८ वैशाख २०८१ शनिबार
समाज

सीमान्तकृत बस्तीमा बाढीको त्रास

सिरहाको कल्याणपुर २ चत्तरी टोलका बाढीपीडित ।तस्बिर : मिथिलेश /नागरिक

सिरहा - पश्चिम सिरहाको कल्याणपुर–२ चत्तरी टोलका पशुपति मुखियालाई बादल मडारिन थालेपछि गत वर्ष बाढीले सताएको सम्झना आउँछ ।

गत वर्ष कमला नदी, लोहजारा र घुर्मी खोलामा आएको बाढी बस्तीमा पस्दा उनका भैंसी, गोरु र बाख्रा बगे । अन्नपात बग्यो । छोराछोरी र आफ्नो ज्यान बल्लतल्ल जोगाए उनले । दुई दिनसम्म बस्ती नजिकको स्कुलमा गएर बस्नुपरेको थियो उनको परिवार । त्यतिबेलाको पीडा सम्झिँदा बसाइँ सर्न मन लाग्ने उनी बताउँछन्।

मजदुरी गरेर छाक जुटाउँदै आएका उनी सुरक्षित स्थानमा जग्गा खरिद गरेर परिवार सार्ने अवस्थामा नभएको दुःख सुनाउँछन् । उनी अहिले बाढीले भत्काएको घर सामान्य मर्मत गरेर बसिरहेका छन् । अन्नपात बगाएपछि परिवार पाल्न निकै दुःख गर्नुपरेको उनले सुनाए ।

स्थानीय ५० वर्षीय मुर्बल मुखियाको दुःख पनि उस्तै छ । १५-२० वर्ष पहिलेसम्म बस्तीमा बाढी पस्दैनथ्यो । केही वर्षदेखि बाढीले नियमित सताउन थालेको उनले बताए । ‘पहिले खोला गहिरो थियो,’ मुखियाले भने, ‘नदी र खोलामा बालुवा थुप्रिएर पानीको सतह बढेपछि बस्ती जोखिममा परेको हो ।’ गत वर्ष यहाँका करिब दुई सय घर डुबानमा परे । केही पीडितले रेडक्रस र जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत राहत पाए । धेरै पीडितले अहिलेसम्म राहत पाएका छैनन् । चत्तरी टोल कमला नदी, घुर्मी र लोहजारा खोलाको सतह बढेर बर्सेनि डुबानमा पर्छ।

बाढी नियन्त्रणका लागि अहिलेसम्म प्रभावकारी कदम चालिएको छैन । ‘नदी र खोलामा मजबुत बाँध बाँध्ने, चुरेमा दोहन नियन्त्रण गर्ने हो भने जोखिम कम हुने थियो,’ स्थानीय राजेन्द्रप्रसाद मण्डलले भने, ‘यो सीमान्तकृत बस्तीमा राज्य÷गैरराज्य कसैले पनि चासो नदिँदा बर्सेनि डुबानको समस्या भोग्नुपरेको छ ।’

रेडक्रसको तथ्यांकमा कमला नदीबाट बाढीको जोखिममा चत्तरी उच्च जोखिममा पर्छन् । चत्तरीसँगै यस क्षेत्रका एक दर्जन टोल बाढीको उच्च जोखिममा छन् । भोक्राहा, चिकना, निर्दना, दोनबारी, बोल्हा, सारश्वर, सारश्वरकट्टी, गमहरिया, बसपिट्टा, कठकोल्बा, कर्जन्हा र सिरहा नगरपालिका जोखिममा छन् । यी टोलका २६८६ घरधुरी बाढीबाट प्रत्यक्ष प्रभावित छन्।

नदी र खोलामा मजबुत बाँध बाँध्ने, चुरेमा दोहन नियन्त्रण गर्ने हो भने जोखिम कम हुने थियो । यो सीमान्तकृत बस्तीमा राज्य-गैरराज्य कसैले पनि चासो नदिँदा बर्सेनि डुबानको समस्या भोग्नुपरेको छ ।’

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दैवी प्रकोप उद्धार समिति प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि चौबीसै घन्टा तयारी अवस्थामा रहेको बताए । ‘सुरक्षा निकायका विशेष टोली, स्थानीय र अन्य संघसंस्थाको सहयोगमा विशेष कार्यदल तयारी अवस्थामा छ,’ पण्डितले भने । प्रशासनले उद्धारका लागि सशस्त्र प्रहरीका ३०–३५, नेपाली सेनाका ३०–३५ र नेपाल प्रहरीका ३०–३५ जना दक्ष उद्धार टोलीलाई तयारी अवस्था राखिएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी सिरहाले १०– १२ जना खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखेको अध्यक्ष राजदेव यादवले बताए । बाढी प्रभावित प्रत्येक क्षेत्रमा तत्काल उद्धारका लागि संयोजक तोकिसकिएको छ । जिल्लास्थित कमला नदी आसपासको तटीय क्षेत्रलाई उच्च जोखिममा राखेर रोकथामका लागि सचेनामूलक कार्यक्रम सञ्चालन भइरहेको यादवले बताए । स्थानीय तहले पनि आआफ्नो क्षेत्रमा विपत् व्यवस्थापन समिति गठन गरेका छन् ।

 

प्रकाशित: १२ असार २०७५ ००:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App