coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मृगौला प्रत्यारोपण मुद्दामा बस्नेत थुनामा

भक्तपुर - भक्तपुर जिल्ला अदालतले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई लोभलालचमा पारी उनको मृगौला आफूमा प्रत्यारोपण गराएको अभियोगमा मुद्दा चलाइएका थर्कबहादुर बस्नेतलाई अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो आदेश दिएको हो। प्रह्लाद गिरीको जाहेरीले नेपाल सरकार वादी भएको गैरकानुनी तबरले मानव अंग प्रत्यारोपण गरेको मुद्दामा यस्तो आदेश भएको हो  मृगौला दिएका कुमार गिरीलाई भने साधारण तारेखमा रिहा गर्न आदेश भएको छ।

मृगौला प्रत्यारोपण गराएका बस्नेतको स्वास्थ्य नियमित परीक्षण गराउनुपर्ने भएकाले उनलाई चिकित्सक वा अस्पतालको निगरानीमा राख्न पनि आदेश भएको छ। ‘संविधानप्रदत्त जीवन रक्षाको अधिकार प्रत्याभूति गर्ने दायित्व राज्यको भएकाले निज प्रतिवादीलाई पुर्पक्षका थुनामा छुट्टै बस्ने प्रबन्ध मिलाउनू’, अदालतको आदेशमा भनिएको छ, ‘थुनामा रहँदा नियमित स्वास्थ्य जाँच गराउने, अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भए मृगौला प्रत्यारोपण भएको अस्पताल वा अन्य कुनै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा भर्ना गरी निजको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाउनू।’ बस्नेतको आर्थिक अवस्थाले खर्च बेहोर्न सक्ने भए उनीबाटै र नसक्ने भए राज्यकै तर्फबाट उपचार व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत आदेश भएको छ।

अदालतको आदेशसँगै विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका १ डेरा गरी बस्ने बस्नेतलाई प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ। ५१ वर्षीय बस्नेतले काभ्रेपलान्चोक टुकुचाका कुमारलाई ललाइफकाई उनको मृगौला झिक्न लगाएर आफूमा प्रत्यारोपण गराएको आरोप छ। २९ वर्षीय कुमारलाई भने अदालतले सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो। ‘बाबुआमा नभएका अविवाहित यी प्रतिवादी (कुमार गिरी) स्वयं मृगौला झिकिएका पीडित भएको’ अदालतको आदेशमा भनिएको छ ‘मृगौला प्रत्यारोपणपछि अस्पतालको नियमित निगरानीमा रहनुपर्ने अवस्था देखिएकाले साधारण तारेखमा रिहा गर्नू।’

गत वैशाख १० मा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कुमारको देब्रे मृगौला निकाली बस्नेतमा प्रत्यारोपण गरिएको भन्दै मुद्दा परेको हो। कुमारका दाजु प्रल्हादले प्रहरीमा उजुरी दिएपछि जेठ १३ मा महानगरीय प्रहरी परिसर भक्तपुरले बस्नेतलाई पक्राउ गरेको थियो।

प्रकाशित: ११ असार २०७५ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App