८ वैशाख २०८१ शनिबार
कला

रंग उत्सवमा नेपाल-भारत नाटक

काठमाडौं – नेपाल र भारतका ६ नाटकको मञ्चन शुक्रबारबाट राजधानीमा शुरु भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भइरहेको ‘ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५’ यी नाटक मञ्चन भइरहेका हुन्।

उत्सवको शुभारम्भ गर्दै संस्कृति मन्त्री रविन्द्र अधिकारीले तीनवटा प्रज्ञा प्रतिष्ठानलाई एउटै बनाउने योजना तत्काल नरहेको बताए । ‘तीनवटा प्रतिष्ठानलाई गाभेर एउटै बनाउनु पर्ने पक्षमा म छैन। म नाटक प्रेमी हुँ र नेपालमा नाटक सम्बन्धी कामहरु अझै निकै कम भइरहेको छ,’ उनले भने, ‘नेपाल र भारत दुई देश सहभागी यो नाटक उत्सवले युवापुस्तामा नाटकप्रति आकर्षण बढाउनेमा म विश्वस्त छु।’

प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ ‘सरुभक्त’ले नाटकमार्फत नेपाल र भारतको अन्तर सीमा संस्कृति विस्तारका लागि नाटक उत्सव आयोजना गरिएको बताए। तीन दिनसम्म चल्ने नाटक उत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको नाटक ‘भृ’ र ‘धुर्तसमागम’ मञ्चन गरिए। पहिलो नाटकमा नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजासँग विवाह गरेपछि उनी नेपाल नफर्किएको र हराएको भन्ने कथा देखाइएको थियो । नाटकको निर्देशन वीरेन्द्र हमालले गरेका हुन्।

नाटकमा गोरन चौधरी, आकाश त्रुकछाकी, सुशिला थापा, माया थापा, गीता राई, लोकेन्द्र लेखक, लक्ष्मी तामाङ, मदन थापा, मिलन नेपाली, गीता थापा, संगीत लिम्बु र तिलक सुनुवारको अभिनय थियो।

सात सय वर्ष पुरानो नाटक ‘धूर्तसमागम’ लाई मैथिली भाषामा मेरोरंग रेपर्टरी (मैथिली लोकरंग) दिल्लीले मञ्चन गरेको थियो। डा. प्रकाश झाले निर्देशन गरेको नाटकमा पूजा प्रियादर्शनी, रमन कुमार, मनिषा झा, सोनिया झा, मुकेश झा, बंगट लाल, जितेन्द्र कुमार, संजिव कुमार लगायतको अभिनय थियो।

उत्सवमा शनिबार राम केएसी निर्देशित ‘अश्वेत’ मञ्चन गरियो। सद्भाव थिएटरद्वारा मञ्चित नाटकमा नारी र पुरुषको समस्या र यसले निम्त्याउने समस्या देखाइएको छ। नाटकमा शिवप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बास्तोला, शिक्षा केसी, एलिजा अधिकारी, दीलिप खड्का, विज्ञान गजुरेल, किरण चापागाईं, तिर्सना राईको अभिनय थियो। शनिवार नै श्यामकुमार सहनी निर्देशित भारतीय नाटक ‘संवदिया’ पनि मञ्चन गरिएको थियो। आइतबार पत्रकार फूलमान बलको नाटक ‘सोनाम ग्याल्मो’ र जैनेन्द्र दोस्त निर्देशित भारतीय नाटक ‘भिखारीनामा’ मञ्चन हुँदैछ।

प्रकाशित: १० असार २०७५ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App