coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा–लेखनाथ महानगरपालिकामा पुरानै आयोजनालाई निरन्तरता

पोखरा लेखनाथ महानगरपालिकाको आइतबार नगरसभामा नीति तथा कार्यक्रम पेस गर्दै मेयर मानबहादुर जिसी ।तस्बिर :उमेश पुन-नागरिक

पोखरा - महत्वाकांक्षी र वर्षाैं पुराना आयोजनालाई निरन्तरता दिँदै पोखरा–लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रम आइतबार ल्याएको छ ।

फेवाताल ढल डाइभर्सन सहित फेवा–बेगनास मोनोरेल सम्भाव्यता अध्ययन गर्ने महत्वाकांक्षी योजना सहित महानगरले एक दर्जन योजनालाई गौरवका आयोजनामा समेटेको छ।

महानगरका मेयर मानबहादुर जिसीले आइतबार नगरसभामा नीति तथा कार्यक्रम पेस गरेका हुन् । महानगरले गौरवका योजनामा समेटेका कतिपय आयोजना वर्षाैंदेखि अलपत्र छन् । फेवाताल र बेगनास सहित कास्कीका सबै तालको संरक्षण गर्नेदेखि ढल निकास, फेवाताल ढल डाइभर्सन, फेवा–बेगनास मोनोरेल सम्भाव्यता अध्ययन गर्नेसम्मका योजना महानगरका छन् ।

फेवा–बेगनास–रुपाताल मोनोरेलको सम्भाव्यता अध्ययन गरी निजी क्षेत्र तथा दातृ निकायलाई लगानीका लागि प्रोत्साहन गर्ने योजना महानगरको रहेको मेयर जिसीले जानकारी दिए । पर्यटकीय बसपार्क निर्माण गर्ने योजना पनि महानगरको नीतिमा छ । व्यवस्थित पर्यटक बसपार्क नहुँदा अहिले राष्ट्र बैंक चोकस्थित नगर विकास समितिको चौरमा व्यावसायीले बस पार्किङ गर्छन् । व्यवसायीले वर्षौंदेखि पर्यटक बसपार्क निर्माण गर्न माग गर्दै आए पनि सुनुवाइ भएको छैन।

त्यस्तै, तालचोक–खुदीको मुहानसम्म चारलेन सडक, सातवटा आधुनिक कृषि पकेट क्षेत्र फिर्के करिडोर, चक्रपथको गुरुयोजना अघि बढाउने पनि महानगरको नीतिमा उल्लेख छ । पोखरा चक्रपथ झन्डै दशक अघिको योजना हो । महानगरले पेस गरेका यी योजनाबारे नेपाल उद्योग साणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सगोलमा सबै कार्यक्रम राखिदिएर नागरिकको ध्यान आकर्षण गर्ने मात्र खोजेको बताए ।

‘योजना मात्र अघि सार्ने गरिएको छ । कुन योजनाको कति काम गर्ने भन्ने निक्र्याेल भएको छैन,’ उनले भने, ‘अहिलेको समयमा योजना पेस गर्ने होइन, कति काम गर्ने भन्ने नै प्रस्तुत गर्नुपर्छ ।’ उनले फेवातालका लागि के गर्ने भन्ने उल्लेख गर्नुपर्ने बताए ।‘सबै कुरा एउटै बास्केटमा राखेर योजना अघि बढ्दैन । काम गर्ने समय नै निर्धारण गर्न सके राम्रो हुन्थ्यो,’ उनले भने, ‘मोनोरेल का लागि निर्धारित कामको तालिका आउँदा मान्छेको विश्वास जाग्थ्यो । तर, योजना मात्र अघि सारियो ।’

मुल्मीले विगतका योजनालाई नियमितता दिँदा विश्वसनीयता कायम गर्न नसक्ने बताए । ‘सबैको योजनामा चक्रपथ, पर्यटक बसपार्क, ताल संरक्षण परेको छ । यसबारे पनि समय र कामको अवधि किटान गर्न सक्नुपर्दथ्यो,’ मुल्मीले भने, ‘महानगर बनेपछिपनि साच्चै काम गरेको जस्तो देखिन सकेको छैन।’

मेयर जिसीले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको अनुमानित बजेट पनि पेस गरेका थिए । जिसीले पेस गरेको बजेटमा चार अर्ब ३३ करोड ७५ लाख अनुमानित बाह्य आय छ । संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६१ करोड ४४ लाख, ससर्त अनुदानतर्फ एक अर्ब २० करोड, समपूरक अनुदानतर्फ ६ करोड, विशेष अनुदानतर्फ १५ करोड र राजस्व बाँडफाँड बापत ३४ करोड ६५ लाख रुपैयाँ छ ।

त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ दुई करोड ७४ लाख र राजस्व बाँडफाँडतर्फको आय तीन करोड २९ लाख रुपैयाँ रहेको पनि बजेटमा उल्लेख छ । महानगरको आन्तरिक आयतर्फ एक अर्ब ६९ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको छ भने नगद मौज्दात ५० करोड समेत जम्मा ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ अनुमान गरिएको मेयरले जिसीले जानकारी दिए।

त्यसैगरी, व्ययतर्फ विभिन्न कोषका लागि जम्मा २१ करोड, पूर्वाधार विकासतर्फ दुई अर्ब २३ करोड ७९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ करोड ५१ लाख, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पुँजी निर्माणतर्फ पाँच करोड १० लाख, सामाजिक सुरक्षा भत्तामा ५३ करोड ८० लाख, प्रशासनिक खर्चतर्फ एक अर्ब ३२ करोड विनियोजन गरिएको छ । राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
 

प्रकाशित: ११ असार २०७५ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App