७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सुन्तलाबारीमा क्यानोनिङ् (फोटो फिचर)

तस्बिरहरु : भुपाल कुमार गुरुङ ।

स्याङ्जा– खाल्टे रह र बसन्ती रह क्रमशः ३५ मिटर र ५५ मिटर उचाईमा रहेका छन्। दुवै रहमा झरनाबाट पानी झर्झर गरिरहेछ। प्रशिक्षक राजेश तामाङ, रत्न तामाङ, गोविन्द गुरुङ र दावा तामाङ प्रशिक्षार्थीलाई प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षार्थी पूर्ण बहादुर गुरुङ, गोबिन गुरुङ, वीरेन्द्र गुरुङ, डेनी गुरुङ, कृष्ण खनाल, नारायण खनाल, सागर खनाल, मोहनीलाल खनाल र प्रवीण खनालले वेट सुट, हर्नेस्ट, हेल्मेट, जुत्ता र नाइलनको डोरी लिएर तयारी अवस्थामा छन्। यो दृश्य वालिङ नगरपालिका–४ सुन्तलाबारी होमस्टेको हो। जहाँ, नेपाल क्यानोनिङ् एशोसिएसनले प्रशिक्षण दिइरहेका छन्। 

डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानी खेलिने जोखिमपूर्ण तथा साहसिक खेललाई छाँगावरोहण (क्यानोनिङ्) भनिन्छ। सुन्तलाबारी होमस्टे (घरबास) मा आउने पाहुनाका लागि अब क्यानोनिङ्को समेत अनुभव, मज्जा लिन पाउन भएका छन्। पर्यटकको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएको हो। गाउँमा आउने पर्यटकका लागि क्यानोनिङ्सहितको तीन दिने प्याकेज बनाएर होमस्टे योजनालाई अझै प्रभावकारी बनाउन होमस्टे सञ्चालक लागि परेका हुन्। सोही अनुरुप होमस्टेमा पहिलो पटक क्यानोनिङ्लाई उच्च प्राथमिकतामा राखी सञ्चालनमा ल्याइएको हो। 

होमस्टे स्थलदेखि करिब ३० मिनेटको दुरीमा दुई ओटा क्यानोनिङ स्थल निर्माण गरिएको छ। माथिल्लो बसन्ती रह र तल्लो खाल्टे रह हुन्। होमस्टेमा आउने पाहुनाको बसाई लम्ब्याउनुका साथै अन्य होमस्टेमा भन्दा फरकपन दिनका लागि क्यानोनिङ् क्यानोनिङ्लाई प्राथमिकता राखिएको सुन्तलाबारी होमस्टे सञ्चालका समिति अध्यक्ष क्याप्टेन डिल विक्रम गुरुङले जानकारी दिए। साहसिक पर्यटनका रुपमा विकास हुदै गएको छाँगावरोहण (क्यानोनिङ्) मा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने उद्देश्यले निमार्ण गरिएको गुरुङले बताए। ‘क्यानोनिङ शतप्रतिशत सुरक्षित तर साहसिक खेल हो। खाल्टेमा गरिने क्यानोनिङ पुर्ण रुपमा खतरामुक्त छ,’ गुरुङले भने, ‘साहसिक पर्यटनलाई सुन्तलाबारीमा स्वागत गर्नका लागि क्यानोनिङ् निर्माण गरेका हौं।’ युग साहसिक पर्यटनतर्फ लम्किँदै गएको बताउदै गुरुङले भने, ‘सुन्तला खाँदै क्यानोनिङ् गर्ने हो।’ युवा, महिला तथा बालबालिकालाई लक्षित गरी छुट्टाछुट्टै दुई स्थलमा बनाइएको उनले जानकारी दिए। 

साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशी पर्यटकका लागि क्यानोनिङ् निर्माण गरिएको सञ्चालक मोहनी खनालले बताए। साहसिक एवं मनोरञ्जनात्मक खेलका रुपमा क्यानोनिङ परिचित हुँदै गएको बताउँदै सुन्तलाबारीको सुन्तलासँगै क्यानोनिङ्को मज्जा बेग्लै पाउनेछ। ‘पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ् खेलको विकास गर्न सके हजारौं पर्यटक आउछन्,’ खनालले भने, ‘सरकारले पर्यटनमा स्पष्ट नीति तथा कार्यक्रम ल्याउन जरुरी छ।’ स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ युवा पुस्ताका लागि पर्वतीय पर्यटन, आधुनिक पर्यटन र साहसिक गन्तव्यको नयाँ विधाका रुपमा नेपालमा स्थापित भैसकेको खनालको दाबी छ। प्रायः युवा पुस्ताले खेल्ने भए पनि बालबालिका र बृद्धबृद्धाले यसको दृश्यावलोकनका लागि उत्तिकै उत्साहित हुने उनको तर्क छ। 

होमस्टेमा सञ्चालित क्यानोनिङ्को प्रचारप्रसार गर्न सके होमस्टेबाट धेरै फाइदा लिन सक्नुका साथै यहाँका युवाहरु रोजगारी बन्न सक्ने बताउछन् स्थानीय युवा डेनी गुरुङ। ‘एउटा डोरीको भरमा छाँगाबाट झर्दा, झरेको सुन्दा र देख्दा कठिन देखिए सुनिएपनि आनन्दको खेल हो क्यानोनिङ,’ गुरुङ्ले भने, ‘तर, खेलेको हेर्दा र आफैले खेल्दाको मजा बेग्लै हुन्छ।’ साहस हुनेले आफैं झरनाको शिरबाट डोरीको सहायताले फेदी, दह, किनार सम्म रमाउँदै झरेर मनोरञ्जन लिने उनले बताए। मनमा डर पाल्नेले अरुले मनोरञ्जन लिएको चित्त बुझाउनुपर्ने उनको दाबी छ। 

क्यानोनिङलाई थप व्यवस्थित र प्रचारप्रसार गर्नका लागि आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट विनियोजन गरिएको वडा नम्बर चारका अध्यक्ष रनध्वज गुरुङले जानकारी दिए। ‘सुन्तलाबारी यहाँको पहिचान हो,’ गुरुङले भने, ‘सुन्तलाबारीलाई विश्वमा चिनाउन आवश्यक सहयोग हुन्छ।’ क्यानोनिङ् लगायत साहसिक खेलहरु रकक्लाम्बिङ, प्याराग्लाइडिङको विकासले मात्र ग्रामीण भेगको पर्यटन दिगो हुनसक्ने उनको तर्क छ। 

होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यकका लागि सुन्तलाबारीको बगैँचा घुम्नु प्रमुख आकर्षकको केन्द्र हो। १३ वटा घरमा घरबासको व्यवस्था गरिएको छ। सुन्तलाबारीमा होमस्टेमा करिब १६ हजार सुन्तलाका बोट छन्। त्यहाँका किसानले वार्षिक दुई लाख देखि १० लाखसम्म सुन्तला बिक्री गरेर कमाउँछन्। होमस्टेमा आउने पाहुनालाई स्थानीय उत्पादन तरकारी, फलफूल, दुध, दही, मही, भात, ढिँडो, मकै, रोटी र गाउँमै उत्पादित कुखुरा र खसीका मासु खुवाइन्छ। स्थानीय लोक संस्कृति, सालैजो, यानीमाया, झोरा, मारुनी, झ्याउरे, सोरठी र भजन चुटकामा पर्यटकलाई नचाएर मनोरञ्जन प्रदान गर्छन्।

पर्यटकको चाहना अनुसार २ वा ३ दिने प्याकेजको व्यवस्था मिलाइएको छ। क्यानोनिङको यातायात शुल्क बाहेक ३ हजार रुपैयाँको प्याकेज र होमस्टेमा एक रातको प्याकेज एक हजार रुपैँया पर्दछ। पर्यटकको चाहना अनुरुप हाइकिङ, पैदल यात्रा, कान्छी मनकामना, शिवको मन्दिर, करिब चार सय बर्ष पुरानो सिमलको बोट, पुंलुडाँडाको क्वाइवो धीँ, बुढाकोट डाँडामा निर्मित भ्यू टावर लगायतको दृश्यावलोकन गराइने व्यवस्था मिलाइएको छ। 

कसरी पुग्ने

काठ्माडौं–होमस्टे २०० किमी। पोखरा–होमस्टे ६० किमी।  बुटवल–होमस्टे १०० किमी छ। रामबाच्छा–त्रियासीबाट ८ किमी। रामबाच्छाबाट दिउँसो र साँझको समयमा महेन्द्र बोलेरो जीप छुट्छ। पैदल यात्रीका लागि रामबाच्छा–त्रियासीबाट करिब दुई घण्टा लाग्छ। 

प्रकाशित: ११ असार २०७५ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App