७ वैशाख २०८१ शुक्रबार
शिक्षा

टहरामा पठनपाठन, त्रासमा विद्यार्थी

काठमाडौं - अरुणा तामाङ रानीपोखरीस्थित भानु मावि (दरबार हाइस्कुल) मा कक्षा ८ मा पढ्छिन्। उनी विद्यालयकी नियमित विद्यार्थी हुन्। उनलाई बिहानको ९ नबजिदिए हुन्थ्यो भन्ने लाग्छ। पढ्न मन नलागेर होइन, भूकम्पले भत्किएको विद्यालयको भवनमुनि बस्नुपर्दा उनलाई कक्षामा जान डर लाग्ने गरेको हो। भूकम्पले विद्यालय भवन भत्किएको तीन वर्ष बितिसक्दा पनि विद्यालय भवन नबन्दा उनी मात्र होइन, मुलुककै पहिलो आधुनिक विद्यालय दरबार हाइस्कुलमा पढ्ने सयौं विद्यार्थी त्रासमा छन्।

‘कक्षामा बस्दा भूकम्पले चर्काएको ठाउँबाट इँटा खस्ला भन्ने डर लाग्छ,’ उनले भनिन् । भवनको अवस्था देख्दा विद्यालय आउनै मन नलाग्ने उनले बताइन्।

भूकम्पले भवन भत्काएको तीन वर्ष बितिसके पनि मुलुककै पहिलो स्कुल दरबार हाइस्कुल र अर्को पुरानो स्कुल पाटन हाइस्कुलका बालबालिका अझै टहरामा पढ्न बाध्य छन्।

२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले दरबार हाइस्कुलको भवन क्षतिग्रस्त बनायो। भूकम्पले धराप बनाएको भवनसँगै अस्थायी सिकाइ केन्द्र (टहरो) बनाइएको छ। अहिले विद्यार्थी तिनै टहरोमा बसेर पढ्दै आएका छन्। उनीहरुले टहरोमा बसेर बढ्दै आएको तीन वर्ष बितिसकेको छ। टहरोसँगै भकम्पले चिराचिरा पारेको अग्लो भवन छ। ‘भूकम्पले भत्काएको भवन देख्दा मनमा डर उब्जिन्छ,’ उनले भनिन्, ‘डर भगाउन शौचालय गयो, त्यसको अवस्था झनै बिग्रिएको छ। शौच गर्न बस्दा बेला इँटा खस्ला भनेर हात टाउकोमा राख्नुपर्छ।’

तामाङका सहपाठी मनोज ढुंगाना पनि विद्यालयमा आउनै मन नलाग्ने बताउँछन्। ‘भूकम्पअघिसम्म कक्षामा पढ्दा हल्ला हुँदैनथ्यो,’ उनले भने, ‘अस्थायी टहरामा नजिकैको कक्षाबोठाबाट आउने हल्लाले पढ्नै सकिँदैन।’

अरुणाकी आमा अञ्जना कजजोर आर्थिक अवस्था भएकाले जोखिम मोलेर छोरीलाई विद्यालय पठाउन बाध्य भएको बताइन्। ‘भूकम्पले भत्किएर धरापजस्तै भएको विद्यालयमा आफ्नो सन्तान पठाउने रहर कसलाई नै हुन्छ र?’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएकाले अन्य विद्यालय फेर्ने हैसियत छैन, त्यसैले त्रासैत्रास भए पनि बाध्य भएर त्यही विद्यालयमा पठाइरहेका छौं।’

भूकम्पपछि विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन छाडेको छ भने शौचालय व्यवस्थित बनाउन सकिएको छैन। भूकम्पले दरबार हाइस्कुलको भवनमा क्षति पुगे पनि बाहिरबाट दक्षिणतर्फमात्र भत्किएको देखिन्छ। तर सबै कक्षाकोठा सुरक्षित नभएपछि विगतमा त्यही भवनमा सञ्चालित संस्कृत मावि पनि अर्कोतर्फ टहरामा सारिएको छ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९१० मा आफ्ना सन्तानलाई अंग्रेजी माध्यममा पढाउन दरबार हाइस्कुल स्थापना गरेका थिए। सुरुमा थापाथलीमा रहेको यो विद्यालय १९४८ सालमा रानीपोखरीमा सरेको हो। यसलाई २०२४ सालदेखि भानु मावि भन्न थालिएको हो। दरबार हाइस्कुलमा भर्ना पाउन कुनै बेला भनसुन चल्थ्यो। तर अहिले विद्यालयमा कक्षा १ देखि १० सम्म गरी जम्मा एक सय ३७ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

दरबार हाइस्कुलका शिक्षक पदमबहादुर बटालाले विद्यार्थीलाई त्रासपूर्ण वातावरणमा पढाउँदै आएको बताए। उनले भने, ‘भूकम्पले क्षतिग्रस्त भवनसँगै टहरामा पढाउँदा विद्यार्थीको मनोविज्ञानमा प्रत्यक्ष असर पारेको छ। यसैले पनि विद्यार्थी संख्या घटिरहेको छ ।’ विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले सरकार र दातृ निकायको ढिलासुस्तीका कारण तीन वर्षदेखि विद्यार्थीलाई टहरामा अध्ययन गराउँदै आएको बताए। उनले भने, ‘दरबार हाइस्कुलको भवन ऐतिहासिक–पुराताŒिवक महŒवको भएकाले पुनर्निर्माणमा उल्झन आएको हो।’ उनका अनुसार अहिले नेपाल सरकार र चीन सरकारबीच पुरानै शैलीमा दरबार हाइस्कुल पुनर्निर्माण गर्ने सहमति भएको छ। ‘अबको केही महिनाभित्रै दरबार हाइस्कुलको पुरानो संरचना भत्काएर नयाँ बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस नजिकै अस्थायी टहरा बनाइरहेका छौं। अबको केही साताभित्रै यहाँका विद्यार्थी अस्थायी टहरामा सारेर पठनपाठन सुरु गर्नेछौं।’ विद्यालय भवन पुनर्निर्माणको जिम्मेवारी चिनियाँ साघाई कन्स्ट्रक्सन ग्रुपले लिएको छ। ग्रुपले भवन भत्काउन आवश्यक तयारी गरिरहेको छ।

राणाकालीन समयमा बनेको ललितपुर पाटनढोकास्थित पाटन माविको अवस्था पनि उस्तै छ। २०७२ सालको भूकम्पले १९ कोठे भवन भत्किपछि १२ वटा अस्थायी सिकाइ केन्द्रमा कक्षा सञ्चालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले बताए। ‘जाडो हुँदा जस्ताबाट शीतको थोपा चुहिन्छ, गर्मीमा जस्ता तातेर प्रचण्ड गर्मी हुन्छ,’ उनले भने, ‘तपाईं आफैं सोच्नुस्, विद्यालयमा पठनपाठनमा कति सकस छ भनेर?

पाटन माविको भवन तत्कालीन राणा जुद्धशमशेरको पालामा १९८१ सालमा निर्माण गरिएको हो। विद्यालयका अनुसार हाल पाटन माविमा आठ सय ५० विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक बज्राचार्यले विद्यालय भवन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गर्ने टुंगो लागेको छ।
भूकम्पलगत्तै विद्यालय भवनको पुननिर्माणको जिम्मेवारी भारतीय जिन्डिल एन्ड स्टिल पावर कम्पनीले लिएको थियो। भारतीय नाकाबन्दीका कारण उक्त कम्पनीले विद्यालय बनाउने जिम्मेवारीबाट पन्छिएको थियो। प्रधानाध्यापक बज्राचार्यका अनुसार टहरामा अध्ययन गर्ने विद्यार्थी र शिक्षक बिरामी हुने गरेका छन्। ‘जाडोयाममा चिसोका कारण अधिकांश विद्यार्थीमा रुघाखोकीको समस्या देखियो,’ उनले भने, ‘गर्मीयाममा भने ज्वरो आउने, टाउको दुख्ने र झाडापखालालगायतका समस्या देखिएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन शिक्षा एकाइको तथ्यांकअनुसार काठमाडौं जिल्लामा भूकम्पबाट करिब दुई सय विद्यालय भवनमा क्षति भएको थियो। हालसम्म ४० प्रतिशत विद्यालय भवन पुनर्निर्माण भइसकेको छ। काठमाडौंमा ३० प्रतिशत विद्यालय भवन निर्माण भइरहेको छ। बाँकी ३० प्रतिशत निर्माण प्रक्रियामा छन्। ललितपुरमा भूकम्पबाट एक सय ८७ विद्यालय भवनमा क्षति पुगेको थियो। हालसम्म ७५ प्रतिशत विद्यालय भवन निर्माण भइसकेको छ।

विनाशकारी भूकम्पले ५९ जिल्लाका नौ हजार विद्यालय भवन क्षतिग्रस्त भएका थिए। प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन शिक्षा एकाइले ३१ जिल्लाका सात हजार नौ सय २३ विद्यालय भवन पुनर्निर्माणको जिम्मेवारी पाएको छ भने बाँकी विद्यालय भवन पुनर्निर्माण शिक्षा विभागमार्फत भइरहेको छ।

प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन शिक्षा एकाइका निर्देशक इमनारायण श्रेष्ठले हालसम्म तीन हजार ६ सय २८ विद्यालय पुनर्निर्माण भइसकेको बताए। ‘सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा विद्यालय पुनर्निर्माणमा समस्या देखिएको छ । ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा निर्माण गर्दा थप समस्या भएको छ।’ उनले आगामी तीन वर्षभित्र भूकम्पले भत्काएका सबै विद्यालय भवन पुनर्निर्माण गरिसक्ने दाबी गरे। एकाइका अनुसार अझैसम्म दुई हजार चार सय २३ विद्यालय भवनको पुनर्निमार्ण कार्य अघि बढ्न सकेको छैन। विद्यालय भवन निर्माणका लागि हालसम्म विद्यालय व्यवस्थापन समितिबाट आठ अर्ब, ठेक्का प्रक्रियाबाट १० अर्ब र विभिन्न गैरसरकारी संस्थाबाट १० अर्ब रुपैयाँ खर्च भइसकेको छ।

नेपाल अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले भूकम्पले भत्किएको जीर्ण भवनमा अध्ययन गराउँदा बालबालिकाको मनोविज्ञानमा असर पार्ने बताए। उनले भने, ‘पठनपाठनका लागि शान्त वातावरण चाहिन्छ। जतिसक्दो छिटो विद्यालय भवन तयार पारेर बालबालिकालाई शान्त वातावरणमा पढाउनुपर्छ।’

प्रकाशित: १२ असार २०७५ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App