coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विवादास्पद अवालेलाई उडान भर्न दिन माग

काठमाडौं - विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब १ करोड रुपैयाँ जरिवाना ठहर गरिएका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई पुनः जहाज उडाउन दिन नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा राजस्व अनुसन्धान विभागमा धरौटी बुझाएर तारेखमा छुटेका वायुसेवा निगमका उनै क्याप्टेन अवालेलाई अनिश्चितकालका लागि उडान गर्न दिन नमिल्ने निर्णय २०७४ फागुन २७ गते गरेको थियो।

अवाले २०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित जहाज कमान्ड गरेर दुबई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। ‘प्रतिवादी सुवर्ण अवालेलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७(१) बमोजिम बरामद भएको डलरको नेपाली बिगो ९६ लाख ९० हजार ४ सय ८ रुपैयाँबराबरको रकम जरिवाना हुने ठहर गरिएको छ’, अवालेविरुद्ध एक वर्षभन्दा बढी चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ चैत २२ गते गरेको फैसलामा उल्लेख छ, ‘अवालेले उक्त रकम राजस्व अनुसन्धान विभागमा धरौटी राखेको देखिँदा त्यही रकम यस अदालतमा झिकाई जरिवानाबापत सदरस्याहा गर्नू।’

त्यसपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापनले क्याप्टेन अवालेलाई पुनः जहाज उडाउन दिन आग्रह गर्दै उड्डयन प्राधिकरणलाई पत्राचार गरेको हो। ‘विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार अवालेले जरिवाना बुझाइसकेको र उक्त फैसलालाई अन्तिम मानी उडान इजाजत अद्यावधिक गरी उडानमा संलग्न गराउन स्वीकृतिका निम्ति अनुरोध गरिन्छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

‘फौजदारी अभियोग लागेका अवालेलाई पुनः उडानमा संलग्न गराउन निगमबाट पत्र आएको छ,’ प्राधिकरण उच्च स्रोतले आइतबार नागरिकसँग भन्यो, ‘अब यस्तो गम्भीर विषयमा के निर्णय गर्ने भन्ने हामीसँग कानुन नै छैन । व्यावहारिक हिसाबमा अवालेलाई जहाज उडाउन दिनै हुँदैन तर कानुन मौन छ, अब यसको अन्तिम निर्णय निगम आफैंले गर्नु बेस हुन्छ। आफ्ना जहाज र यात्रुको सुरक्षाको जिम्मा निगमकै हो, हाम्रो होइन।’

अदालतमा अवालेले दिएको बयानमा ‘काठमाडौंबाट दुबई उडान गर्न जानेक्रममा मेरो झोलामा ९३ हजार ६ सय अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो। जहाज उडान, तालिम, भत्तालगायत आम्दानीबाट यो परिमाणबराबरको डलर घरमा सञ्चय गरेको थिएँ र त्यही रकम अमेरिकामा रहेकी जेठी छोरीलाई दिन लिएर जाँदा विमानस्थलमा पक्राउ परेको हुँ।’ फैसलामा ‘अवालेबाट अवैध विदेशी मुद्रा बरामद भएको देखिन आयो र अनुमति नलिई उक्त रकम छोरीलाई पठाउने उद्देश्यले लगेको हो भनी कानुनको अज्ञानताशस उक्त कार्य भएको भनी बयान गरेको देखिए पनि कानुनको अज्ञानता क्षम्य नहुने हुँदा अभियोग दाबीबमोजिमको सजाय निर्धारण हुनसक्ने देखियो’ उल्लेख छ।

‘पाइलट अभाव भयो भन्दैमा फौजदारी अभियोग लागेकालाई जहाज कमान्ड गरेर उडाउन दिनु भनेको जहाज र यात्रुको सुरक्षामा खेलाँची गर्नु हो,’ नाम उल्लेख नगर्ने सर्तमा निगमकै एक वरिष्ठ क्याप्टेनले भने, ‘भोलि अवालेलाई जहाज उडाउन दिइयो भने उनीसँगै बस्ने कोपाइलट, अन्य चालकदल र यात्रुले उनीमाथि कसरी भरोसा गर्न सक्छन्? त्यसमाथि नियामक निकायले पनि उनलाई अनिश्चितकालका लागि उडान गर्न नदिने निर्णय गरेको छ।’ फौजदारी अभियोगपछि अवालेको स्वास्थ्य अवस्था जाँच गरी सिफारिससहित प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको एक समितिको प्रतिवेदनपछि प्राधिकरणले उनलाई जहाज उडाउन दिन नमिल्ने निर्णय गरेको थियो। प्राधिकरणका स्वास्थ्य सुपरीवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन भएको थियो। प्राधिकरणले तोकेका चिकित्सकले स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षण गरेपछि उनलाई उडान गर्न दिन नमिल्ने निष्कर्ष समितिले निकालेको हो ।‘फौजदारी अभियोग लागेपछि अहिलेको अवस्थामा क्याप्टेन सुवर्ण अवालेमाथि मानसिक तनाव र दबाब हुन सक्ने भएका हुँदा यात्रु र जहाजको सुरक्षा दृष्टिले उडानजस्तो संवेदनशील कार्यमा उनलाई संलग्न गर्न नमिल्ने र उडान गर्न दिन नसकिने’ प्रतिवेदनको ठहर छ।

नियमित ड्युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेलाई त्रिभुवन विमानस्थलबाट २०७३ चैत २८ गते राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले पक्राउ गरेका थिए। शंका लागेर उनको ब्याग खानतलासी गर्दा अवैध डलर बरामद भएको थियो। कानुनअनुसार एक व्यक्तिले २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ। उड्डयन नियमअनुसार जहाजका चालकदलले आफूले पाउने भत्ताबाहेक एक पैसा पनि साथमा लिएर जहाज उडाउन पाइँदैन।

अवालेलाई निगमका महाप्रबन्धक कंसाकारको जोडबलमा सरकार आफैंले उडान लाइसेन्स अद्यावधिक गर्न तालिममा पठाउने अनुमति दिएपछि उनी २०७४ पुस ७ गते निगमकै जहाजबाट मलेसिया हुँदै सिंगापुर गएका थिए। उनले त्यहाँ करिब दुई साता बिताएका थिए। त्यसअघि भदौ ८ मा पनि अवालेलाई सिंगापुर पठाउने कंसाकारको निर्णयबारे नागरिकले समाचार प्रकाशित गरेपछि सरकारले रोकेको थियो। तर पछि राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, निगम सञ्चालक समिति रप्राधिकरणले फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई उनको उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर तालिममा पठाउने अनुमति दिएका थिए।

अमेरिकी डलर तस्करी अभियोगमा राजस्व अनुसन्धान विभागको हिरासतमा एक महिना बसेर धरौटीमा छुटेका अवालेले त्यही विभागबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ ल्याएपछि निगमले उनलाई उडान लाइसेन्स अद्यावधिक तालिम (सिमुलेटर) मा पठाउन पर्यटन मन्त्रालयसँग अनुमति मागेको थियो । राजस्वले अवालेलाई दिएको प्रमाणपत्रमा ‘क्याप्टेन अवालेलाई तारेखमा राखिएको र उनलाई तालिममा विदेश पठाउन आपत्ति छैन’ भन्ने उल्लेख छ। राजस्वको पत्रसहित निगमले पर्यटन मन्त्रालयसँग थप अनुमति मागेको थियो। त्यसपछि मन्त्रालयले ‘कडा सर्त’ राखेर तालिममा पठाउन सकिने र थप प्रक्रियाका लागि उड्डयन प्राधिकरण पठाएको थियो। प्राधिकरणले करिब तीन सातापछि ‘ग्रिन सिग्नल’ दिएको थियो ।
पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अवालेलाई तालिममा पठाउनुअघि केही कडा सर्त बनाइएका थिए। अवालेमाथिको अनुसन्धान प्रभावित हुन नहुने, तालिममा जाँदा लाग्ने खर्च धरौटीबापत अवालेसँग लिनुपर्ने, निगम सञ्चालक समितिबाट पनि अनुमति लिनुपर्ने, सिंगापुरबाट फर्किएनन् वा भविष्यमा मुद्दा हारे भने त्यसबापतको सबै खर्चको निगमका महाप्रबन्धक कंसाकारले लिनुपर्नेलगायत सर्त थिए। सर्तनामामा कंसाकारले हस्ताक्षर गरेका थिए। धरौटीमा छुटेका अवालेले जहाज उडाउन नपाए पनि निगममा जागिर खाएर नियमित करिब ३ देखि ४ लाख रुपैयाँ तलब बुझिरहेका छन्। उनलाई निगमले हालसम्म निलम्बन गरेको छैन।

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हवाई सुरक्षा नियमावलीमा विमानस्थलभित्र फौजदारी अभियोगजस्ता गतिविधिमा संलग्न हुनेलाई काम गर्न रोक लगाउने उल्लेख भएका कारण क्याप्टेन अवालेलाई जहाज उडाउन रोक लगाइएको हो। उक्त नियमावलीले त्यस्ता अभियोग लागेका व्यक्तिलाई विमानस्थलभित्र प्रवेश गर्न निषेध पनि गरेको छ। करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागिर सुरु गरेका अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए। पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०’ जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए।

प्रकाशित: ११ असार २०७५ ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App