६ वैशाख २०८१ बिहीबार
समाज

भक्तपुरमा नमुना जग्गा एकीकरण आयोजना सुचारु

भक्तपुर - भक्तपुरमा नेपालकै झल्को दिने गरी जग्गा एकीकरण आयोजना सञ्चालन हुने भएको छ।

एक हजार ६ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको देको–मिवा–इटापाके जग्गा एकीकरण आयोजना पूर्वपश्चिम झन्डै तीन किलोमिटर लामो र उत्तरदक्षिण झन्डै पाँच सय मिटरको दूरीमा फैलिएको आयोजना कार्यालय भक्तपुरले जनाएको छ। पूर्वमा देकोचादेखि वंको जाने पुलसम्मको बाटो, पश्चिममा सल्लाघारी चोकबाट पुरानो थिमि जाने निकोसेरा पुलसम्मको बाटोसम्म, उत्तरमा खसागखुसुग खोला र दक्षिणमा नगरकोट सडकसम्मको बाटोमा फैलिएको यो जग्गा एकीकरण आयोजना हालसम्मकै भक्तपुरको सबैभन्दा ठूलो आयोजना रहेको जनाइएको छ। आयोजनाको जग्गा साविकको भक्तपुर नगरपालिका वडा नं ५, १० र १५ र हालको वडा नं २ र ६ मा रहेको छ।

आयोजनाको काम २०६८ सालदेखि थालिएको हो भने २०७२ माघ २५ मा आयोजना स्वीकृत भएको हो। आयोजनाको सम्पूर्ण काम सुरु भएको मितिले चार पाँच वर्षभित्र सम्पन्न गर्ने योजना राखिएको छ। आयोजनाको काम अन्तर्गत हाल ट्रयाक खोल्ने काम लगभग सकिएको कार्यालयले जनाएको छ। साविक वडा न १५ (क), १५ (ख), १५ (ग) को क्षेत्रमा सडक निर्माणको लागि टेवा पर्खालको निर्माण कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । साथै उतरको खसागखुसुग खोलाको डिलको बाटोको टेवा पर्खाल निर्माण कार्य सम्पन्न भएको छ । साथसाथै साविक कित्ता हटेर एक कित्ता कायम भएको अवस्था रहेको छ। भौतिक निर्माणको कार्यका साथसाथै रिप्लटिंग गर्ने कार्य पनि भइरहेको जनाएको छ।

आयोजनाभित्रका सडक न्यूनतम ६ मिटरदेखि १६ मिटरसम्म चौडाइका छन्। यद्यपि अधिकांश सडक सात मिटरका छन् । आयोजनाभित्र बिनायोजना धमाधम घर बन्ने क्रम सुरु भएकाले व्यवस्थित सहरीकरणका लागि आयोजना सञ्चालन गर्नुपरेको जनाइएको छ । आयोजनाभित्र आयोजना सञ्चालनमा आउनु अघि नै पाँच सय ६० घर भइसकेको आयोजनाको कार्यालयले जनाएको छ। भक्तपुर नगरको दक्षिण खासागखुसग खोलासँग जोडिएको यो आयोजनाको दक्षिणमा १२ मिटरको रिभर करिडोर (तीन लेनको) सडक पनि छ। आयोजनाभित्र विभिन्न ठाउँमा गरेर पाँच प्रतिशत खुला क्षेत्र छाडिएको आयोजनाको कार्यालयले जनाएको छ।

देको—मिवा—इटापाके जग्गा एकीकरण आयोजनाको कार्यालय शहीद स्मृति खेल मैदान भक्तपुरका प्रमुख दिलभक्त जयनाका अनुसार यो आयोजना नेपालकै नमुना आयोजनाका रुपमा सञ्चालनमा छ। ‘आयोजनाभित्र सात वटा चोकयुक्त ब्लक हुनु यस आयोजनाको विशेष व्यवस्था हो,’ आयोजना प्रमुख जयनाले नागरिकसँग भने, ‘जुन अरु कुनै पनि आयोजनाभित्र छैन ।’ भक्तपुर नगरको घनावस्तीको झल्को दिन यस्तो चोकयुक्त गरिएको जयनाले बताए । सानो किता जग्गाधनीलाई थप जग्गा दिनु नपर्ने बनाउन पनि यस्तो गरिएको उनले जनाए।

आयोजनाको अर्काे विषेशता भनेको आयोजनाभित्र विछ्याइएको ढलको निकास सिधै खोलामा नहुनुु हो। बरु ढलको पानीलाई उपचार पोखरी बनाई प्रशोधनपछि मात्रै खोलामा मिसाउने व्यवस्था आयोजनाभित्र छ, जुन अहिलेसम्मका कुनै पनि जग्गा एकीकरण आयोजनाभित्र नभएको जनाइएको छ। यो आयोजनाभित्र ढल उपचार पोखरीमा उपचारपछि र वर्षे पानी मात्रै सिधै खोलामा निकास बनाई निकासको छुटाछुटै व्यवस्था गरिएको छ। आयोजना क्षेत्रभित्रै काठमाडौं उपत्यका खानेपानी लिमिटेड ढल शाखाले उपचार पोखरीको निर्माण गरिरहेकाले यो सम्भव भएको आयोजना प्रमुख जयनाले जनाए।

भक्तपुर जिल्लामा हालसम्म पुराना नगरपालिकाको रुपमा रहेका भक्तपुर र मध्यपुर थिमि नगरपालिकाले मात्रै जग्गा एकीकरण आयोजना सञ्चालन गरिराखेका छन्। नयाँं नगरपालिकाको रुपमा रहेका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नयाँ भएकाले आयोजनाका कामहरु सुरु गर्न भ्याएका छैनन्।

भक्तपुर नगरपालिकाले कमलविनायक, लिवाली र तुमुचो—चोखा—दुगुरे गरी तीन वटा जग्गा एकीकरण आयोजना सम्पन्न गरिसकेको छ भने हाल चालू रहेको यो आयोजना चौथौं हो। उता मध्यपुर थिमि नगरपालिकाले सिन्टीटार, कमेरोटार, मनोहरा गरी तीन वटा आयोजना सकाएको छ भने हाल दिव्यश्वरी जग्गा एकीकरण आयोजना चलिरहेको छ।

प्रकाशित: १२ असार २०७५ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App