coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

काठमाडौं - पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ। राजधानीमा शनिवार आयोजित प्रतिष्ठानको ६१औं वार्षिकोत्सव तथा कविता महोेत्सवमा बलको कविता उत्कृष्ट भएको हो।

फूलमानको कवितामा नेपाली समाजमा भइरहेको जातीय तथा वर्गीय विभेदको विरोध गरिएको छ। उच्च वर्गीय र जातीय समुदायले कसरी तल्लो भनिएका वर्गका मानिससँगै उसको संस्कार, संस्कृतिमाथि थिचोमिचो गरेको छ भन्ने कवितामा प्रस्तुत गरिएको छ।

महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्यामस्वेत फोटो’ कविता दोस्रो हुँदा एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’, जीवन खत्रीको ‘एउटा अर्को प्यास’ र मेनुका चापागाइँको ‘बिराएछु बाटो’ संयुक्त रुपमा तेस्रो भए। पुरस्कृतमध्ये पहिलोले ३० हजार रुपैंयाँ र स्वर्ण पदक, दोस्रोले २५ हजार रुपैंयाँ र रजत पदक तथा तेस्रोले जनही २० हजार रुपैंयाँ र कास्यपदक पदक पाउनेछन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नेछिन्।

महोत्सवको शुभारम्भ गर्दै पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्राज्ञिक चुनौति र यसले अन्तर्राष्ट्रियस्तरमा पारेका असरको अध्ययन गर्न आग्रह गरे। ‘कविता महोत्सव नेपाली कविताको बाटो कता जाँदैछ भनेर थाहा पाउने एउटा मानक हो। नेपालको हरेक परिवर्तनमा कला साहित्यको प्रभाव परेको छ,’ उनले भने, ‘कविताले पनि देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा डोहो-याउनुपर्छ।’

मन्त्री अधिकारीले कला साहित्यलाई अगाडि बढाउन गठन भएको प्रतिष्ठानलाई अब केन्द्रसँगै प्रदेश र स्थानीयस्तरमा कसरी स्थापित गर्ने भनेर बहस गर्न जरुरी रहेको औल्याए। ‘त्यसैका लागि सरकारले बजेट भाषणमा प्रज्ञा प्रतिष्ठानलाई एउटा बनाउँदा के हुन्छ भनेर बहसको स्थान दिएको हो। अहिलेसम्म फरक तरिकाले स्थापित भएका त्यस्ता प्रतिष्ठानको प्रभावकारिता जसरी झल्किन्छ त्यसै अनुसार सरकार अघि बढ्न तयार छ ।’ अधिकारीले भने।

कविता महोत्सवको उद्घाटन पूर्व कुलपति तथा कवि बैरागी काँइलाले कविता वाचनबाट गरेका थिए। महोत्सवका संयोजक तथा प्रतिष्ठानका काव्य विभाग प्रमुख अमर गिरीले महोत्सवका कारण काव्यिक प्रतिभासँगै कविताको उन्नयन गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार २ सय २९ वटा कवितामध्ये पाँचवटा उत्कृष्ट कविता छनौट गरिएको हो । प्रतिष्ठानले वि सं २०२२ सालदेखि कविता महोत्सव आयोजना गर्दै आएको छ।

महोत्सवको निर्णाइकमा हेमनाथ पौडेल, जगत उपाध्याय, मन्जु काँचुली, कृष्ण प्रधान, गोपिन्द्र पौडेल थिए। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नवोदित कविलाई प्रोत्साहन गर्नका लागि कविता महोत्सवको आयोजना गरिएको दाबी गरे । जनसिर्जनाको पक्षमा कविका कविता अबको लक्ष्य रहेको उनले सुनाए।

कार्यक्रममा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली वृहत शब्दकोशको लोकार्पण गरिएको थियो। नवौं प्रकाशनमा भाषागत वर्णविन्यासको विषयमा तिब्र विवाद भएपछि त्यसको सम्बोधन गर्नेगरि दशौं शब्दकोश प्रकाशित गरेको उप्रेतीले बताए। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति विष्णु विभु घिमिरे,सदस्य सचिव जीवेन्द्रदेव गिरी लगायतले महोत्सवको चर्चा गरेका थिए। कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो।

प्रकाशित: १० असार २०७५ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App