coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सत्ता पक्षका सांसदद्वारा बजेटको आलोचना

धनगढी- प्रदेश सरकारले आर्थिक वर्ष ०७६ का लागि प्रस्तुत गरेको बजेटको प्रदेश शभा बैठकमा सांसदहरुले आलोचना गरेका छन्।

बजेटको आलोचना गर्नेमा विपक्षी दलका सांसद मात्र नभई सत्तापक्षका समेत रहेका छन् । हचुवाको भरमा बजेट ल्याइएको, प्रदेश गौरवका आयोजना नआएको, क्षेत्रीय सन्तुलन नमिलाएको र झन्डै पाँच अर्ब बजेट किटान नगरी डल्लो रुपमा आएकाले दुरुपयोग हुने भन्दै सांसदले बजेट सच्याउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।‘प्रदेश सरकारले केही नयाँ गर्न खोजे पनि बजेट त्यस अनुरुप भएन,’ आइतबारको प्रदेश शभा बैठकमा बोल्दै सत्तापक्षका सांसद रतन थापाले भने, ‘डल्लो बजेट ल्याउनु उपयुक्त होइन्, ठोस रुपमा बजेट छुट्याउनु पर्छ।’

त्यस्तै बैठकमा बोल्दै सांसद महेश दत्त जोशीले केही योजना झ्यालबाट आएको बताए । ‘आउदाँ झ्यालवाट आएपनि जाँदा ढोकाबाटै जाओस’उनले भने । कृर्षी क्षेत्रमा सरकारले बढि लगानी गरेको भन्दै सांसद जोशीले बजेट कार्यान्वयन भए प्रदेश ७ का उच्च हिमाली क्षेत्रमा खाद्य संकट नहुने बताए ।

सत्ता पक्षका सांसदको समेत व्यापक असन्तुष्टीका कारण बजेट माथिको छलफल पनि लम्बिरहेको छ । प्रदेश सभाका ५३ सदस्यमध्ये अहिलेसम्म १० सांसदले मात्रै धारणा राखेका छन् । असार १ गते प्रस्तुत बजेटमा असार ३ गतेको सैद्धान्तिक छलफलमा दलका तर्फबाट एक–एक सदस्यले धारणा राखेका थिए । नेकपाका तारालामा तामाङ, कांग्रेसका रणबहादुर रावल र राष्ट्रिय जनता पार्टीका कृष्ण चौधरीले बाजेटबारे धारण राखेका थिए । रावल र चौधरीले बजेट उपलब्धिहीन भएको भन्दै आलोचना गरे।

गत बिहीबारको छलफलमा सत्तापक्षका सांसद उपस्थित भएर पनि बजेटप्रति असन्तुष्टी जनाउँदै छलफलमा सहभागी भएनन् । प्रदेश शभा बैठक बस्नुअघि सत्तापक्षका सांसदको अनौपचारिक भेलाले संसदमा बजेटमाथिको छलफलमा भाग नलिने सहमति गरेका थिए । बिहीबारको बैठकमा काग्रेसका डिल्लीराज पन्त, टेकबहादुर रैका र श्यामलाल रानाले धारणा राखेका थिए ।

उनीहरुले बजेट हचुवाका भरमा आएको र उपलब्धिहीन भन्दै आलोचना गरे । उनीहरुले प्रदेश ७ को विकास र समृद्धिका लागि बजेटमा कुनै योजना नभएको बताउँदै बजेटमा सुधार गर्न माग गरे । आवश्यक क्षेत्र र योजनाका लागि बजेट नराखिएको र केही अर्थहीन ठाउँमा बजेट राखिएको सांसदहरुले बताएका छन् । योजना छनौटका क्रममा सांसदले दिएको सुझाव पालना नगरेको उनीहरुको गुनासो छ ।

बजेटमा बिधि पुर्याएर योजना नबनेका, प्रदेश गौरवका योजना नराखिएको र मन्त्रीका क्षेत्रमा धेरै बजेट विनियोजन गरेको भन्दै सांसदले आलोचना गरेका छन् । करिब पाँच अर्ब बजेट डल्लोमा राखिएकाले दुरुपयोग हुने सांसदको चिन्ता छ । ‘किटान नगरी झन्डै पाँच अर्ब बजेट डल्लो राखिएको छ, यो बजेट दुरुपयोग हुने धेरै सम्भावना भएकाले बजेट सच्याउनु पर्छ भनेर हामी भनिरहेका छौं,’ एक सांसदले भने, ‘डल्लो बजेट किटान गरेर योजना र कार्यक्रममा छुट्याइनु पर्छ ।’ आवश्यकताभन्दा मन्त्री नजिकका केही व्यक्तिलाई फाइदा पुग्ने गरी केही योजना राखिएको उनको भनाइ छ।

कुनै निर्वाचन क्षेत्रमा धेरै योजना र बजेट तथा कुनैमा न्यून बजेट रहेको सांसदको आरोप छ । ‘हामी संसदमा पनि बोलिरहेका छौं । संसदभित्र मात्र होइन बाहिर पनि भन्नुपर्ने सबै ठाउँमा पुगेर बजेट सच्याउन दबाब दिइरहेका छौं,’ एक सांसदले भने, ‘ढोकाबाट नभई झ्यालबाट योजना र कार्यक्रम पारेर हचुवाको भरमा बजेट ल्याइएको छ ।’

आइतबार सभामुख अर्जुन थापाले आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई भेटघाटका क्रममा बजेटमा सांसदको असन्तुष्टीबारे जानकारी गराएका थिए ।युवाहरुका लागि स्वरोजगार कार्यक्रम भनेर ल्याइएको एक अर्ब बजेट पनि ठोस कार्यक्रम नभएकाले दुरुपयोग हुने उनले बताए । कतै बजेट दुरुपयोग गर्ने नियतले नै ठूलो हिस्सा ( झन्डै पाँच अर्ब) बजेट राखेको आशंका उब्जिएको सांसदहरुको भनाइ छ । समाजिक विकास मन्त्रालय, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बढी डल्लो बजेट रहेको छ ।

बजेटमाथिको छलफलका लागि अर्को बैठक सोमबार राखिएको छ । असार १ गते प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री बोहराले २५ अर्ब ६ करोड ५६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित: ११ असार २०७५ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App