coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जेलबाट मुक्त हुन ८३ लाख, जुटाउने चिन्ता

काठमाडौं -- गोरखा, भीमसेन गाउँपालिका–७ की अम्बिका रानामगर आनन्दले सुत्न नपाएको पाँच महिना भयो । आफू मात्र नभई दुई छोरीका लागि पनि उनले खुशी हुने अनेक प्रयास नगरेकी होइनन् । तर, उनका ती सबै प्रयास असफल भइरहेका छन्।

‘छोरीको खुशीका लागि भए पनि भित्री मनको पीडा लुकाउने प्रयास गर्छु,’ उनले भनिन्, ‘तर, जति गर्दा पनि सफल हुन सकेकी छैन । जति पीडा लुकाउन खोज्छु उति बल्झिरहन्छ ।’ अनेक प्रयास गर्दा पनि खुशी हुने कुनै उपाय फेला नपर्दा दिक्दार लागेको उनले गुनासो गरिन् ।वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका पति कुमार रानामगर जेल परेको खबर सुनेदेखि अम्बिकालाई संसार नै अर्कै हो कि भन्ने लाग्न लागिरेको छ ।

पति जेलमा परेको खबर पाएदेखि नै अँध्यारो चेहरा बनाइरहकी अम्बिकाले यतिखेर सहयोगीहरूसँग हात थापिरहेकी छिन् । पतिले कमाएर पठाएको रकमले आफू र छोरीहरूको खर्च जोहो गर्ने योजना बनाएकी उनका अगाडि यतिखेर छोरी र आफ्नो खर्च कसरी जुटाउने भन्ने समस्या त छदैछ । अर्कोतर्फ जेलमा परेका पतिको उद्धार गर्नुपर्ने समस्या थपिएको छ ।

सन् २०१६ को अप्रिल २४ मा कुमारले चलाइरहेको गाडीले साउदी नागरिक घाइते भएपछि त्यहाँको अदालतले सन् २०१७ को सेप्टेम्बरमा करिब ८३ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ

साउदीको अफिफ भन्ने स्थानमा कुमारले चलाएको गाडीले त्यहाँका खालिद अल ओताइवी भन्ने व्यक्ति घाइते भएपछि अदालतले दुई लाख ९४ हजार रियाल (करिब ८३ लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ । यतिखेर अम्बिकालाई सोही रकम जुटाउनु पर्ने समस्याले सताइरहेको हो।

सन् २०१६ को अप्रिल २४ मा कुमारले चलाइरहेको गाडीले साउदी नागरिक घाइते भएपछि सन् २०१७ को सेप्टेम्बरसम्म प्रहरी हिरासतमा रहेका कुमारलाई सन् २०१८ को जुलाइदेखि साउदीको सेन्ट्रल जेलमा राखिएको छ । त्यहाँको अदालतले कुमारलाई रिहा गर्न करिब ८३ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

रोजगारीका लागि साउदी पुगेका कुमारले अदालतले तोकेको रकम दिन नसकेपछि गएको जनवरीदेखि जेलमा सारिएको हो । जेल प्रशासनले अदालतले तोकेको रकम घाइते साउदी नागरिकलाई बुझाउन नसके मृत्युदण्डसमेत हुन सक्ने चेतावनी दिएकाले कुमारको परिवार झन तनावमा परेको छ।

घरको आर्थिक अवस्था निकै कमजोर भएकाले अम्बिकाले सहयोगका लागि त्यो खबर सुनेलगत्तै विभिन्न निकायमा हारगुहार गरिरहेकी छन् । तर, उनका सबै प्रयास असफल भइरहेका छन् । ‘सहयोगका लागि जहाँ जहाँ पुग्छु सबैले सहयोग गर्ने आवश्वासन दिइरहनु भएको छ,’ उनले भनिन्, ‘हामीलाई यतिखेर क्षतिपूर्तिका लागि तिर्नुपर्ने नगद रकम चाहिएको छ ।’

अम्बिकाका अनुसार कुमारले वैदेशिक रोजगारीमा जाँदा लागेको ऋण अझै चुक्ता गरेका छैनन् । ‘वैदेशिक रोजगारीबाट पठाएको अधिकांश रकम गुजारा र छोरीहरूको शिक्षाका लागि सकियो,’ उनले भनिन्, ‘ऋण तिर्न नसक्दा बढ्ने क्रम जारी छ ।’ कुमारलाई जेलमुक्त गराउनका लागि चाहिने रकम संकलन गर्र्ने प्रयासस्वरुप गोरखाबाट काठमाडौं आइपुगेका उनका छिमेकी चित्रकुमार श्रेष्ठले आर्थिक संकलन हुन नसक्ने हो भने उनको (कुमार) जीवन नै खतरामा पर्ने सम्भावना रहेको बताए।

कुमार जेलमा परेपछि अम्बिकाले सिलाइकटाइ गरेर छोरीहरू शिक्षण शुल्क जुटाइरहेको बताइन् । वृद्ध बुवाआमाको अवस्था भने निकै बिग्रिएको उनको भनाइ छ । ‘एकातिर आर्थिक संकट र अर्कोतर्फ छोरा जेलमा परेको पीडाले बुवाआमाको अवस्था निकै कमजोर भइसकेको छ,’ उनले भनिन् ।

कुमारलाई जेलमुक्त गर्न ८३ लाख रुपैयाँ चाहिने भए पनि हालसम्म साढे दुई लाख रुपैयाँ जति मात्र संकलन भएको छ । त्यो रकमबाहेक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कुमारको उद्धारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको श्रेष्ठले बताए ।

कुमारलाई साहुले सवारी चालक अनुमति पत्र नहुँदानहुँदै गाडी चलाउन लगाएको परिवारले बताएको छ । दुर्घटनापछि भने साहुले कुनै वास्ता नगरेको परिवारको भनाइ छ । नेपालबाट जाँदा कुमारले खालिद एसएल कम्पनीमा हेल्परको काम गर्ने सम्झौता थियो । तर, त्यो कम्पनीले हेल्परको साटो ड्राइभरको काममा लगाएको थियो । अम्बिकाले घरको सम्पत्ति बेचेर पतिको उद्धार गर्ने अवस्था नरहेको बताइन् ।

‘घरमा वृद्ध बुवा, आमालाई गुजारा चलाउने सम्पत्ति नै छैन,’ उनले भनिन्, ‘भएको टुक्रेटाक्री जमिन बिक्री गर्ने हो भने उहाँहरू (बुवा, आमा) भोकभोकै हुनुपर्ने अवस्था आउँछ ।’साउदी जेलमा रहेका पतिको उद्धारका लागि सहयोगको याचना गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेकी अम्बिका रानामगर ।

 

प्रकाशित: १२ असार २०७५ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App