८ वैशाख २०८१ शनिबार
खेल

श्रेष्ठताको भिडन्तमा रूस र उरुग्वे

मस्को – विश्वकपअघि रूसले समूहचरण पार गर्ने थोरैले मात्र अनुमान गरेका थिए । तर सुरुआती दुई खेलमा उत्कृष्ट नतिजा ल्याउँदै अन्तिम १६ मा स्थान पक्का गरिसकेको रूस सोमबार समूहको अन्तिम खेलमा दुई पटकको विश्वविजेता उरुग्वेविरुद्ध पनि सोही विजययात्रालाई निरन्तरता दिँदै समर्थकको खुसीमा थप रौनकता ल्याउन चाहन्छ।

समूह ‘ए’ मा समान ६ अंक जोडेका रूस र उरुग्वे यसअघि नै अघिल्लो चरण प्रवेश गरिसकेका छन् । अंकविहीन बन्दै तेस्रो र चौथो स्थानमा बसेका इजिप्ट र साउदी अरेबिया यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । रूस र उरुग्वेबीचको खेलले समूह ‘ए’ को विजेताको टुङ्गो लगाउनेछ । पहिलो दुई खेलमा ८ गोल गरिसकेको रूस उक्त खेल बराबरीमा रोकिए पनि समूह विजेता बन्नेछ।

अन्तिम १६ मा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता तथा समूह ‘ए’ को उपविजेताले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा समान ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा बसेका स्पेन र पोर्चुगल अघिल्लो, चरण प्रवेश गर्ने सम्भावना प्रबल छ । यद्यपि ३ अंक जोडेको इरानको सम्भावना पनि जीवितै छ।

तर बलियो अग्रपंक्ति रहेको उरुग्वेको चुनौती रोक्न रूसलाई कठिन बन्न सक्छ । पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को नतिजा निकालेको रूसले दोस्रो खेलमा इजिप्टको चुनौती ३–१ ले समाप्त पारेको थियो।

‘हामीले यस प्रतियोगिताका लागि धेरै गृहकार्य गर्यन्र,’ रूसका प्रशिक्षक स्टानिसलाभ चेर्चेसोभले भने, ‘हामीले विगतमा भएका गल्तीबाट पाठ सिक्दै मिहिनेत गरिरह्याैं । पहिलो दुई खेलमा हात पारेको सहज नतिजाले त्यो प्रमाणित गरिसकेको छ।’

यता समूहकै बलियो प्रतिद्वन्द्वीका रूपमा हेरिए पनि उरुग्वेले दुवै खेलमा सोचेअनुरूप नतिजा ल्याउन सकेको छैन । उरुग्वेले इजिप्ट र साउदी अरेबियामाथि समान १–० को कठिन जित हात पारेको थियो।

उरुग्वेका प्रशिक्षक ओस्कार टार्भेजले रूसविरुद्धको खेल अन्तिम १६ को खेलका लागि राम्रो अभ्यास हुने बताए । ‘हामी रूसविरुद्ध खेल्दै छाैं,’ टार्भेजले भने, ‘घरेलु टोली भएकाले उनीहरूलाई समर्थकको गतिलो साथ हुनेछ।

त्यसैले खेलको वातावरण हेर्न लायक हुनेछ । टोलीमा अझै केही पक्षमा सुधार आवश्यक छ । त्यसैले हामीले यस खेललाई अन्तिम १६ अघिको अभ्यास खेलमा रूपमा लिएका छौं।’

प्रकाशित: ११ असार २०७५ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App