८ वैशाख २०८१ शनिबार
विचार

टिपर चालकको दादागिरी

एक महिनाको अन्तरालमा काठमाडाैं सहरमा टिपरको ठक्करले ६ जनाको ज्यान गएको घटनाले दुर्घटनाको भयावह अवस्थालाई देखाउँछ। काठमाडाैं त्यसमा पनि विशेष गरी कोटेश्वरदेखि साँगा खण्डको सडकमा धेरैजसो दुर्घटना हुने गरेको देखिन्छ। जेठ ३० मा स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटीचोकमा बा ४ ख ३५५० नम्बरको टिपरले किचेर मारेको घट्ना सेलाउन नपाउँदै असार ८ मा भक्तपुरकै सानो ठिमीमा टिपरको ठक्करबाट चेतबहादुर थापाको ज्यान गएको घटनाले त्यो सडकखण्डमा टिपरको आतंक कतिसम्म छ भन्ने देखाउँछ । त्यति मात्र होइन, त्यसअघि जेठ ९ मा भक्तपुर साँगामा टिपरकै कारण हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो। सडकमा टिपरचालकको दादागिरी र लापरबाही जुन किसिमको देखिन्छ, त्यसका कारण अन्य सवारीचालक आतंकित बनेका छन्। जति पनि टिपरसँग जोडिएका सडक दुर्घटना छन्, तिनको अध्ययन गर्दा ८० प्रतिशत दुर्घटना टिपरचालकको लापरबाहीले भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको विश्लेषणले पनि लापरबाहीको हद देखिन्छ।

लापरबाही हिसाबले सडक दुर्घटना गराउने चालकलाई कडाभन्दा कडा कारबाही हुने हो भने पनि टिपर चालकहरु सचेत हुने थिए जसले गर्दा दुर्घटनामा पनि कमी आउने थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो एक महिना अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १०  पुगेको छ। महाशाखाको तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन्। यीसमेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएका छन् । यी दुर्घटनामध्ये अधिकांशमा चालकको लापरबाही नै मुख्य कारण देखिएको छ। सडक लेन अनुशासन उल्लंघन गर्ने, तीव्र गतिमा गाडी कुदाउने, जथाभाबी ओभरटेक गर्ने, गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने, गीत सुन्ने जस्ता कारणले पनि दुर्घटना बढिरहेका छन् । धेरै ट्रिप गरेर बढी कमाउन तीव्र गतिमा चलाउने मनोवृत्तिले पनि दुर्घटना बढाएको छ। त्यसमाथि टिपर अन्य गाडीको तुलनामा बलियो हुने भएकाले चालकले सामान्य ठोक्किँदा आफूलाई असर पर्दैन भन्ने मनोविज्ञानले पनि उनीहरुले लापरबाही हिसाबले कुदाउने गरेको देखिन्छ। जे भए पनि टिपर चालकले सडक अनुशासन पालनामा ध्यान नदिएकै कारण सडक दुर्घटना हुने गरेको पाइन्छ। त्यतिमात्र होइन, दुर्घटना भइहाले पनि उनीहरूमाथि ठूलो कारबाही  नहुने गरेका कारण पनि दुर्घटनाको प्रवृत्तिमा कमी नआएको हो। यसरी लापरबाही तरिकाले सडक दुर्घटना गराउने चालकहरुलाई कडाभन्दा कडा कारबाही हुने हो भने पनि टिपर चालक सचेत हुने थिए जसले गर्दा दुर्घटनामा पनि कमी आउने थियो।

सवारी दुर्घटना भई कसैको ज्यान गएमा चालकलाई नेपाल प्रहरीले २५ दिन अनुसन्धानमा राख्न पाउने र त्यसपछि भने अदालतमा मुद्दा चलाउनुपर्ने कानुनी व्यवस्था छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ मा कसैको ज्यान जानसक्ने गरी चालकले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना भएको रहेछ र यसबाट मृत्यु भएको रहेछ भने चालकलाई दुईदेखि १० वर्षसम्म कैद हुने उल्लेख छ। तर दुर्घटनामा गाडीभित्र वा बाहिर बस्नेको मृत्यु भएको रहेछ भने बढीमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। नेपालको सन्दर्भमा एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँ वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधानको अभ्यास बढीभन्दा बढी भएको देखिन्छ। यही कानुनी प्रावधानलाई आधार बनाउँदै अधिकांश टिपर चालकहरु छुट्ने गरेका छन्। अझ कतिपय टिपर चालकहरु त दुई हजार जरीबाना मात्रै बुझाएर पनि उम्किने गरेका छन्। त्यसमाथि यातयात समितिले दुर्घटना गराउने चालकलाई कानुनी कारबाहीबाट जोगाउन सक्दो कसरत गर्छन्। मृतकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्ति बिमा कम्पनी वा यातायात समितिले दिन्छन्। यसरी सजायसम्बन्धी कडा कानुनको व्यवस्था नहुँदा चालक सजिलै उम्किन पाउँछन्। यसले पनि सवारीचाक अनुशासनहीन बन्दै जाँदा दुर्घटना बढेको प्रस्टै देखिन्छ। त्यसैले पनि सडक दुर्घटना कम गर्न कडाभन्दा कडा किसिमको सजायको व्यवस्था गर्नुपर्छ । अहिलेको कानुन चालकलाई सचेत र जिम्मेवार बनाउन पर्याप्त नभएका कारण पनि यससम्बन्धी कानुनलाई संशोधन गरेर होस् वा नयाँ कानुन नै बनाएर नै किन नहोस् दुर्घटना गराउनेको हकमा कठोर किसिमको सजायको व्यवस्था गर्न आवश्यक छ।

प्रकाशित: १० असार २०७५ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App