८ वैशाख २०८१ शनिबार
खेल

फ्रान्सको समूहविजेता बन्ने लक्ष्य

मस्को –सुरुआती दुई खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरिसकेको फ्रान्स मंगलबार समूहको अन्तिम खेलमा डेनमार्कको सामना गर्दै जितको लयलाई निरन्तरता दिएर समूह ‘सी’ को विजेता बन्ने लक्ष्यमा हुनेछ।

समूह ‘सी’ मा ६ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ । ४ अंक जोडेको डेनमार्क दोस्रो, १ अंकका साथ अस्ट्रेलिया तेस्रो तथा अंकविहीन पेरू अन्तिम स्थानमा छन्।

डेनमार्कसँग बराबरीको नतिजा निकाले पनि फ्रान्स समूहविजेता बन्नेछ । तर हारले भने फ्रान्स उपविजेतामा खुम्चिनेछ । समूह ‘सी’ को उपविजेताले समूह ‘डी’ को विजेतासँग खेल्नेछ । समूह ‘डी’ मा क्रोएसिया शीर्ष स्थानमा छ । त्यसैले फ्रान्स डेनमार्कको चुनौती समाप्त पार्दै अन्तिम १६ मा क्रोएसियासँगको भेट टार्न चाहन्छ।

‘क्रोएसिया प्रतियोगिताकै उत्कृष्ट लय देखिएको टोली हो,’ फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले भने, ‘तर समूह ‘डी’ बाट अर्जेन्टिना, नाइजेरिया र आइसल्यान्डमध्ये एक उपविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्नेछ । उनीहरूविरुद्धको खेल पनि सहज भने हुने छैन।’

लुज्निकी रंगशालमा हुने खेलमा बराबरी नतिजा ल्याए पनि डेनमार्क समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्नेछ । प्रतियोगिताकै दाबेदार टोलीका रूपमा हेरिएको फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियामाथि २–१ र दोस्रो खेलमा पेरूमाथि १–० को नतिजा निकालेको थियो । एन्टोनी ग्रिजम्यान, काइलियान एम्बाप्पे, ओलिभर जिरौड, पाउ पोग्बाजस्ता स्टार खेलाडी भए पनि फ्रान्सले दुवै खेल जित्नका लागि कठिन संघर्ष गरेको थियो।

‘मेरो खेल दिनप्रतिदिन सुधारिँदै गएको छ,’ ग्रिजम्यानले भने, ‘२०१६ युरोपियन च्याम्पियनसिपमा पनि यस्तै भएको थियो । मैले समूह चरणपछिका खेलमा मात्र लय भेट्टाएको थिएँ ।’जारी विश्वकपमा ग्रिजम्यानले एक गोल गरेका छन् । युरोपियन च्याम्पियनसिपको समूहचरणका खेलमा पनि उनले २ गोल मात्र गरेका थिए । तर दोस्रो चरणका खेलदेखि लयमा देखिएका उनी ६ गोलका साथ प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका थिए।

विश्वकपको पाँचौं सहभागितामा चौथो पटक नकआउट चरण प्रवेश गर्ने लक्ष्यमा रहेको डेनमार्कका लागि युसुफ युरारी पाउलसेन र विलियम भिटाभेड किस्टको अनुपस्थिति चिन्ताको विषय बनेको छ । समूहको पहिलो खेलमा पेरूलाई १–० ले पराजित गर्दा निर्णयक गोल गरेका पाउलसेनले उक्त खेलका साथै अस्ट्रेलियाविरुद्धको खेलमा पनि पहेँलो कार्डको दर्शन गरेका कारण फ्रान्सविरुद्धको खेलमा मैदानबाहिर रहनेछन् भने किस्ट करङको चोटका कारण मैदानबाहिर छन्।

प्रकाशित: १२ असार २०७५ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App