coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

हिसाब हराएको मेरो देश

हाम्रा गाउँ–घरतिर भनाइ छ— हिसाब भने’सि पिसाब ! जब परीक्षा आउन थाल्छ अनि गणित पढाउने सरले विद्यार्थीलाई वरिपरि राखेर दुई–चारवटा हिसाब सिकाउँछन् । कक्षा ४ मा पढ्ने २५ प्रतिशत हाम्रा विद्यार्थीले दोहोरो अंक गन्न पनि सक्दैनन् । गणितको परीक्षाको दिन गाउँका स्कुल, विद्यार्थी र सरहरू पीडामा हुन्छन्।मानौँ, यो दिन सबैलाई घाडो भएको छ । नेपाल सरकारले भर्खर प्रस्तुत गरेको राष्ट्रिय पाठ्यक्रम फ्रेमवर्कले कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीलाई हिसाब ऐच्छिक बनाएपछि टन्टै साफ ! किन पढ्नुपर्यो हिसाब ? बेकारमा विद्यार्थीलाई बोझ मात्रै ! तर यो राष्ट्रघाती निर्णयले हाम्रो प्रगति र विकासका लागि दूरगामी रूपमा कति घातक हुन्छ भन्नेबारे सायदै छलफल भएको छ।

यो विज्ञान समूहअन्तर्गत हिसाब हटाएर विश्वकै पहिलो निकम्मा देश बन्ने होडको दौडका लागि स्वागतम् !    

कथा सुरु हुन्छ, विश्व बैंकको सवा खर्ब शिक्षामा दिएको ऋणबाट । सन् २०११ देखि २०१५ सम्म र २०१६ देखि २०२३ सम्मका लागि विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम (पहिले विद्यालय क्षेत्र सुधार  कार्यक्रम) नामको कार्यक्रमअन्तर्गत करिब सवा खर्ब ऋण लगानी गरेको छ ।यो ऋण हामीले तिर्नुपर्छ  । नेपालले लिएको ऋणमध्ये यो पनि निक्कै ठूलो हो । सो कार्यक्रमअन्तर्गत सन् २०१३ र २०१७ मा देशभर कक्षा ८ मा हिसाब, विज्ञान र नेपालीमा गरिएको अध्ययनले नेपालीबाहेक दुवै विषयमा विद्यार्थीको क्षमता घट्दो छ । के गर्ने त ? हिसाब हटाउने अनि यसो सामाजिक शिक्षा जस्तो विषय राख्ने, टन्न विद्यार्थी पास गराउने अनि सबै खुसी !

हिसाबको सट्टा सामाजिक र पञ्चायतको ‘नेपाल परिचय’जस्ता विषय राखिने सो राष्ट्रिय पाठ्यक्रम फ्रेमवर्कमा उल्लेख गरिएको छ । सन् २०१३ को शिक्षा मन्त्रालयले गरेको देशव्यापी अध्ययनले कक्षा ८ का विद्यार्थीमा सोच्ने, तर्कवितर्क गर्ने र संज्ञानात्मक क्षमता अत्यन्त कम भएको देखाएको छ ।

शिक्षा मन्त्रालयका केही उच्च अधिकारीहरूले विश्व बैंकका कर्मचारीले आफ्नो कार्यक्रम लाद्ने र भनेको पैसा नदिने कार्य बारम्बार गरेको बताएका थिए । ११ र १२ मा विज्ञान समूहमा समेत हिसाबलाई ऐच्छिक राख्न विश्व बैंकका कर्मचारीले दबाब दिएको खुलासा गरेका थिए । हाम्रा प्रधानमन्त्री र मन्त्रीलाई यो कुरा थाहा छ कि छैन ?   
 

बीजगणितमा त झन् एकदमै कमजोर छन्, हाम्रा विद्यार्थी । नेपाल सरकारले गत वर्ष विद्यार्थीलाई बोझ भयो भनेर ऐकिक नियम नै हटाइदियो । गत वर्ष नै नेपाली पढ्न–लेख्न गाह्रो भयो भनेर संयुक्त अक्षरलाई खुट्टा काट्नुपर्ने बनाइयो (जस्तै : विद्यालाई विद्‌या लेख्नुपर्ने नियम ल्याइयो) । चिनियाँ भाषामा सामान्य लेखपढ गर्न पनि चार हजार जति अक्षर जान्नुपर्छ, तर बच्चाहरूलाई गाह्रो भयो भनेर चीन सरकारले सजिलो बनाएको सुनेका छैनौँ।

रिपब्लिका दैनिकसँगको कुराकानीमा गत साता शिक्षा मन्त्रालयका केही उच्च अधिकारीहरूले विश्व बैंकका कर्मचारीले आफ्नो कार्यक्रम लाद्ने र भनेको पैसा नदिने कार्य बारम्बार गरेको बताएका थिए।११ र १२ मा विज्ञान समूहमा समेत हिसाबलाई ऐच्छिक राख्न विश्व बैंकका कर्मचारीले दबाब दिएको खुलासा गरेका थिए । हाम्रा प्रधानमन्त्री र मन्त्रीलाई यो कुरा थाहा छ कि छैन ? अनि, गणितज्ञ–अर्थशास्त्रीहरूले नेपालीलाई गणितविनाको व्यर्थशास्त्री किन बनाउन खोजेका हुन्, विचारणीय छ।

के हुन्छ हिसाब हटाएपछि ?
विज्ञान पढ्ने अधिकांश विद्यार्थी डाक्टर, इन्जिनियर वा यस्तै प्राविधिक विषय पढ्न लाग्छन् । अब हिसाब नपढेपछि कसरी पढ्ने भौतिक, रसायन शास्त्र ? अनि हाम्रा उत्पादन त्यसै निकम्मा हुन्छन् । संसारको कुन विश्वविद्यालय वा अनुसन्धान संस्थाले त्यस्ता विद्यार्थीलाई लिन्छ ?

अमेरिका, बेलायत र अन्य विकसित देशमा गएर नेपालीले एकाधबाहेक पढ्ने भनेको विज्ञान हो र यी क्षेत्रमा राम्रो प्रगति पनि गरेका छन् । अंग्रेजी भाषा हाम्रो अलि कमजोर हुने हुनाले हिसाब र विज्ञानमा तुलनात्मक रूपमा भाषा ठीकठाक भए पनि राम्रो गर्न सकिन्छ।अमेरिकामा दक्षिण एसियाली मूलका विशेषतः डाक्टर, इन्जिनियर, वैज्ञानिक छन् र उनीहरू हिसाबमा राम्रो दख्खल भएको भनेर चिनिन्छ । त्यही हिसाब हटाइदिने अनि अलि अलि बाहिर गएर गरिखाने बाटो पनि बन्द, सरकारलाई आनन्द!

अमेरिकामा त्यहाँका विद्यार्थीले (एसटिइएम–स्टेम : विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित) धेरै कमले पढ्ने गरेकाले सो विषय पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने भिसामा समेत विशेष सहुलियत दिने गर्छ । त्यसको फाइदा नेपालीलगायत दक्षिण एसियाली मूलका विद्यार्थीहरूले लिँदै आएका छन् ।अब हिसाब पाठ्यक्रमबाट हटाएपछि नेपाली विद्यार्थी यसै पछि पर्ने प्रस्ट छ । अरबको उखरमउलो गर्मी मरुभूमिमा भेडा चराएर खनखनी पैसा तिरेर आफ्ना बच्चालाई राम्रो पढाएर आफ्नो जस्तै नियति नबेहोरून् भन्ने नेपाली दाजुभाइका सपनालाई बन्चरोले चिराचिरा पार्ने शिक्षा नियम कस्तो ?  

कक्षा १२ पछि एसएटी (स्याट) र स्नातक गरेपछि जिआरई (ग्य्राजुएट रेकर्ड एक्जामिनेसन्स्) दिएर राम्रो नम्बर ल्याउने अनि अमेरिकाको राम्रो कलेज गएर पढ्ने सपना धेरै नेपाली विद्यार्थीको हुन्छ । स्याट र जिआरईमा अंग्रेजी अलि गाह्रो हुने हुनाले नेपाली विद्यार्थीले हिसाबमा राम्रो अंक ल्याएर समग्रमा लोभलाग्दो प्रतिशत ल्याउँछन् । अब ११ र १२ मा विज्ञान समूहलाई हिसाब ऐच्छिक बनाएपछि त्यो प्रगतिमा पनि राम्रै ब्रेक लाग्ने देखियो । छिमेकी मुलुक चीन र भारत गणितमा विश्वविख्यात कहलिएका छन्, हामी भने भएको अलि अलि प्रतिस्पर्धात्मक क्षमता पनि ध्वस्त पार्न उद्यत छौँ ।  
    
हामी रेल, फास्ट ट्रयाक अनि ठूला उद्योगधन्दाको सपना बुन्छौँ अनि त्यसलाई चाहिने मानव स्रोत, क्षमता चाहिँ बिगार्न मात्र खोज्छौँ । चीनबाट रेल ल्याउने अनि त्यसलाई चाहिने इन्जिनियर र अन्य प्राविधिक दक्षता पनि उतैबाट ल्याउने ? प्रधानमन्त्री ओली भन्छन्— चीनको विकट भूगोलबाट रेल ल्याउन ठूलै प्राविधिक चमत्कार चाहिन्छ । तर यता विज्ञानको शिक्षामा चाहिँ हिसाब हटाएर अधोगतिको बिब्ल्याँटो चमत्कार बुझिनसक्नु छ ।

गत वर्षको एसइईको नतिजा हेर्दा ४६.५ प्रतिशतले हिसाबमा डि अथवा इ ग्रेड र ४३.७ प्रतिशतले विज्ञानमा डि अथवा इ  ग्रेड पाएका छन् ।अथवा हाम्रा लगभग ५० प्रतिशत विद्यार्थी हिसाब र विज्ञानमा अत्यन्त कमजोर छन् । अब यसको समाधान के त ? हिसाब हटाउने, ग्रेड सिस्टममा जाने, कसैलाई फेल नगराउने । उता ऋण दिने विश्व बैंक पनि राम्रो नतिजा आएको छ भन्दै मख्ख अनि सरकार पनि शिक्षामा यस्तो व्यापक सुधार भयो भन्दै ढोल पिट्न व्यस्त, तर हाम्रा उत्पादन कहाँ बिक्ने, संसारको प्रतिस्पर्धामा कहाँ हुने हुन् भन्ने चिन्ता कसलाई छ र ?

सरकारको आफ्नै अध्ययनले पनि सरकारी र निजी दुवैमा हिसाबमा विद्यार्थीको क्षमता कमजोर देखाएको छ । शिक्षा मन्त्रालयका अनुसार हिसाबमा लिइएको अन्तर्राष्ट्रिय स्तरको परीक्षामा निजी स्कुलका विद्यार्थीले ५७ प्रतिशत र सरकारीकाले २६ प्रतिशत मात्र अंक प्राप्त गरेका छन् । यी दुवै अंक संसारका अन्य मुलुकका विद्यार्थीको भन्दा धेरै कम हुन् । अझ भोजपुर, प्युठान, इलाम, संखुवासभा, कञ्चनपुर, मोरङ र जाजरकोटका विद्यार्थीको त झनै कमजोर नतिजा छ ।

हामीकहाँ जे कुरा पनि पूर्ण अनुसन्धान र खोज नगरी फ्याट्ट भनिदिने चलन छ । हाम्रो नीति निर्माणमा पनि लगभग त्यही देखिन्छ । कुनै किताब छाप्ने स्वार्थको झुन्ड जान्छ, शिक्षा मन्त्रालय । अनि, आफ्नो स्वार्थ अनुकूल पाठ्यक्रम परिवर्तन गराउँछ । अनि फेरि स्कुललाई पनि गणित शिक्षक ‘पाल्न’ भारी भइरहेको बेलामा त्यो विषय नभएपछि हाईसन्चो ! उता छिमेकीलाई प्राविधिक क्षेत्रमा आफ्नो वर्चश्व कायम रहने । यसरी सबै मिलेपछि देश अनि हाम्रा बच्चाको भविष्य जान्छ भाँडमा । कसलाई सोच्ने फुर्सद?

कताबाट के सिक्ने ?
युरोपका फिनल्यान्ड, नर्वेजस्ता देशमा साना कक्षामा हिसाब, विज्ञान र अन्यलाई एउटैमा मिलाएर पढाइन्छ जसले गर्दा बच्चालाई जीव, रसायन, भौतिकदेखि हिसाबसम्मको व्यावहारिक ज्ञान प्राप्त हुन्छ । कुनै रुखको बारेमा पढ्दा बच्चाले त्यसको हरेक प्रक्रियाको ज्ञान मात्र पाउँदैन, सो रुखभित्रको तन्तुले कसरी काम गर्छन् भन्ने हिसाब पनि सिक्छन् ।

अमेरिकामा अलिक वर्षअघि एमी चुवाद्वारा लिखित ‘ब्याटल हिम अफ द टाइगर मदर’ किताबले खुब बजार पिट्यो । चिनियाँ आमाहरूले कसरी कडाइका साथ आफ्ना बच्चालाई पढ्न वा अन्य क्रियाकलापमा लगाउँछन् र कालान्तरमा ती बच्चाहरू निक्कै सफल पनि हुन्छन् भन्नेबारे सञ्चार माध्यममा खुबै छलफल भयो जुन अमेरिकामा बच्चालाई पढाउने र हुर्काउने तरिका भन्दा निक्कै फरक हो । अमेरिकामा बच्चालाई उसको इच्छा अनुरूप पढाउने र अन्य क्रियाकलाप गराउने चलन छ । तर पछिल्लो समयमा जुन तरिकाले चीन अघि बढ्दै छ, कतै चिनियाँको ‘टाइगर मम’ तरिका त ठीक होइन भन्ने बहस चल्न थालेको छ, अमेरिकामा ।

माओवादीले युद्धताका संस्कृत पढाउने गुरुहरू दिउँसै काटे, संस्कृत शिक्षामै प्रतिबन्ध लगाए तर विश्वका नामुद विश्वविद्यालयमा संस्कृतको पढाइमा व्यापक माग मात्र भएको छैन कि उनीहरूको अनुसन्धानले संस्कृतको घोकन्ते विद्याले मस्तिष्कको सोच्न र सम्झन सक्ने क्षमतामा पनि व्यापक सुधार आउने कुरा पत्ता लगाएका छन् । वैदिक गणितबारे युरोप र अमेरिकामा ठूला अनुसन्धान अहिले पनि जारी छन् तर हामीले त त्यता सोच्यो मात्र भने पनि बाहुनवादको टिका लागिहाल्छ।

हामीलाई चाहिएको शिक्षा र त्यसभित्रको गुदी हामी आफैँले तय गर्ने हो । आजसम्म कनीकुथे अंग्रेजी जानेको, भर्खर पढेर गरिब देशमा अनुभव सँगाल्न आउने विदेशीले जे भन्यो त्यही नीति लागू गरेर हाम्रा कतिपय राम्रा कार्यक्रम पनि रद्दीको टोकरीमा पुगेका छन् ।सयौँ वर्षको इतिहास भएको मुलुकी ऐनको नाम नै फेर्नसमेत लागेकाबाट के अपेक्षा गर्ने ? नाम फेरिदियो अनि भन्यो यो देशको सच्चा इतिहास त हामीले सहयोग गरेपछि पो सुरु भएको !

यो विज्ञान समूहअन्तर्गत हिसाब हटाएर विश्वकै पहिलो निकम्मा देश बन्ने होडको दौडका लागि स्वागतम्!

प्रकाशित: १२ असार २०७५ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App