८ वैशाख २०८१ शनिबार
खेल

पानामाको पोस्टमा इङ्ल्याण्डको आधा दर्जन गोल, केनले गरे ह्याट्रिक

रूस – स्ट्राइकर ह्यारी केनको ह्याट्रिक प्रेरित खेलमा पानामालाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै इङ्ल्याण्ड रसिया विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

निज्नी नोभगोरोड रंगशालामा आइतबार सम्पन्न समूह जी को खेलमा इङल्याण्डका लागि बाँकी ३ गोल जोन स्टोनीस र जेसी लिङगाडको नाममा रह्यो। पानामाका लागि फिलिप बलोएले एक सान्तवना गोल फर्काए।  इङ्ल्याण्डका लागि खेलको ८ औं मिनेटमा जोन स्टोनीसले कर्नर बलमा हेड गोल गर्दै टोलीलाई अग्रता दिलाए।

इङ्ल्याण्डका लागि दोस्रो गोल खेलको २२ औं मिनेटमा ह्यारी केनले गरे। पानामाका  फिडेल इस्कोबारले इङल्याण्का जेसी लिङगाडलाई डि बक्समा लडाएपछि पाएको पेनाल्टीमा केनले गोल गरेका हुन्। ३६ औं मिनेटमा जेसी लिङगाडले अर्को गोल थप्दा इङल्याण्डले अग्रता तेब्बर बनायो। लिङगाडले डिबक्स बाहिरबाट प्रहार गरेको बल सुन्दर गोलमा परिणत भएको थियो।

४० औं मिनेटमा पुन जोन स्टोनीसले हेडमार्फत गोल गर्दै अग्रता अझ फराकिलो बनाए। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा मिचेल मुरिलोले इङल्याण्डका जोन स्टोनीसलाई डि बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा पुन केनले गोल गर्दै अग्रता ५–० मा पुर्याए। पहिलो हाफमा ५ गोल गरेको इङ्ल्याण्डले दोस्रो हाफमा १ गोल गर्दा १ गोल खायो। दोस्रो हाफको १७ औं मिनेटमा पुन केनले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे।

पानामाका लागि ७८ औं मिनेटमा रिकार्डो एभिलाको पासमा फिलिप बलोएले गोल गर्दै एक सान्तवना गोल फर्काए। त्यसपछि दुवै टोलीबाट कुनै गोल नभएपछि इङ्ल्याण्ड फराकिलो जित निकाल्न सफल भयो। इङ्ल्याण्डसँगै समूह जी बाट बेल्जियम पनि नकआउट चरणमा प्रवेश गरेको छ। खेलअवधिभर इङ्ल्याण्डले दबाबमा राखेपछि पानामाले गोल गर्ने राम्रो अवसर बनाउन सकेन। तर केहि पाएका अवसरलाई भने सदुपयोग गर्न भने सकेन। 

जारी विश्वकपमा कुनैपनि टोलीले पहिलो हाफमा ५–० को अग्रता बनाएको यो पहिलो खेल हो। २०१८ को रसिया विश्वकपको एकै खेलमा ६–० को फराकिलो गोल भएको यो पहिलो खेल हो। यसअघि पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र रूसले साउदी अरबविरुद्ध ५–० र शनिबार बेल्जियमले ट्युनिसियाविरुद्ध ५–२ को जित निकालेका थिए।

आजको खेलमा ह्याट्रिक गरेसँगै ह्यारी केन यो विश्वपकको सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा शीर्ष स्थानमा पुगेका छन्। केनले ट्युनिसियासँगको पहिलो खेलमा २ गोल गरेका थिए। ५ गोल गरेका केनले गोल्डेन बुटको दाबेदारी प्रस्तुत गरेका छन्। यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुले ४–४ गोल गरेका थिए। 

 

प्रकाशित: १० असार २०७५ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App