८ वैशाख २०८१ शनिबार
अर्थ

सुनको भाउ घट्यो

काठमाडौं– अघिल्लो हप्ता उच्च बिन्दुमा पुगेको सुनको भाउ केही दिनयता घट्न थालेको छ । एक हप्ताको बीचमा १३ सय रुपैयाँले घटेर आइतबार छापावाल सुन प्रतितोला ५७ हजार सात सयमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अभिलेख अनुसार असारको पहिलो दिन प्रतितोला सुनको मूल्य ५९ हजार पुगेको थियो । त्यसपछि लगातार घट्दै आइतबार ५७ हजार सात सयमा झरेको हो ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि स्थानीय बजारमा पनि घटेको हो । महासंघले अमेरिका, उत्तर कोरिया र चीनको सम्बन्धमा आएको सुधारलाई सुन सस्तिनुको कारक मानेको छ।

‘अन्तर्राष्ट्रिय बजारमा सेलिङ प्रेसर बढ्नु नै यसको कारण हो,’ महासंघले साप्ताहिक समीक्षामा भनेको छ, ‘अमेरिकाको कोरिया र चीनसँगको सम्बन्धका कारण पनि सुनमा लगानी घट्दै गएकाले भाउमा कमी आएको छ ।’
गत हप्ता आइतबार बजार खुल्दा प्रतितोला सुनको मूल्य प्रतितोला ५८ हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

गत हप्ता आइतबार प्रतितोला सात सय ८० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार सात सय ६५ मा झरेको थियो । आइतबार भने पाँच रुपैयाँले बढेर ७ सय ७० रुपैयाँ पुगेको छ ।महासंघका अनुसार अघिल्लो हप्ता सुन र चाँदी दुवैको मूल्य बढेको थियो । डलरको तुलनामा युरो र भारतीय मुद्रा कमजोर भएकाले सुनको भाउ बढेको थियो ।   

 

प्रकाशित: ११ असार २०७५ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App