७ वैशाख २०८१ शुक्रबार
अन्य

‘अवैध बालुवा तस्करी रोक्न लगाएको छु’

बलराम सिटौला
वडाध्यक्ष, तारकेश्वर नगरपालिका –९

जनप्रतिनिधि भएपछि जनताले अनूभूति गर्ने के–के काम गर्नुभयो ?
एक वर्षको अवधिमा खासै नयाँ काम गर्न सकिएन । स्थानीय तह सम्बन्धी पर्याप्त कानुन अभाव, प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनले पनि केही असर पार्याे।

यद्यपि नगरपरिषद्बाट पारित भएका वडाका योजनाहरूमध्ये ९० प्रतिशतको काम सकेका छौं । इन्द्रेणी पुलदेखि फुटुङसम्मको साङले खोलामा तीन सय मिटर किनारामा पर्खाल लगायौं । लोकतान्त्रिक चोकदेखि शुभकामना चोकको मुख्य सडकमा ८० मिटर सडक ढलान गयौं ।

शितलनगरमा एक सय मिटर, शान्तिनगर क्षेत्रमा एक सय १० मिटर सडक ढलान गरेका छौं । मनमैंजु पछाडि रहेको मिचिएको सार्वजनिक जग्गा छुट्टाएर किला गाढेका छौं । अबको केही समयभित्रै तारजारी लगाएर खेल मैदान बनाउने योजना छ । वडा कार्यालयले सहरी नगरस्तरीय सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । केन्द्रले अहिले स्वास्थ्य सेवाका साथै ल्याब टेस्ट सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रमा दैनिक तीन दर्जनभन्दा धेरै सेवाग्राही आउने गरेका छन् ।

तपाईँको वडामा सडक बेहाल छ, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
लोकतन्त्र चोकदेखि नेपालटारसम्मको सडक भत्किएर लथालिंग अवस्थामा छ । सडकमा जताततै खाल्डाखुल्डी छन् । जसको कारणले सर्वसाधारण आउजाउमा निकै समस्या भइराखेको छ ।

हिलाम्मे सडकले सवारी दुर्घटना बढेको बढ्यै छ । नगरस्तरीय योजनामार्फत् उक्त सडकको लागि दुई करोड रूपैयाँ विनियोजन भएको छ । पहिलो चरणमा सडकको किनारामा ढल निर्माणको काम गरिरहेका छौं । अर्काे वर्ष कालोपत्रे गर्ने योजना बनाएका छौं ।

साङ्ले खोलाबाट अवैध रूपमा बालुवाको चोरी निकासी हुदैं आइरहेको छ, निकासी कहिले रोक्नुहुन्छ ?
साङ्ले खोलाबाट राती केही तस्करले बालुवाको चोरी निकासी गरेका छन् ।

राती एक सय ५० भन्दा धेरै तस्करले अवैध रूपमा खोलाबाट बालुवा झिकेको स्थानीयको गुनासो सुनिन्छ । जनताबाट खबर पाउनेबित्तिकै बालुवा तस्करी नियन्त्रण गर्न नगरपालिकाका मेयरसा’पको ध्यानाकर्षण गराएको छु । त्यसको साथै वडामा रहेको प्रहरी चौकीको सहायतामा तस्करी नियन्त्रण अघि बढाइसकेको छु । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अवैध रूपमा बालुवा तस्करी नियन्त्रण गरिनेछ ।

तपाईँको वडामा खानेपानीको समस्या छ, कहिलेसम्म व्यवस्थापन गर्नुहुन्छ ?
पर्याप्त मात्रामा खानेपानीका स्रोत र मुहान नहुँदा वडामा खानेपानीको समस्या देखिएको छ । पुरानो बस्तीभन्दा नयाँमा खानेपानीको धेरै समस्या छ ।

खानेपानीको माग अनुसारको आपूर्ति गर्न नसक्दा खानेपानीको समस्या भएको हो । वडा कार्यालयले ड्रिप बोरिङबाट खानेपानीको व्यवस्था मिलाइरहेको छ । शिवपुरी डाँडाबाट खानेपानीको व्यवस्थापन गर्ने जमर्काे गरिराखेका छौं । वडा कार्यालयले तीन वर्षभित्र वडाका सबै स्थानमा पर्याप्त खानेपानी पुर्याउने लक्ष्यसाथ काम गरिरहेको छ । शान्तिनगरमा ढुंगेधाराको पानी खेर गइरहेको थियो । हामी आएसँगै ढुंग्रेधाराको पानी व्यवस्थित गरेर ५० घरधुरीलाई वितरण गरेका छौं ।

सामुदायिक विद्यालयको गुणस्तर खस्किदैं गइरहेको छ, कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?
वडामा एउटा मात्रै मनमैंजु मावि रहेको छ । विद्यालयमा वर्षेनी विद्यार्थी घट्ने समस्या देखिरहेको छ । त्यसैले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनतर्फ केन्द्रित छु ।

विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा १२ सम्म पठनपाठन गराउन लागिरहेका छौं । वडा कार्यालयले शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिमको व्यवस्था गर्न लागेको छ । त्यस्तै गरी विद्यालयको शैक्षिक वातावरण सुधार्न चार रोपनी पर्ती जग्गा उपलब्ध गराएका छौं ।

तपाईँको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा स्थानीय जनताले पर्ती तथा ऐलानी जग्गा उपयोग गर्दै आइराखेका छन् । वडामा रहेका अधिकांश पर्ती तथा ऐलानी जग्गा मिलेर सर्वसाधारणले घर तथा खेती गर्दै आएका छन् ।

सरकारले समयमा नै पहल नगर्दा वडा कार्यालयलाई सार्वजनिक जग्गा आफ्नो मातहत ल्याउन समस्या भइराखेको छ । वडाध्यक्षको नेतृत्वमा मालपोत र नापी कार्यालयको एक–एक जना अमिनको नेतृत्वमा समिति गठन गर्न लागेका छौं । अबको केही समयभित्रै समितिले धमाधम काम अघि बढाउनेछ ।

ज्येष्ठ नागरिक तथा महिलाको लागि कस्तो योजना अघि सार्नुभएको छ ?
वडा कार्यालयले ज्येष्ठ नागरिकको लागि सामाजिक सेवा सुरक्षा बैंकमार्फत भुक्तानी गर्दै आइरहेको थियो । बैंकबाट भुक्तानी गर्दा ज्येष्ठ नागरिकले समस्या भोगेको गुनासो आयो ।

त्यसैले बैंकका कर्मचारी वडा कार्यालयमा नै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छौं । जसबाट ज्येष्ठ नागरिक सहजै ढंगले भत्ता पाउन सफल भएका छन् । वडा कार्यालयले महिलाहरूको उद्घोषण तथा सीपमूलक कार्यक्रम सञ्चालन गरेर क्षमता अभिवृद्धिका काम गरिरहेको छ । वडा कार्यालयले महिलाहरूलाई व्यावसायिकतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषदबाट वडा कार्यालयका लागि एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । सडक, खानेपानी तथा भूकम्पपीडितका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । नगरपरिषद्बाट विनियोजित भएको मध्ये ९० प्रतिशत योजना निर्माण सम्पन्न भइसकेका छन् । अन्य क्रमागंत योजनामा काम भइराखेको छ ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?

तीन वर्षभित्रै वडा कार्यालयले सडक, ढल र खानेपानी लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजना बनाएको छु । त्यसको लागि आवश्यक पर्ने आवश्यक नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेको छु । पाँच वर्षभित्र वडामा रहेका विभिन्न खेलमैदानलाई नगरस्तरीय फुटबल तथा क्रिकेट मैदान बनाउने योजनासाथ काम गरिरहेको छु ।
प्रस्तुति :हिमाल लम्साल

 

प्रकाशित: ११ असार २०७५ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App