८ वैशाख २०८१ शनिबार
समाज

झमकलाई मानार्थ विद्यावारिधि

काठमाडौं- विद्यावारिधि डिग्री सुरु नै नगरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ। विश्वविद्यालयले सोमबार राष्ट्रिय सभागृहमा झमकलाई सम्मान गरिरहँदा कार्यक्रममा उपस्थित अधिकांश प्राध्यापक मुखामुख गरिरहेका थिए। विद्यावारिधि डिग्री नै सञ्चालन नगरेको विश्वविद्यालयले मानार्थ डिग्री दिएको विषयले उनीहरूलाई अन्योलमा पारेको थियो।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति इश्वरीप्रसाद ढकालले सम्मानले मदन पुरस्कार विजेता झमकको जीवनमै असर पर्नसक्ने चिन्ता व्यक्त गरे। 'कार्यक्रममा उपस्थित सबैजसो प्राज्ञ अप्ठ्यारो महसुस गरिरहेका थिए, मध्यपश्चिाञ्चल विश्वविद्यालयसँग पिएचडीको डिग्री नै छैन, उसले मदन पुरस्कार विजेता साहित्यकारलाई मानार्थ विद्यावारिधि दिनु कत्तिको औचित्य राख्छ?' उनले भने, 'मलाई यो मानार्थ विद्याथवारिधिले आगामी दिन झमकको जीवनमै नकारात्मक असर त पर्ने होइन भन्ने चिन्ता लागेको छ।'

राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत उच्च ओहदाका व्यक्ति उपस्थित कार्यक्रममा आफूलाई बोलाइएकाले सहभागी भएको उनले बताए। विदेशमा समेत आफ्नो डिग्री भएको विश्वविद्यालयले मात्रै मानार्थ उपाधि दिने चलन रहेको उनले सुनाए। रिसर्च बेस र कोर्ष बेस गरी दुई प्रकारले विद्यावारिधि कोर्ष गर्ने चलन छ। तर, २०६७ सालमा विश्वविद्यालय ऐनबाट स्थापित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यावारिधि कार्यक्रम सञ्चालन नै गरेको छैन।

नयाँ विश्वविद्यालयले आफैंले सञ्चाल नगरेको विषयमा विद्यावारिधि दिँदा गरिमामै आँच पुग्ने शिक्षाविद् विष्णु कार्की बताउँछन्। उनलाई पनि विश्वविद्यालयले आमन्त्रित गरेको थियो तर बिसन्चो भएका कारण जान नपाएको उनले बताए। 'कुनै पनि विश्वविद्यालयले सामाजिक प्रतिष्ठा हासिल गरेको व्यक्तिलाई आफूले सञ्चालन गरिरहेको उपाधि दिन सक्छ, त्यसमा मानार्थ पाउने व्यक्तिको गरिमा कायम हुन्छ,' उनले नागरिकसँग भने, 'तर आफूले सञ्चालन नै नगरेको विषय र तहको मानार्थ डिग्री दिँदा शंका उब्जाएको छ।'

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा  जेठ २६ गते बसेको सभाबाट साहित्यकार झमकलाई मानार्थ विद्यावारिधि उपाधि दिने निर्णय गरेको सुदूरपश्चिमाञ्चल विश्वविद्यायकी उपकुलपति भूषण श्रेष्ठले जनाइन्। उनी पनि दीक्षान्त समारोहमा उपस्थित थिइन्। श्रेष्ठ मध्यपश्चिमाञ्चल विश्वविद्यालय सभाकी सदस्यसमेत हुन्। विश्वविद्यालय विश्वव्यापी हुने भएकाले कुनै पनि प्राज्ञिक कार्य गर्न सक्ने दाबी गरे पनि उनले उपाधि दिन सक्ने/नसक्नेबारे प्रष्ट पार्न चाहिनन्।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले झमकलाई उपाधि प्रदान गरेका थिए। राष्ट्रपति भण्डारीले झमकको सम्मानले सबै नारीलाई प्रेरणा दिएको बताइन्। उनले झमकका कृतिले नेपाली समाज उत्थानमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विश्वविद्यालयलाई अनुसन्धानमुखी हुन आग्रह गरिन्। कुलपति दाहालले झमक राष्ट्रको धरोहर भएकाले यस्ता प्रेरणदायी प्रतिभालाई  विद्यावारिधि उपाधि दिन पाउँदा गौरव अनुभूति भएको बताएका थिए।

कार्यक्रममा सहभागी शिक्षामन्त्री धनिराम पौडेलले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘निम्तो दिन आउँदा मैले सोधेको थिएँ, विभागीय पढाइ नभए पनि अन्य क्षेत्रका व्यक्तिलाई विद्यावारिधि दिने प्रचलन छ भन्नुभयो,' मन्त्री पौडेलले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री सबैजना कार्यक्रममा जानुभएको रहेछ, त्यसैले म पनि गएँ।'

शिक्षाविद् एवं विश्वविद्यालय अनुदान आयोगका पूर्व सदस्य महेन्द्र सिंहले मध्यपश्चिम विश्वविद्यालय नेपाल सरकारको कानुनअनुसार विधिवत स्थापित भएकाले मानार्थ विद्यावारिधि दिनसक्ने प्रतिक्रिया दिए।

प्रकाशित: २१ भाद्र २०७३ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App