अधिकांश कांग्रेस कार्यकर्ता गिरिजाप्रसाद कोइराला विरोधी भनी चिनिँदा रहेछन् तिनताका।

नेपाली कांग्रेसमा प्रजातन्त्र पुनर्स्थापना लडाइँ कसरी लड्ने भन्ने विषयमा कांग्रेस नेताबीच मतभेद थियो। गिरिजाप्रसाद राजासँग दूरी बढाउने कुनै पनि आन्दोलन र सत्याग्रह जस्ता कार्यक्रमको विरोधी हुन् भनी कांग्रेसभित्रैकै 'क्रान्तिकारीहरु' उनलाई आरोप लगाउँथे। हामीलाई हेर्ने दृष्टिकोण त्यही लेन्सबाट हुन्थ्यो कांग्रेसमा।  विराटनगरको भएर पनि गणेशमानले आह्वान गरेको सत्याग्रहमा सहभागी भएर जेल परेकामा 'गणेशमानमार्काका सत्याग्रहीहरु' अचम्ममा परेका थिए। एकथरी कांग्रेस त पञ्चायत छिर्न थालेका गिरिजाप्रसादका कार्यकर्ता झुक्किएर सत्याग्रहमा सहभागी भएछन् भनी हामीमाथि कटाक्ष नै गर्थे।

कांग्रेसको एउटा धार जबसम्म कोइरालाको नेतृत्वमा जाँदैन तबसम्म कांग्रेसमा निर्माण भएका साना गुटहरुको औचित्य र सान्दर्भिकता मन्त्री बन्ने र बनाउनेमा मात्र सीमित रहनेछ।

दुई हप्ताअगाडि पुष्पकमल दाहाल सरकारमा कांग्रेसबाट मन्त्रिमण्डलमा सहभागी गराउने नामावलीको टुँगो लगाउने काम कांग्रेस सभापति र संसदीय दलका नेता शेरबहादुर देउवालाई सहज भइरहेको थिएन। मन्त्रिमण्डलमा कांग्रेसको सहभागिता तुरुन्त गराउनुपर्‍यो भनी प्रम प्रचण्डको देउवामाथि दबाब थियो। मन्त्रिमण्डल घोषणाको दुई दिनअगाडि बिहान म देउवा निवास बूढानीलकण्ठ पुग्दा उनको प्रांगणमा मन्त्री हुन चाहने सांसद र तिनका समर्थकको राम्रै भिडभाड थियो। देउवा तनावमा देखिन्थे।

पार्टी सभापति र संसदीय दलमा पराजित कांगे्रेस नेता रामचन्द्र पौडेल पक्षको 'हार्ड बार्गेनिङ' लाई देउवाले व्यवस्थापन गरेर पुग्ने अवस्था थिएन। देउवालाई सभापति र संसदीय दलको नेता बनाउन सहयोग गरेका साना साना गुट पनि 'आफ्नो मान्छे' मन्त्रिमण्डलमा सहभागी गराउन देउवामाथि दबाब दिइबरहेका थिए। यसमा खुमबहादुर खड्कादेखि कृष्णप्रसाद सिटौलासम्मको दबाब देउवालाई थियो।

देउवा संसदीय दल र कांग्रेस कार्यसमितिमा जसरी आफ्नो बहुमत कमान्ड रहन्छ त्यसलाई सहयोग पुग्नेगरी मन्त्रिमण्डलमा सहभागिता गराउन बाध्य थिए। देउवा अबको नौ महिनापछि बन्ने आफ्नो नेतृत्वको सरकार निर्माण गर्दा उनलाई यी दुवै ठाउँमा बहुमत आवश्यक हुन्छ। अर्थात रणनीतिकरूपमा पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलमा अल्पमतमा पुग्ने जोखिम लिन देउवा अहिले तयार छैनन्। प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका मन्त्रीहरु छान्दा पार्टीभित्रका गुटलाई देउवाले सम्बोधन गरे र यही कारण कांग्रेस पार्टी सार्वजनिकरूपमै चार गुटमा विभाजित देखियो।

 गुटबन्दी संस्कृति

राजनीतिक पार्टीको आन्तरिक जीवनमा गुटबन्दीलाई अस्वाभाविक मानिँदैन। विकसित भनिएको जापान, अमेरिका र बेलायतमा पनि पार्टीभित्र गुटबन्दी हुन्छ। भारतमै अहिले शासन गरिरहेको भारतीय जनता पार्टीको 'देल्ही इलिट गुट' लाई पन्छाएर नरेन्द्र दामोदरदास मोदी भारतका प्रधान मन्त्री भएका हुन। भारतमा मोदीको ' विकास एजेन्डा' राजधानी देल्हीबाट होइन गुजरात प्रदेशबाट उल्काझैं भएर भारतभर तरंगित भयो र मोदीलाई प्रम बनाउन देल्हीका भाजपा एलिटहरु बाध्य भए, समर्पण नै गरे। नेपालको राजधानी काठमाडौंको पावर करिडरमा दलाली गरी सधैँ सत्ताको हैकम र हैसियत निर्माण गरेकालाई समाप्त गर्न नेपालमा पनि प्रदेशहरुको निर्वाचन तत्काल गर्नुको विकल्प छैन।  

कांग्रेस पार्टीभित्र हुर्केका गुटहरु सधैँ अनुत्पादक र झमेला खडा गर्नेखालको मात्र हुन्छन् भनी सोच्नु सही हुँदैन। विगतमा गिरिजाप्रसादको नेतृत्वमा राष्ट्रिय मेलमिलाप र पञ्चायती व्यवस्थाको विकल्पको खोजी भइरहँदा त्यसलाई तत्कालीन राजतन्त्रसँग कांग्रेसको सहकार्य भनी बुझिन्थ्यो। तर त्यही समय समानान्तररूपमा गणेशमान र कृष्णप्रसाद भट्टराई देशमा बृहत् राजनीतिक मोर्चा खडा गरी वामपन्थीहरुसँग सहकार्य गर्दै राजा र राजतन्त्रसँग सहकार्य होइन, मुठभेड र दबाबको रणनीति अख्तियार गर्दैै थिए। यी दुवै रणनीतिले कांग्रेसलाई मात्र फाइदा भएन, नेपाली जनता र देशलाई पनि फाइदा भयो। देशमा लोकतन्त्र पुनर्स्थापना भयो र कांग्रेसलाई पञ्चायतमा काम गरेका लाखौँ राजनीतिकर्मी कार्यकर्ताका रूपमा उपलब्ध भयो। 

राजनीतिक पार्टीको आन्तरिक जीवनमा गुटबन्दीले नयाँ नयाँ वैचारिक यात्रा तय गर्न सघाउँछ। जस्तो कांग्रेसले सोच्दै नसोचेको समयमा नरहरि आचार्यले राजाको निरंकुशताविरुद्ध र संघीयताको पक्षमा अभियान चलाए।  भन्न केमात्र खोजेको हो भने व्यक्तिगत महत्वाकांक्षा बिर्सेर  खडा भएका अनेकन् गुटले कांग्रेसमा २००७ साल देखि २०६२–०६३ को जनआन्दोलनसम्म पनि अग्रगामी र प्रगतिशील मार्ग अवलम्बन गर्न सक्यो। कृष्णप्रसाद भट्टराईलगायत कैयन् पुराना नेता र आफ्नै परिवारका सदस्यको इच्छा विपरित गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एक दशकअगाडि कांग्रेसले एमाले र एमाओवादीसँग मिली राजतन्त्रविरुद्ध गरेको आन्दोलन यसको ताजा उदाहरण हो।

कांग्रेसमा गुटगत राजनीतिबारे विचारविमर्श गर्दा यसलाई प्रभाव पार्ने तत्व सुशील कोइरालाको नेतृत्व रहँदासम्म 'प्रवास कांग्रेसी संस्कार' र 'स्वदेश कांग्रेसी संस्कार' र त्यसबाट उत्पन्न कार्यशैली नै बुझ्ने प्रयत्न गरिन्थ्यो । जस्तो प्रवासमा २०२५ सालपछि बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र संघर्ष र २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिई स्वेदश फिर्ता हुँदा यी दुवै घटनामा कांग्रेस कार्यकर्तामात्र होइन, कांग्रेस शीर्षस्थ नेतृत्व नै मानसिक र वैचारिकरूपले विभाजित थियो। बिपीको व्यक्तित्वका कारणमात्र यो मुखरित हुन पाएन। तर बिपीपछि प्रवास नगएका वा भनौँ भारत भूमिमा नबसेका कांग्रेस कार्यकर्ता कोइराला क्याम्पमा खासगरी गिरिजाप्रसाद र सुशील कोइरालाको विश्वासिलो हुन सकेनन्, भए पनि टिकेनन्। किन त्यस्तो हुन्थ्यो भन्ने विषयको गहिराइमा जान अहिले यो लेखमार्फत सम्भव छैन। यद्यपि प्रवास बसेकै केही युवा पनि खुला राजनीतिमा कोइराला क्याम्पको विराधी भएर झण्डा नै बोके। त्यस्तै स्वदेशी ब्रान्डका केही बुद्धिजीवी र कांग्रेस कार्यकर्ता पनि प्रवास संस्कृतिको कांग्रेस धारमा गएर ओत लागे।

केही अपवाद छाड्ने हो भने प्रवासमा बसेका र सधैँ गिरिजाप्रसाद र सुशील कोइरालाको सम्पर्क र आसपास बस्ने कांग्रेस नै २०४६ पछि संस्थापन कांग्रेस भएर लामो समयसम्म पार्टी र सरकारमा अधिपत्य जमाएर बस्यो। तर हालै गठित प्रचण्ड नेतृत्वको सरकारमा प्रवास कांग्रेस संस्कृतिको बीउ पनि भेटिन्न। स्वाभाविक छ, यस्तो हुनुमा देउवा र रामचन्द्र दुवै कांग्रेसभित्र प्रवास संस्कृतिबाट टाढै रहनाले हो भनी सहजै बुझ्न सकिन्छ।

शेरबहादुर देउवाको कांग्रेस नेतृत्वमा उदयसँगै कांग्रेस पार्टीबाट गुटबन्दीको पुरानो ढाँचा समाप्त भएर नयाँ ढाँचा  सिर्जना हुँदैछ भनी अड्कल काट्ने धेरै छन्। यसर्थ  देउवा, पौडेल, खड्का र सिटौला गुटले कांग्रेसमा निरन्तरता पाउला भनी अनुमान गर्नेको कमी छैन। भर्खर बनेको प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा कांग्रेसको सहभागितालाई हेरेर यस्तो अड्कल काटे पनि यो चार गुटको अस्तित्व कांग्रेसमा टिक्ने सम्भावना कमै छ। वस्तुतः कांग्रेसको एउटा धार जबसम्म कोइरालाको नेतृत्वमा जाँदैन तबसम्म कांग्रेसमा निर्माण भएका साना गुटहरुको औचित्य र सान्दर्भिकता मन्त्री बन्ने र बनाउनेमा मात्र सीमित रहनेछ।

भोलिको कांंग्रेस गुट

कांग्रेस पार्टीभित्र भावी दिनमा कस्ता गुट सक्रिय होलान् भनी अहिले अनुमानमात्र गर्न सकिन्छ। यस्तो अनुमान गर्ने सन्दर्भमा वैचारिक गुट वा नेताको कार्यशैलीबाट उत्पन्न संगठित समूहले अब पार्टी गुटको रूप लिने सम्भावना कमै छ। पार्टीको आन्तरिक जीवनमा गुट बन्ने आधार र लेनदेन अब जाति र क्षेत्रबाट निर्धारण हुने अनुमान गर्न सकिन्छ। यद्यपि नेपाली कांग्रेसको नेतृत्वमा लामो समयसम्म बाहुनको वर्चश्व रहेकाले बाहुनहरुकै हालीमुहाली थियो कांग्रेसमा। अहिले झण्डै पहिलोपल्ट सुदूरपश्चिमलाई राजनीतिक क्षेत्र बनाएका क्षत्रीको नेतृत्वमा कंाग्रेस छ र त्यसका असर पनि पार्टी जीवनमा देखिँदैछ।

कांग्रेसमा शेरबहादुर देउवाको नेतृत्वसंँगै पार्टीको नीति निर्माणदेखि राष्ट्र राजनीतिमा क्रियाशील पात्रहरु फेरिए। फेरिएका पात्रहरु फरक शैली र उमेर समूहका छन्। प्रचण्डको सरकारमा कांग्रेसबाट खस क्षत्रीहरुको बाहुल्यता र बाहुनहरुको न्यूनतालाई हेरेरमात्र यो भनिएको होइन। अनि सुदूर पश्चिमबाट उदाएका देउवालाई कांग्रेसमा प्रभावशाली क्षत्री समूहले सहयोग र समर्थन गरेका कारणमात्र कांग्रेसमा फरक शैली भित्रिएको पनि होइन। देउवाले त पार्टी सभापतिमा जित्न मिथिला क्षेत्रको मधेसी भोट नै अत्यधिक पाए।  देउवासँग मधेसी, जनजाति, आदिवासी र युवाहरुको केही अपेक्षा छ। यो अपेक्षा अस्वाभाविक छैन। दुई दशकअगाडि कांग्रेस पार्टीको सभापतिमा आफ्नो दावा गरेदेखि नै उनलाई आदिवासी र जनजाति युवाहरुको बलियो सहयोग र समर्थन थियो। अहिले मन्त्रिमण्डलदेखि कांग्रेस र यसका भातृ संगठनहरुमा नेतृत्व निर्माण गर्दा देउवाले त्यसतर्फ आँखा चिम्लन मिल्दैन। 

कांग्रेसमा कोइराला गुटको पतनसँगै बाहुन वर्चश्वको पनि पतन सुरु भएको देखिन्छ अहिले। यद्यपि कोइराला परिवारका दोस्रो पुस्ता कांग्रेस महामन्त्री छन् भने तेस्रो पुस्ता पनि अब राजनीतिमा सक्रिय भएको सुनिन्छ। यिनैको उत्थानमा कांग्रेसभित्र फेरि बाहुन वर्चश्व आउने सपना पनि पूर्वतिर केही कांग्रेसजन अनुमान गर्दैछन्।  तर नेपाली समाज दक्षिण एशियामा देखिने पारिवारिक विरासतको भावनामा मात्र बग्न रुचाउँदैन होला। फेरि कोइराला परिवारमै पनि विरासतको ठूलो लडाइँ छ र यसलाई चिर्न त्यहीभित्र पनि केही सक्षम व्यक्तिहरु सार्वजनिकरूपमै प्रवास संस्कृति छाडेर खुला र पारदर्शी राजनीति गर्दैछन्, वैचारिक र राजनीतिकरूपले पनि। 

अहिलेको परिवेश र वातावरण हेर्दा भावी दिनमा कांग्रेसभित्र जाति र भूगोलकेन्द्रित क्षेत्रीय गुटहरु निर्माण हुने सम्भावना प्रवल छ। देउवासामु चुनौती यही छ। कांग्रेसभित्र गुट राजनीतिको नयाँ परिभाषा पनि जाति र भूगोलकेन्द्रित भएर अगाडि आउने सम्भावना नकार्न सकिन्न। कांग्रेस पूर्वबाट पश्चिमतिर पुगेको छ। कांग्रेस बाहुन वर्चश्वबाट क्षत्रीमा सरेको छ अहिले। कांग्रेस सभापति देउवाले गम्भीर भएर नसोच्दा कांग्रेसको क्षत्रीकरण र क्षेत्रीयकरणमा तीव्रता आउने खतरा छ। उनको आसपास सक्षममात्र छैनन् सबै महत्वाकांक्षी पनि छन्। भोलिको कांग्रेस गुट जातिआधारित र भूगोलआधारित नहोस् भनी दूरदृष्टि राख्ने काम निसन्देह कांग्रेस सभापति देउवाको नै हो।

अन्त्यमा, कांग्रेस सभापति शेरबहादुर देउवासँग केही दिनअगाडि कुराकानी हुँदा उनले बिपी कोइराला र गिरिजाप्रसादले आफूलाई राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग गरेको बडो गर्वका साथ मलाई सुनाए। तर देउवा आज जहाँ छन् त्यसमा उनैले भन्ने गरेको 'जुँगाको रेखी नबस्दै म कांग्रेस भएँ र लोकतन्त्रको संघर्षमा होमिए' भन्ने वाणी पनि कम महत्वको छैन। जुँगाको रेखी बसेदेखि लोकतन्त्रको संघर्षमा होमिएका देउवाको सोच र दृष्किोणमा कांग्रेसको भविष्य छ, नेपालको भविष्य पनि त्यसैसँग जोडिएको छ।





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad