कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्छ?

सोमबार, ११ असार २०७५, ०९ : २० उषा हमाल

2357


काभ्रे जिल्लाको कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी आफ्नो लामो अवधिको सेवाबाट निवृत्त हुनुभयो। उहाँको बिदाइ समारोहमा जनसागर उर्लियो। उहाँँलाई फूलमालाले सुशोभित गराएर अबिर जात्रा गर्दै पञ्चे बाजागाजाका साथ विशाल जनसागरले धुलिखेलस्थित उहाँको निवासमा पु-याएर फर्कियो।

लगभग यसै समयमा शिक्षा मन्त्रालयबाट कुनै एक जना शिक्षा सचिव सेवा निवृत्त हुनुभयो। उहाँँको बिदाइ समारोहमा मन्त्रालयका केही कर्मचारी एउटा हलमा उपस्थित भए। उहाँँलाई माला खादा पहि-याए र शुभकामना व्यक्त गर्ने औपचारिकता निभाए। उहाँँ चढ्ने गरेको गाडीमा घरसम्म पु-याउने सदाशयता देखाइयो।

सुनिँदै आएको छ, शिक्षण पेसाको मर्यादा घट्यो। शिक्षण पेसा अपमानित हुँदै गइरहेको छ । तर उल्लिखित बिदाइ समारोहका फरक ढाँचाहरूले यो कुराको पुष्टि गर्दैनन् । त्यसो त सबै शिक्षकहरूले रामप्रसाद अधिकारीकै जस्तो सम्मानजनक बिदाइ पाउँछन् भन्ने पनि होइन । यो उहाँँले आजीवन कर्तव्यनिष्ठ र इमानदार भई गरेको शिक्षण तथा समाजलाई दिएको योगदानको कदर थियो । तर कुरा के पनि हो भने शिक्षा सचिव जस्तो उच्च तथा मर्यादित ओहोदामा बसेर जति नै इमानदारी साथ पदीय दायित्व पूरा गरेर राष्ट्रसेवा गरेका व्यक्तिले पाउने बिदाइ समारोह त्यति नै हो जति यहाँ सेवा निवृत्त भएर जाने शिक्षा सचिवले पाउनु भएको थियो । यसैबाट बुझ्न सकिन्छ– के हो शिक्षण पेसाको मर्यादा।

अहिले विद्यार्थीलाई नैतिक शिक्षा दिइँदैन । त्यसकारण शिक्षकलाई विद्यार्थीले गर्ने सम्मानको भावना हराउँदै गएको छ भन्ने भनाइ छ । कुरा त्यसो पनि होइन । नैतिक शिक्षाको पाठ घोकाउँदैमा कोही पनि विद्यार्थी निहुरमुन्टी न बनेर शिक्षकको गोडा ढोग्न आउनेवाला छैनन् । शिक्षक विद्यार्थीका अगाडि कसरी प्रस्तुत हुन्छन्, त्यसमा नै शिक्षकले विद्यार्थीबाट पाउने आदरभाव निर्भर गर्छ । अहिलेका शिक्षकहरूले आफ्ना विद्यार्थीलाई आँखामा आँखा जुधाई तर्क गर्न सक्ने बनाउनु पर्छ, आफ्ना अगाडि पर्दा शिर झुकाउने विद्यार्थी बनाउने होइन । शिर झुकेका विद्यार्थीबाट शिक्षकले आदर पायौ“ भन्ठान्नु ठूलो भ्रममा पर्नु हो।

हाम्रो पूर्वीय दर्शनमा भनिएको छ– लालयेत पञ्च वर्षानि, सोड वर्षानि ताडयेत । हाम्रो शिक्षण शैली विद्यार्थी तह लगाउने यस पूर्वीय मान्यताबाट प्रभावित हुनु आजको समयमा घातक सिद्ध हुन जान्छ। ताडयेत अर्थात् सजाय शब्दलाई हामीले हाम्रो शिक्षण पेसाको शब्दकोशबाटै हटाउने बेला आइसकेको छ। त्यो समय थियो, जतिबेला गुरुहरू सजायलाई शिक्षणको प्रभावकारी उपाय ठान्थे र कक्षा कोठाभित्र पस्दा सधैँ उनीहरू हातमा छडी बोक्थे । तर यो गुरु होइन, शिक्षकको समय हो । शिक्षकले कक्षा कोठाभित्र पस्दा हातमा छडी होइन पाठयोजना र शैक्षिक सामग्री बोक्ने बेला हो यो । सक्षा कोठामा शिक्षकहरूले भूमिका सहजकर्ताको हुनु आवश्यक छ । विद्यार्थीको रुचि र सिकाइलाई व्यक्तिगत विभिन्नताको आधारमा जगाइदिने काम शिक्षकको हो।

यो बालमैत्री शिक्षणको समय हो । त्यसैले कक्षाकोठा वातावरण त्रासमय होइन, प्रेममय हुनु आवश्यक छ। विद्यार्थीलाई शिक्षकहरूले मित्रवत् व्यवहार गर्ने बेला आएको छ किनभने प्राचीन गुरुकूल प्रणलीमा ज्ञानको स्रोत शिक्षक मात्र थिए । शिक्षकले आफूले दिएको ज्ञानको आधारमा मात्र विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन गरे पुग्थ्यो । तर अब ज्ञानको स्रोत शिक्षक र निर्धारित पाठ्यक्रम मात्र ज्ञानको स्रोत रहेनन्। बजारमा पाठ्यक्रमसँग सम्बन्धित नै पनि अनेक पुस्तक उपलब्ध छन् । टेलिभिजन, इन्टरनेट र सामाजिक सञ्जालहरू उपलब्ध छन् । विद्यार्थीहरूले समकक्षी सिकाइबाटै पनि अनेक कुरा सिक्न सक्छन् । त्यसकारण शिक्षक मात्र अब ज्ञानको स्रोत रहेनन् । अब शिक्षकको काम रटाउनु होइन, सहजीकरण गर्नु हो । जानकारीका ज्ञानका स्रोतहरूको जानकारी दिनु हो । ज्ञानको स्रोत म मात्र हुँ भन्ने सोचाइ राख्दा शिक्षकहरूले विद्यार्थीबाट आफूले पाउने आदर गुम्ने स्थिति मात्र सिर्जना हुन सक्छ।

आचार्य रजनीश ओशोले आधुनिक शिक्षाबारे भन्नुभएको छ– प्राचीन समयमा गुरु र शिष्यबीच ठूलो दूरी थियो । त्यो के कारणले भने चेलाहरूलाई दिने ज्ञान गुरुसम्म मात्र सीमित थियो । गुरुहरूलाई शिष्यलाई दिने ज्ञान आर्जन गर्न ठूलो कसरत गर्नुपथ्र्यो । शिष्यहरू गुरुलाई ज्ञानको भण्डारका रूपमा स्वीकार्थे र उनीहरू गुरुलाई त्यसैअनुरूप आदर गर्थे । तर अब गुरु र शिष्यबीचमा एक घण्टाको मात्र दूरी छ । एक घण्टा अगाडि गुरु इन्टरनेटबाट ज्ञान लिन्छ र एक घण्टा पछाडि कक्षा कोठामा त्यो ज्ञान हस्तानान्तरण गर्छ।

यसबाट हामीले बुझ्नुपर्ने कुरा के हो भने शिक्षक–विद्यार्थीको सम्बन्ध अब प्राचीन समयको गुरुकुल प्रणालीका गुरु शिष्यको जस्तो रहेन । अबको स्थिति के हो भने जति बढी शिक्षकहरू विद्यार्थीसँग नजिक हुन सके त्यति बढी आदरणीय हुन्छन् । शिक्षक–विद्यार्थीबीच जेनेरेसन ग्याप हुनै भएन । कुनै पनि एक विद्यार्थीले आफ्ना समस्या शिक्षकसँग खुलेर भन्न सकून् र शिक्षकले उनका समस्याहरू सुल्झाउने प्रयत्न गरून् तब मात्र ती शिक्षक आदरणीय बन्न सक्छन् । नभए विद्यार्थीले अनेक निक नेमले शिक्षकलाई पछाडिबाट अपमान गर्न थाल्छन्।

यो समयमा मिडिया यति धेरै सक्रिय छ कि एक जना शिक्षकबाट पिटाइ खाएको बच्चाको फोटो क्षणभरमै संसारभर भाइरल हुन्छ । केही दिनअघि मात्र विद्यार्थीका अगाडि कक्षा कोठामा निदाइरहेका शिक्षकको फोटो फेसबुकमा आएको थियो । फोटोको क्याप्सनमा लेखिएको थियो– जनताको करबाट तलब खाएका शिक्षकको ताल हेर्नुहोस् । यो फाटोमा आनेक कमेन्टहरूमा व्यक्ति शिक्षकलाई होइन शिक्षक वर्गलाई नै बदनाम गर्ने अभिव्यक्तिहरू आएका थिए । सोसल मिडियाहरूमा सकारात्मक भन्दा बढी नकारात्मक सन्देशहरू प्रवाह गरिन्छनन् । आम मान्छेहरूको ध्यान पनि यस्तै नकारात्मक सन्देशहरूले बढी आकर्षित गर्छन् । शिक्षकहरूका राम्रा अभ्यासहरूले मिडियामा ज्यादै थोरै मात्र ठाउँ पाउने गरेका छन्।

समाजमा राजनीतिक वैचारिकताको विभाजन चर्को छ । शिक्षक कुन पार्टीका, विद्यार्थी कुन पार्टीका यसैमा शिक्षकको कामको गुणस्तर निर्धारण हुन्छ । शिक्षक र विद्यार्थीको पार्टीगत मिलोमत छ भने ती शिक्षकको शिक्षणजस्तै गुणस्तरहीन भए पनि ठीक हुन्छ । उसको विरोध पनि हुँदैन । पार्टीगत मिलेमतो छैन भने ती शिक्षकको काम जति राम्रो भए पनि पत्रुमा गनिन्छ । ती शिक्षक पढाउनै नजान्ने स्वाँठमा गनिन्छन्। विशेष गरी यो स्थिति कलेज र विश्वविद्यालयहरूमा देखिन्छ । राजनीतिक गोत्र नमिलेका शिक्षकहरूका कक्षा बहिष्कार गरेर हतोत्साही गर्ने चलन प्रशस्त देखिन्छन् । शिक्षकको मर्यादाको मापदण्ड उनको इमानदारी र कर्तव्यनिष्ठतामा नभएर उनले भिरेका राजनीतिक ट्याग भइदिएपछि कहाँ पुग्यो त शिक्षण पेसाको मर्यादा?

शिक्षण पेसाप्रति अब्बल जनशक्तिको आर्कषण किन बढिरहेको छैन ? यो पनि सोचनीय प्रश्न छ । यसको मतलब जति पनि जनशक्ति शिक्षण पेसामा छन् ती जनशक्तिमा गुणस्तर छैन भन्ने पनि होइन । भरखरै एउटा अलि सोचनीय जानकारी आएको थियो । मधुबाला (नाम परिर्वतन ) ले एक दिन मसँग गुनासो गर्नुभयो– लेटर ग्रेडिङ सिस्टमको परिणामअनुसार एसइईमा विद्यार्थी फेल हुँदैनन् र केही विषयमा अनुत्तीर्ण नै भए पनि कुनै न कुनै विषयमा उच्च शिक्षा पढ्न उनीहरू रोकिनु पर्दैन भन्ने बुझेकी मधुबालाले केही विषयमा कम अंक ल्याएको छोरालाई एघार कक्षा भर्ना गराउन लानु भएछ । उहाँँको छोराले अन्तिम अवस्थामा सबभन्दा तल्लो स्तरको मानिएको शिक्षा विषयमा भर्ना पायो रे । यसरी विद्यार्थी उत्पादन गर्ने शिक्षा विषयलाई यसरी तल्लो स्तरमा राखिदिएपछि कसरी गुणस्तरीय शिक्षाको अपेक्षा गर्ने ? कसरी ती शिक्षकहरू आदरणीय बनून् र शिक्षण पेसा मर्यादित बनोस्।

वर्षौंसम्म अस्थायी रहेका शिक्षक जो भरखरै उच्च शिक्षा प्राप्त गरेका, हासिल गरेका विद्यार्थीसँग प्रतिस्पर्धा गरेर स्थायी बनाउनु अन्यायपूर्ण हो भन्छन् र सम्मानजनक अवकाश लिन चाहन्छन्, उनीहरूलाई उचित सुविधा र सम्मान दिई सेवा निवृत्त गर्न सक्दैन सरकार र बुद्धिजीवीहरूको व्यापक विरोधको बेवास्ता गर्दै शिक्षण पेसामा नयाँ ऊर्जाशील जनशक्तिलाई रोक लगाउँछ । अनि उही सरकार काम गर्ने ऊर्जाशील उमेरका अनुभवी निजामती कर्मचारीहरूलाई उनीहरूको सेवा उमेर थप गर्नुपर्नेमा राज्यको खर्बौं रकम खर्चको बेवास्ता गर्दै स्वैच्छिक अवकाशको बाटो देखाउँदै घर पठाउन रोज्छ । कस्तो अनौठो !

निजामती सेवा र शिक्षण सेवाका बीचमा सरकारले दिने सुविधा तलब, ग्रेड, पेन्सन, उपदान, औषधि खर्च, बिदा र प्रमोसनमा समेत कुनै भदेभाव देखिँदैन । तर पनि पेसा छनौटका दृष्टिमा शिक्षण पेसा प्राथमिकतामा छैन । मनोहर ढकाल (नाम परिवर्तन) ले माध्यमिक तहको शिक्षण सेवा आयोग परीक्षा पास गरेका थिए र एकै समयमा निजामती सेवाको खरिदार पदको लोकसेवा आयोग परीक्षा पनि पास गरे। अब उनले कुनै एक सेवा छान्नुपर्ने भयो र उनले दुई तह माथिको माध्यमिक शिक्षक पद छोडेर दुई तहमुनिको निजामती सेवाको खरिदार पदको नियुक्ति लिए।

केही शिक्षकहरूसँग अनौपचारिक अन्तक्र्रियाको क्रममा शिक्षण पेसाप्रति आफू सन्तुष्ट भए पनि सामाजिक दृष्टिकोण मर्यादाजनक नभएका कारण दुःख लाग्ने कुरा व्यक्त गरिएको थियो । निजामती सेवाका समान स्तरका कर्मचारीलाई सिंहदरबार प्रवेश गर्दा गेटमा परिचयपत्र हेरेर सलाम ठोकेर स्वागत गर्ने द्वारपालेले समान स्तरकै शिक्षकलाई परिचयपत्र देखाउँदा पनि प्रवेश गराउन अनेक आनाकानी गर्ने गरेको गुनासो शिक्षकहरूले गर्ने गरेका छन्।

तर वास्तविकतामा शिक्षण पेसाबाट मिल्ने आत्मगौरव र सन्तुष्टि अरू कुनै पेसाबाट पनि मिल्न सक्दैन। शिक्षण सेवा र निजामती सेवामा उत्तिकै समय बिताएको मेरो अनुभवले के भन्छ भने समाज र सम्मान आर्जन गर्ने पेसा नै शिक्षण पेसा हो । एक पटक म एउटा साहित्य कार्यक्रममा बसिरहेकी थिएँ । कवि मौसमदास श्रेष्ठले मञ्चमा गएर कविता वाचन गर्ने क्रममा मेरो नाम लिँदै भनेँ– यो कविता मेरी गुरुआमालाई समर्पित गरिएको छ । मैले उनलाई सानै कक्षामा धेरै अगाडि पढाएकी थिएँ । मलाई उनको त्यो सम्मानले यति खुसी दिलायो कि म भावविह्वल भएकी थिएँ । यस्तो सम्मान निजामती सेवामा लामो अवधि काम गरे पनि कुनै पनि मेरो मातहतका कर्मचारीले मलाई दिएका छैनन्।

त्यसैले भन्न सकिन्छ, शिक्षण पेसा आफैँमा एक मर्यादित पेसा हो र यो पेसा पैसा होइन आत्मसम्मान कमाउने पेसा हो । व्यक्तिगत वा सामाजिक दृष्टिकोणका आधारमा यो पेसामै दाग लगाइनु हुँदैन । प्राचीन समयको जस्तो गुरु–शिष्य परम्पराको जस्तो शिक्षण पेसा अब छैन । यो आधुनिकीकरण सँगसँगै रूपान्तरण भएको छ । तर यसो भन्दैमा शिक्षण पेसाको मर्यादा घटेको अवश्य पनि होइन । शिक्षकहरूले बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउँदै जाँदा शिक्षण पेसाको मर्यादा स्थापित भई नै रहनेछ।

(शिक्षण र निजामती सेवामा बराबरजसो समय जागिर गरेर हालै उपसचिवबाट सेवा निवृत्त भएकी हमालको प्रकाशोन्मुख पुस्तक ‘स्कुलभित्र स्कुलबाहिर’बाट)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...