८ वैशाख २०८१ शनिबार
अन्य

छुटेको भन्दै झण्डै १ लाख ६० हजार भूकम्प पीडितको निवेदन

सिन्धुपाल्चोक–प्रधानमन्त्री पुष्पकमल दाहालले लाभग्राहीको सूचीमा छुटेकाको नाम छिट्टै संकलन गर्ने बताइ रहँदा जिल्ला–जिल्लामा भने भूकम्प पीडितका गुनासा बढेको बढ्यै छन्। छुटको पुनः लगत संकलन गरी लाभग्राहीमा समेट्न ठूलो संख्यामा गुनासो फारम संकलन हुने क्रम जारी छ ।
संकलित गुनासाको संख्यालाई हेर्दा भूकम्प प्रभावित जिल्लाका गाउँमा खटिएका प्राविधिकको कमजोरीले धेरै पीडित सुविधा पाउनबाट बञ्चित छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही सातायता पीडितसँग अनुदान सम्झौता र पहिलो किस्ता अनुदानलाई तीव्रता दिँदा उल्लेख्य गुनासा संकलन भइरहेका छन्।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ती जिल्लाबाट १ लाख ५९ हजार ५ सय ४७ गुनासा संकलन भइसकेका छन् ।

 

प्राधिकरणले अनुदान सम्झौतासँगै गाविस र नगरपालिकामार्फत छुटेका पीडितको गुनासो फारम संकलन गरिरहेको छ। सर्वेक्षण गर्दा अनुपस्थित भएर छुटेका, लगत संकलन भएपनि प्राविधिक त्रुटीले लाभग्राहीको सूचीमा नअटेका, सुकुम्वासीलगायत कानुनी जटिलताले भूकम्प पीडितको सुविधाबाट बञ्चित भएकाहरुलाई प्रक्रियामा ल्याउन गुनासो फारमका साथ निवेदन दिने व्यवस्था मिलाइएको थियो।
ललितपुरसहित मुख्य प्रभावित १२ जिल्लामा क्षतिको लगत संकलन गरेर अनुदान सम्झौता गरिरहँदा डेढ लाखभन्दा बढी गुनासा संकलन भएका छन्।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ती जिल्लाबाट १ लाख ५९ हजार ५ सय ४७ गुनासा संकलन भइसकेका छन् ।  अनुदान सम्झौता भर्खर दुई तिहाइ मात्र सकिएकाले गुनासा अझै बढ्ने देखिन्छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले भत्काएका करिब ८ लाख व्यक्तिगत घर बनाउनु पर्ने अनुमान गर्दै आएको छ। काठमाडौं उपत्यका बाहेक अतिप्रभावित ११ जिल्लामा क्षतिको लगत संकलनबाट ५ लाख ३१ हजार ९ सय ६४ लाभग्राही पहिचान भइसकेको छ। लाभग्राहीमध्ये दुई तिहाइसँग अनुदान सम्झौता गरी आधाभन्दा बढीलाई पहिलो किस्ता अनुदान निकासा दिँदा पीडितका गुनासा अझै सुनुवाइ हुन सकेको छैन।

मकवानपुर जिल्लाबाट सबैभन्दा बढी २५ हजार ६ सय ७ गुनासा संकलन भएका छन् । भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका दुई नगरपालिकासहित ६२ गाविसमा अनुदान सम्झौता भइसक्दा १३ हजार १ सय ५३ गुनासा संकलन भइसकेको छ । आठ गाविसमा सम्झौता र गुनासा संकलन जारी छ । दोस्रो क्षतिग्रस्त जिल्ला दोलखामा १९ हजार ३ सय ३१ गुनासा संकलन भएका छन् । गुनासो दर्ता गराउनेमा यो जिल्ला तस्रोमा छ।

गुनासा दर्ता गराउनेमा कम क्षति अनुमान गरिएको काभ्रे दोस्रो र सिन्धुली चौथो छन्। त्यहाँ क्रमशः २१ हजार ४ सय २६ र १८ हजार ७ सय २ गुनासा संकलन भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। भूकम्पको केन्द्र गोरखामा १५ हजार ६ सय ३५ गुनासा दर्ता भएका छन् । धादिङमा १४ हजार ९ सय १५, राखेछापमा १३ हजार ३ सय ५, नुवाकोटमा ९ हजार ५ सय ५०, आखलढुंगामा ५ हजार ९ सय ५१ र रसुवाबाट १ हजार ३ सय १० गुनासा परेका छन्।

केही दिनदेखि सम्झौता थालिएको ललितपुरबाट ६ सय २ गुनासो दर्ता भएको देखिन्छ। ‘गुनासाउपर कुनै प्रक्रिया अघि बढेको छैन,’ मुख्य प्रभावित सिन्धुपाल्चोकमा गुनासा व्यवस्थापनबारे जानकारी दिँदै प्राधिकरण विशेष सम्पर्क कार्यालय प्रमुख भुवनेश्वर लामिछानेले भने, ‘गुनासा कम्प्युटरमा व्यवस्थित गर्ने काम भइरहेको छ।’

सिन्धुपाल्चोकका सांसद प्रतिनिधिको संयूक्त मण्डलबाट आइतबार ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले छुट भएका भूकम्प पीडितको नाम संकलनका लागि आफूले प्राधिकरालाई निर्देशन दिइसकेको बताएका थिए ।
प्राधिकरणले छुट भएका पीडितलाई सम्बोधन गर्न यसअघि नै निर्देशिका बनाइ सकेको छ । निर्देशिकामा स्थानीय स्तरबाट सम्बोधन हुन सक्ने गुनासा जिविस र नगरपालिका तथा त्यहाँ हुन नसक्ने गुनासा क्षेत्रीय कार्यालय हुँदै प्राधिकरणबाट सम्बोधन हुने उल्लेख गरिएको छ ।

 

प्रकाशित: २१ भाद्र २०७३ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App