coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सट्टेबाजको रकम दाउदको खल्तीमा

काठमाडौं - नेपाल र बेलायतबाट सट्टेबाजको धन्दा चलाउने गिरोहका प्रमुख अमृत भनिने नथमल अग्रवाल (नागराज) अन्तर्राष्ट्रिय अन्डरवल्र्ड डन दाउद इब्राइमको नेपाल प्रतिनिधि भएको खुलेको छ। नागराजलाई गैरकानुनी बाजी सट्टेबाजको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार राति पक्राउ गरेपछि उनी दाउदका प्रतिनिधि भएको स्पष्ट भएको दाबी प्रहरी अधिकारीहरूको छ। अग्रवाल दाउदले सञ्चालन गर्ने अवैध धन्दा सट्टेबाजको नेपाल प्रतिनिधि भएको प्रहरीले जानकारी दियो।

विश्वकप फुटबल चलिरहेका बेला नागराजका नाममा दुई करोड ४० लाख रुपैयाँ सट्टेबाजमा ठगी गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनी काठमाडौं पानीपोखरीबाट पक्राउ परेका हुन्। ‘उनको कनेक्सन भारतीय अन्डरवल्र्डसम्म देखिएको छ। उनी नेपालमा सट्टेबाजको संस्थापक हुन् भने भारतमा उनको लालचन्दलगायका सट्टेबाजसँगको सहकार्य भएको बुझिन्छ’, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले भने। एसएसपी सिंहका अनुसार नेपाली नागरिक अग्रवाल धेरैजसो भारतमा बस्दै आएका छन्। महाशाखाका डिएसपी रुगम कुँवर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको सिंहले बताए।

महाशाखाको अनुसन्धानअनुसार नेपालबाट अन्तर्राष्ट्रिय फुटबल तथा क्रिकेटमा हुने सट्टेबाजमा अग्रवालको कनेक्सन भारतीय सट्टेबाजका नाइके लालचन्दसँग देखिएको छ। खेल सट्टेबाजमा गुन्डादेखि पूर्वफुटबल खेलाडीहरुको समेत संलग्नता हुने गरेको छ। प्रहरीका अनुसार गोवामा बस्दै आएका नागराज विश्वकप सुरु भएपछि नेपाल आएका हुन्। गोवाका क्यासिनोमा उनले ‘बेलिज’ भन्ने टेबुल नै सञ्चालन गरेका छन्। उनले त्यहाँबाट श्रीलंका, नेपाल र भारतमा सट्टेबाजको धन्दा चलाउँदै आएका छन्। गोवामा नागराज र लालचन्दको एउटै क्यासिनोमा टेबुल सञ्चालन गर्दै आएको प्रहरीले दाबी गरेको छ।

एसएसपी सिंहले घरजग्गा कसम्बन्धी एउटा कम्पनीबाहेक अग्रवालको नाममा कुनै व्यवसाय नदेखिएको बताए । ‘पछिल्लो समय हुन्डी कारोबारमा पनि उनको संलग्नता देखिन्छ। हाम्रो अनुसन्धान त्यतातिर पनि मोडिँदैछ’, एसएसपी सिंहले भने। महाशाखाका अनुसार उनले गत महिना सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा सट्टेबाजका लागि भन्दै दुई करोड ४० लाख रुपैयाँ लिएर भारत पुगेका थिए। अग्रवालले आइपिएलमा तीन महिनामा तेब्बर फाइदा हुने र हारे पनि पैसा फिर्ता हुने भन्दै पैसा संकलन गरेको प्रहरी दाबी छ।

केही वर्षअघिदेखि उनी गौरव तिवारीको समूहसँग मिलेर सट्टेबाजमा संलग्न रहँदै आएका थिए। तिवारीको समूहलाई प्रहरीले गत महिना पक्राउ गरेको थियो । तर, उनीहरू एक सातामै छुटेका थिए। उनीहरुले अहिले विश्वकप फुटबलमा पनि सट्टेबाज चलाइरहेको स्रोत बताउँछ। अन्डरवल्र्ड डन दाउद इब्राहिमले सञ्चालन गरेको बुकी (सट्टेबाज) विश्वभर फस्टाउँदो छ। केही वर्षयता भारतीय माफिया लालचन्दले नेपालमा बुकी खेलाउँदै आएका थिए। लालचन्द दाउदकै भारतीय प्रमुख हुन्। स्रोतका अनुसार नेपालमा एक दर्जन बुकीका नाइके छन् भने सयौंको सख्यामा बुकीको पैसा जिम्मा लिने दलाल पनि छन्। पछिल्लो समय क्यासिनोमा जुवा खेल्ने र खेलाउने व्यक्ति नै बुकीमा सक्रिय रहेको प्रहरीको दाबी छ। नागराज जुवा खेलाउने समूहका नेपाल प्रमुख हुन् भने सेन्ठी भनिने राकेश अग्रवाल र रमेश अयोग्य बुकीका प्रमुख एजेन्ट हुन्। एक महिनाअघि भागेर भारतको गोवा पुगेका नागराज विश्वकप फुटबल सुरु हुनसाथ काठमाडौं छिरेका थिए। क्रिकेटका साना तथा ठूला प्रतियोगितामा हारजितको पूर्वानुमान गरेर जुवा खेलाउने मुख्य नाइके नागराजले बाँसबारीस्थित आफ्नै घरबाट सट्टाबाजी अर्थात् बुकीका खेलाउने गरेको प्रहरीले जनाएको छ।

यस्तो खेल खेलाउने र बाजी राख्ने दर रेट भने इन्टरनेटबाटै सार्वजनिक गरिन्छ । भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले लालचन्दलाई मोस्ट वान्टेड सूचीमा राखेर खोजी सुरु गरेपछि नागराज काठमाडौंमा बसेर धन्दा चलाइरहेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई आश्रयस्थलका रूपमा प्रयोग गर्दै भारत, दुबई र पाकिस्तानका सट्टेबाजले धन्दा चलाउने गरेको प्रहरीले जनाएको छ। नेपालमा बुकी जुवाका लागि कमलेश अग्रवाल, चुन्नु राठी, लोकमान लोहिया, अनिल बाहेती, अशोक दाँते र मुन्ना नाम गरेका व्यक्तिले नागराजको इसारामा काम गर्दै आएको प्रहरी स्रोतले दाबी गरेको छ।

लालचन्दको नेपाल कनेक्सन
गत महिना महानगरीय प्रहरी परिसर काठमाडौंले गौरव तिवारी, पूर्वफुटबलर अञ्जन केसीसहित ६ जनालाई सट्टेबाज धन्दा चलाएको आरोपमा पक्राउ गरेको थियो। त्यसपछि लालचन्दको नेपाल कनेक्सन खुलेको थियो । तिवारी नेपालमा लामो समयदेखि सट्टेबाजी गर्दै आएका अमित अग्रवाल समूहका नाइके हुन्। अग्रवालचाहिँ दिल्लीस्थित लालचन्दका नेपाल कमान्डर हुन्। लालचन्दले दुबईमा बसेर डब्लुडब्लुडब्लु डट लालचन्द डट कममार्फत सट्टेबाजको धन्दा गरिहेका छन्। नेपाल प्रहरीले उनकै कनेक्सनमा रहेका तिवारीलाई पक्राउ गरे पनि अग्रवाल फरार थिए। थ्री स्टार क्लबका पूर्वखेलाडी केसीले २०७२ सालदेखि नै अनलाइन जुवाको कारोबार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। केसी २०७२ साल कात्तिकमा उनी म्याच फिक्सिङ आरोपमा पक्राउ परेका थिए। उनीहरू मुक्त भइसकेका छन्। उनीहरूले क्रमशः तीन करोड २२ लाख ९७ हजार, दुई करोड ७७ लाख पाँच हजार, एक करोड ७० लाख र ७७ लाख कारोबार गरेको प्रहरीको दाबी थियो। यही गिरोहसँग सट्टेबाजी लगाउने कार्यमा संलग्न गुन्डा नाइके दावा लामा भने फरार छन्। दुई वर्षअघि काठमाडौं गौरीघाटनमा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका लामाको समूहले पनि आइपिएल र युरोपियन क्लब फुटबलमा धेरै बाजी लगाएर करोडौ रुपैयाँ संकलन गरेको प्रहरी दाबी छ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय गिरोहले ६५ लाख रुपैयाँ भारु डिपोजिट गरेर मास्टर एकाउन्ट बनाएको छ। सो एकाउन्ट २५ जनाले चलाउन मिल्छ। यसरी एकाउन्ट बनाउँदा पाकिस्तान र दुबईमा रहेका लालचन्दका सहयोगीबाट अनुमति लिनुपर्ने हुन्छ। काठमाडौंमा उनका प्रमुख एजेन्ट भूपेन्द्रशमशेर कुँवर हुन्। आइपिएलको फाइनलअगाडि नै प्रहरीले उनलाई पक्राउ गरी सबै प्रमाण संकलन गरेको थियो। श्रीकान्त अग्रवाल (अमृत अग्रवाल र नागराजका भाइ), तिवारी र कुँवरले एसएमए डट एक्रेस डटकम नामक वेबसाइटमार्फत यस्तो धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ।

‘नेपालमा व्यवस्थित तरिकाले यस्तो धन्दा चलाउने मानिस निकै कम छन्’, महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने। प्रहरीका अनुसार सो समूहले एक दशकदेखि यस्तो धन्दा चलाउँदै आएको थियो। सो समूहका दीपकरत्न शाक्य र सागर खड्गीलाई २०७३ जेठ ३० गते न्युरोडस्थित आरबी कम्प्लेक्सबाट महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरेको थियो । तर उनीहरू साधारण तारेखमा मुक्त भए। प्रहरीका अनुसार तिवारीले श्रीकान्त अग्रवालस“ग मिलेर सट्टेबाजको धन्दा चलाए थिए। तिवारीको २४ वटा एकाउन्टबाट अहिलेसम्म सात करोड १४ लाख ७२ हजार रुपैयाँ कारोबार भएको पाइएको दाबी प्रहरीको छ।

दुइ महिनाअघि क्रिकेटलगायतका खेलमा बाजी लगाउने गिरोह सक्रिय रहेको सुराकीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले अनुसन्धान गर्दा राजधानीको खिचापोखरीबाट खेलमा बाजी लगाउने गिरोह पक्राउ परेका थिए। पक्राउ पर्नेमा भारतीय नागरिक मुकेश जैसवाल र सञ्जीवकुमार जैसवाल थिए। उनीहरूको साथबाट एक लाख ४० हजार नगद, बाजी लगाउनेको हिसाब राख्ने डायरी र चार थान मोबाइल बरामद गरेपछि अमित अग्रवालसँग उनीहरूको कनेक्सन रहेको खुलेको थियो।

प्रकाशित: ११ असार २०७५ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App