७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘ओली भ्रमण सकारात्मक, नाका खोल्ने र पूर्वाधार विकास महेन्द्रकै पालामा भएका थिए’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन्। 

आइतबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौतालाई आफूहरुले सकारात्मक लिएको तर बाहिर प्रचार गरिएकोजस्तो कुनै उलटपुलट नभएको बताए। उनले भने, ‘चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा हो, भ्रमणले धेरै राम्रो संकेत गरेको छ।’ प्रधानमन्त्रीमा वहाली भएपछि चीन वा भारत भ्रमणमा जाने कुरा त परम्परा नै भएको उनको भनाई थियो। 

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताको संयुक्त विज्ञप्ती हेर्दा धेरै विषयहरु समेटिएको जनाए। उनले भने, ‘नाकाहरु खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा होइनन्, यी कुरा त राजा महेन्द्रको पालामा र हाम्रो पालामा पनि भएका थिए, कोदारी र रसुवागढी नाका त हाम्रै पालामा खुलेको हो।’

चीनको ओविआर अवधारणमामा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने, ‘ओविआरमात्रै होइन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा यी लगायतका विषयमा गरेको सम्झौताले थप आयाम थप्ने उनको विश्वास छ। । 
सीमामा मितेरी पुल निर्माण गर्ने, नुवाकोटको सात तले दरबार र काठमाडौंको हनुमानढोकाको ९ तले दरबारको पूर्ननिर्माण गर्ने लगायतका केही सम्झौताहरु यसअघि नै भैसकेको महतको जिकिर छ। 

महतले प्रधानमन्त्री ओलीको भ्रमणसँगै अहिले रेलको पनि चर्चा व्यापक भैरहेको बताउँदै रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरुको भनाई नै विरोधाषापूर्ण रहेको तर्क गरे। ‘वर्तमानका सरकारका मन्त्रीले कहिले २ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले ५ वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ’, उनले भने। रेल ल्याउने कुरामा आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

‘लगानी कसको हुने हो ? कति लगानी लाग्छ? कोदारी राजमार्गजस्तै चीनले बनाईदियो भने त राम्रो हुन्छ, हामीले आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्छ’, उनले भने। चिनियाँ रेल काठमाडौंसम्म ल्याउनको लागि कम्तिमा पनि ५ देखि ६ अर्ब अमेरिकी डलरको लागत पर्न आउने पनि उनले जनाए। उनले भने, ‘यो रकम त अहिले हामीले लिएको कुल ऋणको पनि दोब्बर हुन आउँछ।’

नेपालले अहिले ऋणको रुपमा ठूला परियोजनाहरु लिन नसक्नेपनि महतको भनाई छ। ‘मुलुक नै धान्न नसक्नेगरी हामीले ऋण लिनु हुँदैन्, परियोजनाबाट आउने प्रतिफल हेरेरमात्रै ऋण लिनुपर्छ, प्रतिफल नै नहेरी हतारिए ऋण लिनुहुँदैन, यसको लागि पर्याप्त छलफल गर्नुपर्छ।’ उनले चिनियाँ रेल अनुदानमा आउँदा स्वागतयोग्य हुने स्पष्ट पारे। 

समग्रमा प्रधानमन्त्री ओलीको भ्रमणले चीनसँगको आर्थिक सम्बन्ध थप सुमधुर बनाएको उनको विश्वास छ।

प्रकाशित: १० असार २०७५ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App