coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हेटौंडाको बजेट एक अर्ब ६३ करोड प्रस्ताव

मकवानपुर - प्रदेश ३ को राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आव ०७५-७६ का लागि एक अर्ब ६३ करोड चार लाख ५७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ।

तेस्रो नगरसभा बैठकले आगामी आवको नीति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गर्दै उपमहानगरपालिकाले डेढ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको हो । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कूल बजेटको १०.१८ प्रतिशत अर्थात १६ करोड ५९ लाख ६४ हजार प्रस्ताव गरिएको छ ।

उपमहानगरपालिकाले पुँजीगततर्फ बजेट प्रस्ताव गर्दा गत नगर सभाबाट स्वीकृत गरेको रणनीतिक, नगरस्तरीय ठूला पूर्वाधार र नगरस्तरीय क्षेत्रगत आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ । नगरका सम्पूर्ण वडालाई भूगोल, जनसंख्या, गरिबीको अवस्था र पूर्वाधार संरचनाको वर्तमान अवस्था समेतको आधारमा क र ख वर्गमा विभाजन गरी वडास्तरीय आयोजना तथा कार्यक्रमका लागि मात्र २० करोड ५० लाख विनियोजन प्रस्ताव गरिएको छ।

आर्थिक विकासतर्फ दुई करोड ६४ लाख, सामाजिक विकासतर्फ ६९ करोड १७ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । त्यस्तै, पूर्वाधार विकासतर्फ ३७ करोड आठ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ सात करोड ३१ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ दुई करोड १६ लाख विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले प्रस्तुत गरेको बजेटमा विकास निर्माणलाई बढी प्राथमिकता दिइएको छ । सबै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने उद्देश्यका साथ हेटौंडामा १२ को भवन निर्माणको प्रक्रिया सुरु भइसकेकाले बाँकी वडाको भवन निर्माण तथा मर्मतका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ । भारी मेसिन र औजार, निर्माण सम्बन्धी मेसिन, ट्रिपर, ट्र्याक्टर, जिप, मोटरसाइकल, कार्यालय साधनतर्फ दुई करोड ७५ लाख बजेट अनुमान गरिएको छ।

आगामी दुई दुईभित्र दीर्घकालीन प्रभाव पार्ने खालका नगरस्तरीय गौरवका आयोजना सञ्चालन गर्न विनियोजन गरिने बताइएको छ । त्यस्ता आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना निर्माणका लागि एक करोड विनियोजन प्रस्ताव गरिएको छ ।

गत आर्थिक वर्षमा सञ्चालित क्रमागत आयोजना तथा कार्यक्रमको दायित्व भुक्तानीका लागि आठ करोड, नेपाल सरकारका अन्य निकायबाट कार्यान्वयनमा आउन सक्ने आयोजना तथा कार्यक्रमका लागि समपूरक कोषतर्फ एक करोड, सडक बोर्ड नेपालबाट सहरी सडक मर्मत शीर्षकमा प्राप्त हुने अनुदान तथा अन्य मर्मत सम्भार कार्यका लागि मर्मत सम्भार कोषतर्फ एक करोड ५० लाख, आकस्मिक तथा भैपरी आउने खर्चका लागि एक करोड, नगरस्तरीय बिपद् व्यवस्थापन कोषतर्फ एक करोड विनियोजन प्रस्ताव गरिएको उपमयेर लामाले बताइन् ।

सडक मानवरहित नगर निर्माण गर्न थप सहकार्य गर्ने
हेटौंडालाई मानवताको सहरको अवधारणाअनुसार सडक मानवरहित नगर निर्माण गर्न संस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने, स्वर्गीय नेता मदन भण्डारी, गणेशमान सिंह र बिपि कोइराला स्मृति पार्क निर्माण गर्ने, नगरभित्र पर्यटकीय कार्यक्रम प्रवद्र्धन गर्न केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि दक्षिण एसियाको पहिलो ऐतिहासिक चुरे सुरुङसहितको चुरिया क्षेत्रको डिपिआर तयार गरी पर्यटन मन्त्रालयसँग समन्वय गरी कार्यक्रम अघि बढाइने तथा एक वडा एक पर्यटक पार्कको अवधारणालाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै हेटौंडा अस्पतालबाट किड्नी डायलासिस सेवा उपलब्ध गराउन समन्वयात्मक प्रयास अघि बढाइ सेवा सुरु गर्न आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।

एक घर तीन बिरुवा र एक पानी संरक्षण पोखरी निर्माणसहितको हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत हरियाली नगर निर्माणका लागि नगरवासीहरूले आफ्नो घर निर्माण गर्दा कम्तिमा तीनवटा फलफूलका बिरूवा रोपी हुर्काउन लगाउने अभियानलाई निरन्तरता दिँदै घर निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्दा यसको अनुगमन गरिने उल्लेख छ । उपमहानगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्ने पनि जनाएको छ ।

प्रकाशित: ११ असार २०७५ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App